हराए पिङ , खाली भए पिपलका हाँगाहरु

नन्दा शाही
जाजरकोट –  गाउँभरी यूवा ,यूवती जम्मा भएर बाबियाको खरबाट निर्माण गरिएका डोरीबाट पिङ निर्माण गर्ने चलन जाजरकोटमा बिस्तारै हराउदै गएको छ ।

बढ्दो आधुनिकता र सहरीकरणका कारण अधिकांश चलनहरु लोप हुँदै गएको जानकारहरु बताएका छन् । रुकुम पश्चिम , जाजरकोट र तल्लो डोल्पामा पिङ निर्माण गर्ने चलन हराउदै गएको हो । पिपल , बर , भिमल र चिउरीको रुखको हाँगामा बाँबियाको डोरी बाधेर दशै , तिहारको समयमा रमाइलो गर्ने चलन हराएको हो । केही यूवाहरु देश छोडेको , कोही पढ्न गएको र घरमा सिमित जनशक्ति भएकाले यस्ता खालका क्रियाकलाप लोप हुँदै गएको हुन् ।

धान , मकै लगाएका अन्नहरु भित्र्याउदै गर्दा थकान हुँदा पिङमा गएर रमाइलो गदा थकान कम गर्ने चलन हराएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । सहर बजारमा बास र काठमा डोरी बाधेर पिङ निर्माण गरेपनि गाउँमा भने रुख विरुवाको अग्लो रुखको हाँगामा बाबियोको डोरी निर्माण गरी पिङ निर्माण गर्ने चलन रहदै आएको थियो ।
‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् ।

गाउँघरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चारवटा लिङ्गा गाडेर अथवा पीपल आदि ठूलो रुखको हागाँमा पिङ बनाउने गरिन्थ्यो । दसैँको सुरुआतदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो तर गाउँ घरका युवा रोजगारीका लागि विदेशिन थालेपछि दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको स्थानीयवासीको भनाइ छ ।

आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । दक्ष जनशक्तिको अभावका कारण पनि पिङ संस्कृति हराउँदै गएको बताइएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको गाउँमा पनि पिङको कुनै रौनक छैन । उनीहरु भेला भएर भलिबल, व्याडमिन्टन, फुटबल र मोबाइलमा नानाथरिका खेल खेलिरहेका हुन्छन् ।

साथीभाइ भेला हुने, पार्टी खाने र रमाइलो गर्ने नाममा बजार र गाउँमा होटेल तथा रेष्टुरेन्टमा युवाको जमात देखिन्छ । तर पिङ हालेर खेल्ने र परम्परागत प्रविधि तथा चलनहरुको संरक्षण गर्ने कार्यमा भने उनीहरु लाग्न नरुचाउने गरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका रबी केसीले बताए ।

गाउँमा युवापुस्ताको उदासिनता र आधुनिकताको नाममा आयातित विभिन्न प्रविधिको बढ्दो मोहका कारण महान चाड दसैँ र तिहारमा निर्माण गरेर खेल्ने लिङ्गे पिङको प्रचलन बिस्तारै हराउँदै गएको जानकारहरु बताउँछन् ।
जिल्लाका सबै ठाउँमा पिङ मात्र होइन , मादल पनि हराएका छन् । डेग, मोवाइल र रेडियोले त्यो स्थान लिएको छ ।





error: Content is protected !!