शिक्षकलाई कोरोनाबिरुद्धको खोप, शैक्षिक गतिबिधि सुचारु

–सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ साउन ः पाल्पामा शिक्षकलाई कोरोना बिरुद्धको खोप सेवा दिन थालिएको छ । शिक्षकलाई उपलब्ध खोप जिल्लाका सबै पालिकामा पुगिसकेको छ ।
यहाँका शिक्षकलाई भोरोसेल बिरुद्धको खोप लगाउन दशवटै पालिकामा करिव चार हजार दुई सय २७ जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
“कतिपय पालिकाले शुक्रवार देखि नै शिक्षकलाई खोप दिन सुरु गरेका छन्, हामीले छिटो भन्दा छिटो खोप लगाउन सबै पालिकामा अनुरोध गरेका छौँ” उहाँले भन्नुभयो ।
कतिपयले शिक्षकले सरकारले तोकेको लक्षित उमेर समुहमा परेर यसभन्दा अघि खोप लगाइसकेका छन् । बाँकी सबै विद्यालयका शिक्षकलाई यस अभियानमा समावेश गरी खोप लगाइदैछ ।
बगनासकाली गाउँपालिकामा तीन सय ३०, माथागढीमा तीन सय ६१, निस्दीमा तीन सय ९०, पूर्वखोलामा तीन सय १७, रैनादेवी छहरामा तीन सय ५८, रम्भामा तीन सय नौ, रिब्दिकोटमा तीन सय ४०, तिनाउमा तीन सय २२, रामपुर नगरपालिकामा सात सय सात र तानसेन नगरपालिकामा आठ सय शिक्षकलाई खोप लगाउने कार्य सुरु भएको छ ।
पाल्पामा शिक्षकलाई खोप सेवामा वन्चित गरिएको नेपाल शिक्षक महासंघको नेतृत्वमा व्याब्सन, एन प्याब्सन सहित विभिन्न दश शिक्षक संघ संगठन लगायतले यस कार्यमा ऐक्यबद्धता जनाउँदै आन्दोलन गरेका थिए ।
शिक्षकलाई खोप दिइने भएपछि यसभन्दा अघि कोभिडको समयमा जसरी शैक्षिक गतिबिधि चलाइएको थियो त्यसरी नै जिल्लाका सबै विद्यालयका शैक्षिक गतिबिधि नियमति रुपमा अगाडी बढाइने नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष धनकला गाहाले बताउनुभयो । संघर्ष समितिको आन्दोलनको सुनुवाईले शिक्षकलाई कोरोनाको खोप उपलब्ध गराएकोमा धन्यवाद दिनुभएको छ ।
संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले कोरोना बिरुद्धको खोप नलगाउँदा सम्मका लागि साउन १४ गतेदेखि जिल्लाभरका सबै शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिबिधि बन्द गरी आन्दोलन गरेका हुन् । शिक्षकको आन्दोलनका कारण साउन १४ गतेबाट सुरु हुने कक्षा ११ को परिक्षा प्रभावित बनेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी पन्थीले शिक्षकको आन्दोलनले खोप शिक्षकलाई उपलब्ध भएको होइन, यस पटक शिक्षकलाई नै माथिबाट तोकेर आएको खोप शिक्षक लगाउन थालिएको बताउनुहुन्छ ।










