कुलप्रसाद केसी ः यस्ता छन् लुम्बिनीका ‘नयाँ मुख्यमन्त्री’

वीरेन्द्र ओली

काठमाडौँ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सामना गर्नुसाटो राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसी ‘सोनाम’ले अब प्रदेश सरकार हाँक्ने निश्चित बनेको छ। तत्कालीन नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेल अल्पमतमा परेसँगै राजीनामा दिएर बाहिरिएपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्न लागेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थनमा केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदैछन्। माओवादी र कांग्रेसबीच भएको मौखिक सहमति बमोजिम केसीले ८ महिना मुख्यमन्त्रीको नेतृत्व गर्ने अवसर पाउने भएका छन्। त्यसपछि काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बाँकी अवधि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्। प्रदेश सभाका कूल ७९ सदस्यमध्ये केसीको पक्षमा ४१ जना सांसदले समर्थन जनाएका छन्।

लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर यसअघि दाङ क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित पोखरेलले पाएका थिए भने अब रोल्पाबाट निर्वाचित केसीले पाउँदैछन्। केसी २०२७ माघ १० गते रोल्पा नगरपालिका(६ ज्यूवाङमा जन्मिएका हुन्।

विद्यार्थी राजनीतिदेखि भूमिगत युद्धसम्म
पूर्वसभामुख कृष्णबहादुर महराबाट प्रभावित केसी विद्यालय तहमै पढ्दा राजनीतिमा जोडिए। उनी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भए। एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा झरे। त्यहाँ आईए पढ्दापढ्दै विद्यार्थी संगठनमा आवद्ध भई सक्रिय राजनीति गर्न थाले। विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए।

विद्यार्थी राजनीतिमा सक्रिय केसी शिक्षक भएपनि आफ्नो राजनीतिलाई निरन्तरता दिए। प्राथमिक तहको स्थायी शिक्षक भएका केसी पार्टीमा एरिया सेक्रेटरी भएर भूमिका निर्वाह गरे। २०५० साल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झण्डा देखाएको भन्दै उनले शिक्षकबाट अवकास लिनु पर्‍यो। स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोध गरेको भन्दै शिक्षकबाट राजीनामा दिन परेपछि उनी सक्रिय राजनीतिमा आए। शिक्षकबाट राजीनामा दिएपछि केसी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति गर्न थाले।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाई थपिँदै गयो। २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरी(कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।

तीन वर्ष भारतको बक्सर जेलमा बन्दी
रोल्पामा जन्मिएका केसीले आफ्नो गृहजिल्ला मात्रै होइन सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रुपमा परिचय बनाए। २०५६ सालपछि भेरी(कर्णाली क्षेत्रको सैन्य कमिसार बनेपछि त्यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए।

केसीले राजनीतिसँगै गीत संगीत र सहित्यमा समेत पहिचान बनाउन सफल भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र पुन ‘सिजल’ बताउँछन्। ‘उहाँ मेरो नजरमा चौतर्फी नेतृत्व गर्न सक्ने नेता र नेतृत्वको रुपमा लिन्छु। राजनीतिसँगै साहित्य र सांस्कृतिक विधाको क्षेत्रमा आफ्नो पहिचान बनाउनु भयो। फौजी क्षेत्रमासमेत सफल हुनुभयो’, पुनले नेपाल लाइभसँग भने, ‘राजनीति गर्ने व्यक्तिले प्रायः राजनीतिलाई मात्रै ध्यान दिएको पाइन्छ। त्यो सोनाम कमरेडमा लागू हुँदैन। उहाँ राजनीतिसँगै सैन्य र कला साहित्य, गीत संगीतमा पनि उत्तिकै निपूर्ण हुनुहुन्थ्यो।’

गीत संगीत र साहित्यमा समेत उत्तिकै सक्रिय भएकाले सशस्त्र युद्धमा संगठन विस्तार गर्नमा समेत निकै बल पुगेको नेताहरु बताउँछन्। तत्कालीन माओवादीले पहिलोपटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी समेत सहभागी भएका थिए। जुनसुकै पेशा वा क्षेत्रमा भएपनि केसीले राजनीतिलाई सधैं निरन्तरता दिएको केन्द्रीय सदस्य पुन बताउँछन्।

‘सोनाम कमरेड विद्यार्थी हुँदा राजनीतिमा जोडिनुभयो। त्यसपछि रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक हुनुभयो। त्यतिबेला पनि जनमोर्चामा आवद्ध हुनुहुन्थ्यो’ पुनले भने, ‘स्थायी शिक्षकबाट राजीनामा दिनुपर्ने अवस्था आएपछि राजीनामा दिएर ‘जनयुद्ध’मा पूर्णकालीन रुपमा होमिनुभयो।’

‘जनयुद्ध’मा केसीको चर्चा चुलिँदै गएपछि उनी तत्कालीन सेनाको नजरमा पर्न थाले। त्यति नै बेला पार्टी बैठकका लागि भारत जाने क्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै केसी जेलबाट छुटेका थिए। जेलबाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेटमा राखिएपछि वाईसीएलको इन्चार्जको भूमिका पाए।

लडाकू स्वभावका केसी तत्कालीन माओवादीमा दुईलाइन संघर्ष भएपछि मोहन वैद्यतिर लागे। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा(माओवादी गठन गरेपछि मूल पार्टी एकीकृत माओवादी छोडे।

प्रचण्डको साथ छोडेका केसी दोस्रो संविधानसभा निर्वाचन बहिस्कार अभियानमा लागे। वैद्यसँग झण्डै चार वर्ष बस्दा समेत केही हुन नसकेपछि केसी रामबहादुर थापा ‘बादल’सहित माओवादीमै फर्किए। एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए।

तत्कालिन एमाले( माओवादी गठबन्धनमा एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाए। तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानुन मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए। एमाले(माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागेका हुन्।





error: Content is protected !!