प्रधानमन्त्री देउवाले गरे ६ सहसचिवको सरुवा, फेरिए दुई विभागका महानिर्देशक


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक पठाउने तयारी गरिएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने स्वास्थ्य सेवाका ११ औँ तहका सहसचिव बद्रीबहादुर खड्का बागमती प्रदेशको नवगठित स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काजमा रहेका पदमराज मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।
राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक शिवलाल तिवारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूर पश्चिमबाट केहि दिन अघि मात्रै संघमा सरुवा भएर आएका डा किसनलाल भट्टको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको हो ।










