अन्तर पार्टी निर्देशनमा ओलीको निचोड – ‘माधव गिरोह पार्टी फुटाउन क्रियाशील’

काठमाडौं ः नेकपा (एमाले)को संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललगायत केही व्यक्तिहरु पार्टी विभाजनका लागि सक्रिय रहेको निचोड निकालेको छ। अन्तर पार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको हो।
पार्टीभित्र सिर्जित असामान्य अवस्था, अवसरवाद र अन्तरध्वंसात्मक गतिविधि सम्बन्ध उपशीर्षकमा नेपाल पक्षलाई समेट्न गरिएका प्रयासहरु उल्लेख छन्। जहाँ भनिएको छ, ‘पार्टी विभाजनका लागि माधव नेपाललगायतका कतिपय व्यक्तिहरू क्रियाशील छन्।’
सरकार निर्माणमा नेपाली कांग्रेसलाई साथ दिने नेपाल पक्षको प्रवृत्ति निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्दै लचिलो भएर एकताको प्रयास गरिरहेको बताइएको छ। भनिएको छ, ‘यति हुँदाहुँदै पनि पार्टी एकताको पवित्र उद्देश्यका साथ यसबीच पार्टीले हदैसम्म लचिलो भएर प्रयास गरिरहेको छ।’ अपानिमा नेपाल समूहलाई गिरोहको संज्ञा दिइएको छ।
कार्यदलको गठन, १० बुँदे प्रस्तावको अनुमोदन र कार्यान्वयन गर्ने निर्णय तथा यसबीच अगाडि सारिएका विभिन्न प्रस्ताव यसै प्रयोजनका लागि रहेको तर एकपछि अर्को शर्त र असम्भव खालका मागहरू तेर्स्याउँदै पार्टी फुटाउने प्रयासलाई अन्तिम टुङ्गोमा पुर्याउने काम भइरहेको बताइएको छ। पार्टी नेतृत्वमाथि आक्रमणका क्रम र विस्थापित गर्ने प्रयास जारी छ ।
पार्टीका गुटगत बैठक भने रोक्न माग गर्ने, पार्टी सदस्यता नवीकरण नगर्न आह्वान गर्ने, पार्टीका नियमित काम र निर्वाचनका तयारीमा लाग्न नदिने, महाधिवेशन तयारी गर्न नदिने माग र दबाब दिने काम भइरहेको जुन स्वीकार्य नहुने उक्त निर्देशनमा उल्लेख छ।
भनिएको छ, ‘जेसुकै उद्देश्यले गरिएको भए पनि यस्ता मागले पार्टीलाई क्रमशः गतिहीन, निष्प्रभावी र पार्टीको वैधानिक हैसियत समाप्तिको दिशामा लैजान्छन्। तसर्थ यी मागहरू स्वीकार्य छैनन्।’










