राष्ट्रिय जनगणना सुरू, सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलोमा

जाजरकोट ः राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा सुरु भएको छ । घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर जाजरकोटमा सुपरिवेक्षक खटाइएका छन् ।

उनीहरूले घरपरिवारका मुलीलाई भेटेर यी प्रश्न सोध्ने छन् । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ ।

गणकले सोध्ने पहिलो प्रश्न, ‘तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ?’ भन्ने रहेको छ । यसरी सोधिएको अन्य लिङ्गीअन्तर्गत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय भनेर उल्लेख गर्नुपर्ने छ । त्यसनिम्ति निलहिरा समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति देशभरि जनगणना अभियान संचालन गरेको जनाएको छ ।

‘अझै पनि हाम्रो समुदायलाई राज्यबाट पाउनु पर्ने आरक्षण कोटा, नीति, बजेट, कानुन तथा कार्यक्रमहरूको व्यवस्था नहुँदा धेरै समस्या भोग्नु परेको छ,’ समाजले जिल्ला जनगणना कार्यालयहरूमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘किनभने नेपालको सर्न्दभमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सही तथ्यांक नभएको हुँदा हामीले पाउने अधिकारबाट बञ्चित छौं । अब हुन गइरहेको २०७८ को जनगणनामा घर मुलीको सूचीमा महिला, पुरुष र अन्य लिङ्गी भनेर समावेश गरिएको हुँदो यो समुदायको सही तथ्याङ्क हासिल गर्न ध्यानाकर्षण गराउन चाहन्छौं ।’

यसैगरी ‘घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ?’ दोस्रो प्रश्न रहेको छ । यसअन्तर्गत व्यक्तिको घर, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या र प्रयोजन खुलाइने छ ।

यस्तै उपभोग गर्दै गरेको कृषियोग्य जग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या खुलाइने छ । सम्बन्धित परिवारले सरकारी अनुदानअन्तर्गत आवासीय घर निर्माण गरेको छरछैन भन्ने उल्लेख गरिने छ । घरका सदस्यमध्ये कति जनाको नाममा बैंक वा वित्तीय संस्थामा खाता रहेको भए ,नभएको सोधिने छ ।

परिवारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्तिको संख्यासमेत उल्लेख गरिने छ । यसका साथै बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएरनलिएको समेत खुलाइने छ । आगामी असोज १८ गतेभित्र घर तथा घरपरिवार सूचिकरण सम्पन्न हुनेछ ।

‘विधिवत रूपमा पहिलो चरणको जनगणना कार्यअन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य सुरु भएको छ,’ पहिलो चरणको स्थलगत जनगणनाबारे जनगणना कार्यालयका जाजरकोटका प्रमुख बोहराले भने, ‘जहाँ पनि फोन नलाग्ने भएकोले दैनिक अवडेट गर्न मुस्किल परेको छ । के कति काम प्रगति भयो भन्ने मूल्यांकन भएको छैन ।’

कार्यालयले सुपरिवेक्षकलाई घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी तोकेको छ ।

दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति गणक थपिने छन् भने सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता जनाउन विभागले विज्ञप्तिमा जनाएको छ ।





error: Content is protected !!