रोजगारी गुमाउने कर्णालीका युवाको कथा ः काम पाइँदैन, साँझ -बिहान छाक टार्नै मुस्किल

दैलेख, सुर्खेत वीरेन्द्रनगर नगरपालिका -१३ का नमन विक २३ वर्षका भए । भारत नगएर उनको रोजिरोटी चल्दैन । पाँच वर्ष भारतमा होटेलमा कुकको काम गरे । महिनामा २० देखि २५ हजार कमाउने उनले कोरोनाकै कारण राजगारी पनि गुमाउनु पर्‍यो ।

रोजगारी गुमेपछि स्वदेशमै केही गर्ने सपना बोकेर नेपाल फर्किए । उनी गाउँ फर्केको नौ महिना भइसक्यो । घरका जेठा छोरा उनलाई परिवार पाल्दै मुस्किल बनेको छ ।

‘भारतको गुजरातमा काम गर्थे, कोरोनाले घर आए,’ उनले भने, ‘नेपालमा गरिखाने उपाए केही ननिस्केपछि भारत जाने गाडीभाडाको खोजिमा छु ।’ आफूसँग भएको सिप स्वदेशमै सदुपयोग गर्न चाहेका नमन अहिले कामका लागि विभिन्न ठाउँमा धाउने गरेपनि कतै काम पाउन सकेका छैनन् ।

त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका भीमबहादुर विक पनि स्देशमै जागिरका लागि भौतारिरहेका छन् । विगतमा उनी पनि भारतमै काम गर्थे । कोरोनाका कारण गाउँ फर्केका उनको दैनिकी गोठाला गएर साथीभाइका कुरा सुन्दैमा दिन बित्छ ।

‘भारत जान थालेको पनि ८ /९ वर्ष भयो, भारत गएर नै मेरो रोजिरोटी चल्थ्यो,’ उनले भने, ‘अहिले गाउँमा बेरोजगार छु दिउँसो गाइगोरु हेर्न जंगल, साँझ साथीभाइका गफ सुन्न ठिक्क हुन्छ ।’

केही दिन त उनले मुख्यमन्त्री रोजगारबाट काम गरेर चार- पाँच हजार कमाएका थिए । सातजनाको परिवार पाल्नुपर्ने उनलाई बाध्यता छ । यहाँ बेरोजगार भएर पाल्न नसक्ने भएपछि भारत जान लागेको उनले बताए ।

सुर्खेतका कमल बादी बेरोजगार भएकै कारण तनाबमा छन् । भारतबाट कमाएर ल्याएको कमाइले केही महिना चले पनि अहिले घरमा चामल खाने पैसा नभएको गुनासो गरे ।

‘अलिअलि कमाएर ल्याएको पैसाले केहि महिना त धान्यो तर, अहिले त भोकै परिन्छ कि भन्ने चिनता मनमा खेलिरहन्छ,’ उनले भने, ‘झन तीज नजिकै आइरहेको छ, छोराछोरीले नयाँ कपडा र खानेकुरा भनेर सताउँछन्, यतै केही काम गरौँ त काम पाइन मुस्किल छ ।’

वीरु, भीम र नमन एक प्रतिनिधि पात्र मात्र हुन । गाउँमा रोजगारी खोजिरहकेका हजारौँ युवा रहेका छन् ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार अहिले पनि ८५ प्रतिशत कर्णालीका अधिकांश नागरिक भारत लगायत तेस्रो मुलुकमा छन् । अधिकांश नागरिकको भारत नगए चुलो बल्दैन ।

कोरोनाका कारण भारतबाट फर्केका नागरिकका लागि नगरपालिकाभित्र हुने विकास निर्माणका काममा मेसिनरी मानव स्रोत साभनबाटै काम लगाउने नीति ल्याएको वीरेन्द्रनगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘हामीले सानातिना योजनामा मेसिन बन्द गराएका छौँ, त्यस्ता योजनामा युवालाई काम दिन्छौँ,’ ‘उनले भनिन्, ‘ बेरोजगार युवाका लागि उद्यमशिलतासम्बन्धी विभिन्न सीप सिकाउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छौँ ।’

कोभिडबाट प्रभावित र बेरोजगार युवाका लागि प्रदेशबाट सहुलीयतमा अनुदान दिने कार्यविधि तयार हुन लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!