चामल बिक्रीमा अनियमितता गर्ने कर्मचारीमाथि छानबिन हुने

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन हुने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानबिन टोली आइतबार जिल्ला आउने जानकारी दिए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी अनियमितताबारे छानबिन गर्न गठन गरेको टोली आइतबार हुम्ला आउँदै छ,’ आचार्यले भने ।
सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नुन, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको समाचार नयाँ पत्रिकामा प्रकाशन भएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छानबिन गर्छ त्यसपछि जिल्लाले छानबिन गर्नुपर्ने छँदै छ खाद्य समितिले पनि बैठक बसालेर पूर्ण छानबिन गर्ने प्रमुख जिल्ला अधिकारी आर्चायको भनाइ छ । शुक्रबार लकडाउनको अवधिमा हुम्ली जनतालाई चामलमा अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्ने वाइसिएल र अनेस्ववियु क्रान्तिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण गरेका थिए ।
हुम्ला (ख) का प्रदेश सांसद एवं कांग्रेस नेता सदस्य जीवनबहादुर शाहीले सत्यतथ्य के हो बाहिर आउन आवश्यक रहेको बताए । जनतालाई छुट दिएको देखाएर कर्मचारीले आफ्नो गोजीमा पैसा राख्न नपाइने उनले बताए ।










