कर्णालीमा जनप्रतिनिधिकै मिलेमतोमा काँचो स्याउ बिक्री, कृषि कार्यालयले गरायो ध्यानाकर्षण

मुगु -कर्णालीका विभिन्न जिल्लाबाट काँचो स्याउ विक्री वितरण हुने गरेको पाइएको छ । मुगु, जुम्ला, कालिकोटलगायत अन्य स्थानबाट काँचो स्याउ बाहिरी जिल्ला निर्यात भइरहेको पाइएको हो ।

स्याउको भण्डार मानिने कर्णालीबाट अपरिपक्व स्याउ बाहिरी जिल्ला निर्यात गर्दा यहाँको पहिचान नै गुम्ने कृषि विज्ञहरुले बताएका छन् । खासगरी स्याउ टिप्ने सिजन भदौ २० देखि असोज मसान्तसम्म रहेकोमा कर्णालीका किसानहरुले साउन महिनाको अन्तिम र भदौको पहिलो सातामै स्याउ टिप्न सुरु गरेका छन् । हाल कर्णालीमा काँचो स्याउ धमाधम बिक्री हुन थालेको छ ।

कर्णालीवासीको मुख्य आम्दानीको स्रोत स्याउ खेतीमा यहाँका किसान निर्भर छन् । पहिलेको तुलनामा मुगुसहित कर्णालीमा स्याउ खेती गर्ने कृषक बढेका छन् । तर समय नहुँदै काँचो स्याउ बिक्री गर्न थालेका छन् । भदौ महिनाको दोस्रो सातासम्म स्याउ परिपक्व हुने, गुलियो भरिने र रातो रंग दिने गरे पनि यहाँका कृषक हरेक बर्ष काँचै साउन महिनामै टिपेर बिक्री वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ ।

किसानले काँचो स्याउ बेच्दा मुगुसहित कर्णालीको पहिचान बोकेको स्याउले पहिचानै गुमाउने खतरा बढेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख जय प्रसाद कुमाईले जानकारी दिए ।

परिपक्व स्याउ टिप्न सुझाए पनि कृषक र व्यापारीले अटेरी गर्ने गरेका छन् । मुगुका स्याउ बाहिरी जिल्लामा विक्री वितरण गर्न वडाले सिफारिस गर्ने व्यवस्था गरिएको छ । तर केही जनप्रतिनिधिले काँचो स्याउ निर्यातकै अनुमति दिने गरेका छन् ।

कृषि विकास कार्यालयले परिपक्व भएपछि मात्रै सिफारिस दिन स्थानीय तहको ध्यानाकर्षण गराएको छ । मुगुमा बाम, रोवा, शोभा, घट्लेख, ताल्चा, लगायत स्थानलाई स्याउ पकेट क्षेत्र मानिन्छ ।





error: Content is protected !!