सनाखत सम्पन्न, आजै दल दर्ता प्रमाणपत्र जारी हुन सक्ने

काठमाडौं ः माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पार्टीको दल दर्ताको सनाखत सकिएको जानकारी दिनुभयो । सनाखत सकिएपछि प्राप्त प्रमाणबारे आयोगका पदाधिकारीले छलफल गरेर यसबारे निर्णय लिनुहुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । निर्णय भएको खण्डमा आजै दल दर्ताको प्रमाणपत्र जारी हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आयोगले पार्टी सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएका थियो । प्रस्तावित नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गर्नुभएको जानकारी दिनुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यले आयोग पुगेर सनाखत गर्नुभएको जानकारी दिनुभयो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि सङ्घीय संसद र केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ ।





error: Content is protected !!