बाढीले पाइपलाइन बगाएपछि तुम्कोटमा खानेपानी समस्या, नदीको धमिलो पानी पिउन बाध्य

हुम्ला ः चीनसँग जोडिएको जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ५ को तुम्कोट गाउँका बासिन्दाहरु एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी खान बाध्य छन् । २० साउनमा आएको बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि यहाँका स्थानीय शुद्ध खानेपानीबाट वञ्चित भएका हुन् । नदीको पानी लिन पनि एक घण्टा पैदल हिँड्नुपरेको छ ।
तुम्कोट निवासी थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइपलाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनु परेको सुनाए । घरआँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको कामै दैनिक पानी ओसार्ने भइरहेको छ ।
सिंगो खानेपानी आयोजनालाई बाढीले क्षति पुर्याएपछि स्थानीय नदीको धमिलो पानी पिउन बाध्य भएका हुन् । अहिले तुम्कोटका स्थानीयको बिहान सबेरै उठेर लाइन लागेर खानेपानी ओसार्ने दैनिकी जस्तै बनेको छ । खानेपानी आयोजनामा बाढी क्षति गर्दा तुम्कोटका २५ घरधुरी प्रभावित भएका छन् ।
तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुईसिङ खानेपानी तथा सरसफाई आयोजनालाई बाढी र पहिरोले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको हो ।
बाढीले पुरै संरचनामा क्षति पारेको छ । तर गाउँमा निर्माण भएका ६ वटा सार्वजनिक स्थानका धाराहरु भने जस्ताको तस्तै रहेको वडा कार्यालयले जनाएको छ । खानेपानीको मुहान बाढीले बगाएर लगेपछि गाउँमा भएका धारामा पानी आउन छाडेको छ ।
नोट स् थप तस्विरहरु ग्यालरीमा छन् ।










