एमाले विभाजन – कर्णालीमा तीन जिल्लाका अध्यक्ष माधव नेपालको पक्षमा खुले

सुर्खेत – कर्णाली प्रदेशका तीन जिल्लाका एमाले अध्यक्ष माधव नेपालको पार्टीमा आबद्ध भएका छन् । १० औं महाधिवेशनमा एमालेका निर्वाचित १० जिल्ला अध्यक्षमध्ये सातजना नेपाल समूहमा थिए । नेपाल समूहमा रहेका मुगु, जुम्ला र रुकुमका अध्यक्षमात्र नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।
यसअघि नेपाल समूहमा रहेका सुर्खेतका ध्रुवकुमार शाही, जाजरकोटका करवीर शाही र हुम्लाका दल रावल भने एमालेमै छन् । डोल्पाका दत्तबहादुर रोकायाको निधन भइसकेको छ ।
कर्णालीमा एमालेबाट निर्वाचित स्थानीय तहका ५९ (प्रमुख २७ र उपप्रमुख ३२) जनप्रतिनिधिमध्ये नेपाल समूहमा ३० र ओली समूहमा २९ जना थिए । पार्टी विभाजनपछि भने नेपाल समूहका अधिकांश जनप्रतिनिधिले आफ्नो कित्ता स्पष्ट पारेका छैनन् ।
दुई प्रदेश सांसद नेपाल पक्षमा खुले
कर्णाली प्रदेशसभामा एमाले विभाजनको असर परेको छ । यसअघि एमालेमा संस्थापन पक्षमा रहेका प्रदेशसभाका दुई सदस्य नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।
मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य चन्दबहादुर शाही र रुकुम पश्चिमकी देवी ओली समाजवादीमा खुलेका हुन् । यसअघि नेपाल पक्षमा खुलेका चार सांसदलाई एमालेले पदमुक्त गरिसकेको छ ।
कर्णालीमा नेपाल पक्षमा खुल्ने क्रम बढेको नेकपा एकीकृत समाजवादीका नेता एवं भौतिक पूर्वाधार मन्त्री अमर थापाले बताए । ‘अब ढुलमुलमा रहेका साथीहरु खुलेर लाग्नुहुन्छ,’ उनले भने, ‘कर्णालीमा हामी नै बलियो पार्टी हौं ।’
एमालेको प्रतिस्पर्धी कांग्रेस
दल विभाजनसँगै नेकपा (एमाले) प्रदेश कमिटीको बैठकले कर्णालीमा अबको चुनावी प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने निष्कर्ष निकालेको छ ।
कर्णालीका रुकुमपश्चिम र जुम्लाबाहेक ८ जिल्लामा चुनावी प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने र दुई जिल्लामा कडा मेहनत गरे जित्न सकिने आधार रहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
पार्टीमा विभाजन आएको भए पनि मूल नेतृत्व आफूहरुसँगै रहेको, सांगठनिक आधार नभत्किएको एमालेका कर्णाली प्रदेश अध्यक्ष यामलाल कँडेलले बताए । ‘हाम्रो पार्टीको सांगठनिक आधार कुनै गडबडी भएको छैन,’ उनले भने, ‘विभाजनको असर कर्णालीमा परेको छैन ।’
बैठकले भूमि आयोग खारेज गरेको बिरुद्धमा संघर्ष गर्ने, राजनीतिक दल विभाजनको अध्यादेश ल्याएर देशलाई पछाडि धकेल्न लागेको, कर्णाली प्रदेश सरकारले सुशासनको खिल्ली उडाएकाले विरुद्धमा संघर्ष गर्ने नीति अबलम्बन गरेको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताए ।








