दलितलाइ चुलो खरिदमा अनियमितता !

जाजरकोट ः पुर्ण जातिय छुवाछुत मुक्त अभियान अन्र्तगत भेरी नगरपालिका– ११ कटि गाँउ स्थित दलित बस्तीमा वितरण गरिएका धुवाँ रहित चुलोमा अनियमितता भएको पाइएको छ । कमसल खालका चुलो वितरण गरेर बढी विल पेश गरी अनियमितता गरेको स्थानियको गुनासो छ ।
धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिएपनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानिय दलबहादुर कामीले बताउनुभयो । उहाँले आफूले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको बताउनुभयो । टिनको चुलो भएकोले बाल्ने वित्तिकै निकै तातिने र वल्डिङ्ग गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताउनुभयो । उहाँले चौरजहारीमा १७ सय पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश गरेर आफूहरुलाई ठगि गरेको गुनासो गनुभयो ।
नगरपालिकाले चुलो खरीद र वितरणका लागि कटिगाँउ कृषक समुह सँग सम्झौता गरी जिम्मा दिएको थियो । समुहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरीद गरियो भन्ने कुरा समितिका पदाधिकारी समेत अनभिज्ञ छन् ।
समितिका अध्यक्ष नरबहादुर आफूलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । मेरो पनि चित्त बुझेको छैन उहाँले भन्नुभयो । उहाँका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै एक सय ३८ चुलो खरीद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् ।
अध्यक्ष नरबहादुरले नगरबाट १३ लाख ५६ हजार रुपैया निकासा भएकोमा सम्झौता अनुसार अनुगमण र केही चुलो खरीदका लागि दुई लाख ५० हजार रुपैया नगरपालिकालाई दिएको बताउनुभयो । त्यस रकमबाट २० ओटा चुलो किनेर उपलब्ध गराएको बताउनुभयो । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरीद गरेका चुलो निकै कमसल भएको उनले बताए । नगरले दिएका चुलो राम्रो भएको र अमृतले खरीद गरि ल्याएका चुलो कमसल भएपछि गाउँमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गनुभयो । नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए एक स्थानीयले भन्नुभयो ।

तर कोषाध्यक्षका श्रीमान अमृतले विपन्न गाउँमा चुलो कार्यक्रमका लागि आफूले पहल गरेको तर खरीदमा आफ्नो संलग्नता नभएको दावी गनुभयो । चुलो खरीद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन उहाँले भन्नुभयो । भेरी नगरपालिका –११ नम्बरका वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानीयले गुनासो गरिरहेको बताउनुभयो ।
समितिका अनुसार नगरपालिकालाई चुलो खरीद र अनुगमनका लागि दिएको दुई लाख पचास हजार कटाएर बचेको रकमबाट एक सय ३८ चुलो रारा इन्जिनियर वर्कसप कम्पनी सुर्खेतबाट खरीद गरिएको थियो । एउटा चुलोको कम्तिमा ८ हजार बढी नै परेको देखिन्छ । जुन बजार मुल्यको भन्दा निकै बढी हो । समितका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौ साथीहरु उतै कुरा मिलाउहोस भनेको बताउनुभयो ।
नगरपालिकाले पुर्ण जातिय छुवाछुत मुक्त अभियान अन्तर्गतको १४ लाख ७५ हजार रुपैयाँ अन्तिममा आएको र फ्रिज गर्नु भन्दा दलित बस्तीमा चुलो वितरण गरौ भन्ने असल मनसायले कटिगाँउमा रहेको कटिगाँउ कृषक समुहका नाममा गत असार ११ गते सम्झौता गरी रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अनिश शाहले बताउनुभयो ।
उहाँले रकम समेत समुहका नाममा निकासा दिईएको र खरीद समेत उनीहरुले नै गरेकोले यसमा नगरपालिकाको संलग्नता नरहेको बताउनुभयो । गुनासो आएकोले यस सम्बन्धमा के भएको हो आवश्यक छानवीन गर्न सकिने उहाँले बताउनुभयो प्रवाहमा खवर छ ।










