संरक्षणको अभावमा कीर्तिखम्ब लोप हुँदै

सुर्खेत – दैलेखको दुल्लु नगरपालिकामा रहेको ऐतिहासिक नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब (कीर्तिस्तम्भ) संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । नेपाली भाषीहरुको ऐतिहासिक शिलालेख रहेको कीर्तिस्तभ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

ऐतिहासिक कीर्तिस्तभमा गाई गोरु, बाख्रा बाध्ने र कपडा तथा बिस्कुन सुकाउने थलो बन्न थालेको छ । नेपाली भाषीहरुको एक गहना रुपमा रहेको कीर्तिस्तभमा गाई गोरु बाध्ने थलो बन्नुमा उचित संरक्षणको समस्या रहेको स्थानीय तीर्थ सुनारले बताए । ‘यसको संरक्षणको लागि लाखौँ रकम खर्च भयो । तर, त्यो बालुवाको पानी भयो’, उनले भने, ‘कसैले त्यसको महत्व बुझ्न सकेनन् भने कसैले त्यसको संरक्षण गर्न पनि सकेनन् ।’

यसभन्दा अगाडि दुल्लु नगरपालिका र केही अभियान्ताहरुबाट कीर्तिस्तभको साधारण घेराबार भएको थियो । अहिले कीर्तिखम्ब परिसरमा पानी पर्दाको समयमा बाख्रा, गाई गोरु बााँध्नेदेखि वरिपरिको रेलिङमा कपडा सुकाउने काम भइरहेको स्थानीयले जानकारी दिए ।

‘कीर्तिखम्ब परिसरका नेपाली भाषाका लिपि भएका खम्बाहरु गाई गोरु र बाख्रा बाँध्नका लागि अडाडि खम्बा हुन रु’ एक स्थानीयले भने, ‘सडक र बजारक्षेत्रसँगै रहेको कीर्तिखम्ब अहिले फोहोर र कुरुप मात्र भइरहेको छैन कि गाइ गोरु र बाख्राले भरिँदासम्म पनि सम्बन्धित् निकाय मौन छ ।’

कसले बनाएका थिए कीर्तिखम्ब ?

कीर्तिखम्बा शाके सम्वत १२७९ तत्कालीन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको हुन् । यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ । दुल्लु कीर्तिखम्ब बजारमा रहेको यस कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी।, चौडाइ ५० सेमी। र मोटाइ ८ सेमी। रहेको छ । स्तम्भको दुबै पाटोमा क्रमशः पद्मदल, मणिमाला, चैत्य र ॐ मणिपद्मे हुँ खोपिएको सम्पूर्ण स्तम्भको तलदेखि माथिसम्म किनारमा दुईवटा रेखा बनाइएको इतिहासकार योगी नरहरिनाथले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेश र शिवको बन्दना गरिएको छ । योगी नरहरिनाथले गरेको अनुसन्धान र खोजअनुसार यो स्तम्भमा सिँजाराज्यका खस राजाहरूको बंशावली कुँदिएको छ ।

हाल स्तम्भमा गोठालाहरुले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागि घोट्ने गर्नाले स्तम्भको चारैतिर घोटिएको छ । स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन् । स्तम्भमा कुँदिएको भाषा र लिपिहरू सामान्यतया बुझ्न र पढ्न सकिँदैन ।

यो स्तम्भमा दुवैतर्फको सम्पूर्ण अभिलेखमा जम्मा २४ वटा श्लोकहरू दुईवटा स्वस्ती र श्रीशाके गरी जम्मा ७८० वटा अक्षरहरू रहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!