देउवाले चढ्ने गाडी संसद्‍बाट ‘गायब’

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन् । एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ ।

२०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसद्बाट बा २ झ ४४८ नम्बरको गाडी लिएका थिए । २ हजार ५ सय सीसीको यो गाडी खासमा निर्वाचन आयोगको नाममा दर्ता छ । २०७० माघ ९ मा यातायात कार्यालयमा दर्ता गाडी आयोगसँग मागेर संसद् सचिवालयले देउवालाई दिएको थियो । तर, देउवाले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई २०७४ फागुन ३ मा निजी नम्बर प्लेटमा बदलेर बा १९ च ५५५ को रूपमा चढ्दै आएका थिए । मर्मत खर्च संसद्ले व्यहोर्दै आएको थियो ।

प्रधानमन्त्री भएपछि देउवाले प्रतिपक्ष नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्नुपर्थ्यो, दुई महिनापछि भदौ २५ मा गाडी फिर्ता पनि गरे । तर, आश्चर्य संसद्बाट लगेको गाडीको सट्टा उनले प्रधानमन्त्री कार्यालयमा रहेको १४ वर्ष पुरानो गाडी पठाए । देउवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टोयोटाको नयाँ गाडी दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न नयाँ गाडी मात्र होइन, प्रधानमन्त्री कार्यालयका विभिन्न गाडी देउवाका लागि तैनाथ छन् ।

तर उनले संसद् सचिवालयबाट लिएको नयाँ गाडी राखेर पुरानो गाडी किन पठाए रु ‘उहाँ प्रधानमन्त्री भएपछि संसद्ले उपलब्ध गराएको गाडी फिर्ता गर्नुपर्ने थियो, तर संसद्बाट लिएको गाडी सहज लागेकाले प्रधानमन्त्रीले राख्नुभएको हो । त्यसको सट्टामा अर्को गाडी संसद् पठाएका हौं,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । उनले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको र पहिला प्रतिपक्षी नेताका रूपमा प्रयोग गर्दै आएको गाडी देउवाका लागि राखिएको र अहिले मर्मत भइरहेको बताए ।

फिर्ता गरेको १४ वर्ष पुरानो बा २ झ ४२३६ नम्बरको टोयोटा प्राडो जिप संसद् सचिवालयमा पनि छैन, कहिले र कसले लग्यो भन्ने अधिकारीहरूलाई थाहा छैन, कतै अभिलेख पनि छैन । खासमा प्रधानमन्त्री कार्यालयले पठाएर फिर्ता गरेको भने पनि अभिलेखमा त्यस्तो देखिँदैन । ‘हामीले उहाँलाई गाडी उपलब्ध गराएको रेकर्डमा देखिन्छ । संसद्बाट लगेको गाडीको सट्टामा अर्को गाडी फिर्ता गरेको भनिएको छ । तर, सवारी शाखाको रेकर्डमा देखिँदैन । फिर्ता भएको हो भने त्यो गाडी कहाँ कसले लग्यो भन्ने खुल्न सकेन,’ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

प्रधानमन्त्री कार्यालयले भने सचिवालयमा गाडी बुझाएको भर्पाइसमेत राखेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त सादा कागजमा भनिएको छ, ‘बा २ झ ४२३६ नम्बरको प्राडो जिप थान एक बुझिलियौं ।’ भदौ २५ गते २ बजेर ४५ मिनेटमा गाडी बुझिलिएको भनेर कागजमा संघीय संसद्को छाप लगाइएको छ । प्रवक्ता पाण्डे भन्छन्, ‘तर, त्यसको विवरण संसद्को सवारी शाखामा छैन । गाडी आएको र गएको कुनै विवरण छैन, यो छानबिनको विषय हो ।’





error: Content is protected !!