काम नगर्ने ठेकेदार विरुद्ध स्थानीयवासी आन्दोलित

-हेमन्त केसी
जाजरकोट – तीन वर्ष अघि गाडीएका विद्युतका पोलहरु लथालिङ्ग बनाइ काम नगर्ने ठेकेदारलाइ कारबाहीको माग गर्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका छन् ।

भेरी नगरपालिका –२ कोटखोलाबाट कुशे गाउँपालिका –५ पाँचकाटिया सम्मा गाडीएका विद्युतका पोलहरु लथालिङ्ग भएको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन् । भेरी नगरपालिका –२ र कुशे गाउँपालिका पाँचकाटिया बजार व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देबकोटालाइ ज्ञापनपत्र बुझाउदै ७ दिन भित्र काम सुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

ठेक्का लिँने तर काम नगर्ने परिपाटी मौलाइरहेको बेला यहाँका नागरिकहरु दिक्क भएर आन्दोलन गर्न बाध्य भएको संर्घष समितिका संयोजक थापाले बताउनुभयो । केही पोलहरु गाडीएको छ भने केही बीच बाटोमै छाड्दा ठाउँ , ठाउँमा गएको पहिरोले पोलहरु पुरिएको अवस्थामा रहेको थापाले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश विद्युत प्राधिकरणले गरेको ठेक्कामा त्रिपुरेश्वरी जय दुर्गे जेभी काठमाडौँ यो रुटमा लाइन विस्तारका लागि ठेक्का लिएको थियो ।

लिएको ठेक्का बीचमै छोडेर सम्पर्कमा नरहेको उक्त जेभिका इजिनियर नारायण लम्सालसँग हामीले सम्पर्क गर्दा विवादका कारण ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ रुख काट्नुपर्ने र स्थानीयले विवाद गर्दा कामले गती लिन नसकेको हो , अब वर्षा सकिएपछी तुरुन्तै काम गर्ने छौँ । ”


त्यस्तै उक्त जेभीले भेरी नगरपालिका –१ कालेगाउँ देखि रिम्ना सम्माको ठेक्का लिएर बीचमै छाडेको छ । कालेगाउँबाट बाहुनथाना जोड्ने प्रशारण लाइन समेत अलपत्र बनाएको छ । मटेला देखि भेर्रे सम्मा जोड्ने कामको लाइन समेत काफलचौर सम्मा लिएर अलपत्र परेको पाइएको छ ।

बर्षा सकिन बितिकै काम सुरु हुने र सो काम तीन महिना भित्र सकिने इन्जिनियर लम्सालले बताउनुभयो । तीन वर्ष सम्मा काम किन हुन सकेन भन्ने जिज्ञासामा लम्सालले भन्नुभयो , “सडक निर्माण तथा बिबादले गर्दा काम हुन नसकेको अहिले सबै कुरा सल्टिएको छ , अब काम हुन्छ ।”

त्यस्तै पाँचकाटियाँ देखि कुशे सम्मा जोड्ने लाइन समेत बिस्तार हुन सकेको छैन । जिल्ला समन्वय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता तेजविक्रम शाहले लिएको ठेक्काको काम नहुँदा तीन वर्ष देखि सो काम समेत अवरुद्ध भएको छ । नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने लाइनमा समेत शाहले काम नगर्दा बीचमै अलपत्र परेको छ ।

पहुँचको भरमा ठेक्का लिँने र बीचमै छोड्ने तरिकाले गर्दा सर्वसाधारणले समयमै बिद्युत बाल्न नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले काम नगर्ने ठेकेदारलाइ तुरुन्तै कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो , “ ठेक्का लिँने तर बीचैमा छोड्ने तरिका राम्रो भएन , मलाइ पनि ज्ञापन पत्र बुझाएको छ , काम नगर्नेलाइ कारबाही गरिनु पर्छ मैले नि त्यही सिफारिस गर्छु । ” पश्चिमको शिवालय र जुनिचाँदे गाउपालिकामा विद्युतीकरण गर्नका लागि खोलिएको ठेक्काको काम समेत निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले नगर्दा पश्चिममा विद्युतकरणको काम समेत अवरुद्ध हुँदै आएको छ ।

उत्ता विद्युत प्राधिकरण जाजरकोटका प्रमुख विशाल लामीछानेले निर्माणको जिम्मा लिएका ठेकेदारलाइ जती बोलाएपनि सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो ,“बोलाउदा आज आउँछु , भोली आउछु भन्दै दिन कटाइरहनुभएको छ । सबै नभएको काम प्रदेशको ठेक्कावालाहरुकै रहेको छ , जो तीन वर्ष क्रस भइसकेको छ ।”

तोकिएको समयमा कम भइदिएको भए जिल्ला भरी अहिले सम्मा ७० प्रतिशत विद्युतिकरण हुने प्रमुख लामिछानेले बताउनुभयो । जाजरकोटमा अहिले ३३ केभी प्रशारण लाइनको विद्युत सूचारु अवस्थामा रहेको छ । कुदु स्टेशन सम्मा ३३ केभी र अन्य ठाउँमा ११ केभी प्रशारणलाइन चालु अबस्थामा रहेको छ । मुख्य ठाउँकै काम नहुँदा बाँकी कामको ठेक्का खोल्न नसकेको उहाँको भनाइ छ ।





error: Content is protected !!