शे फोक्सुण्डोले गुमायो करोडौँ राजश्व !

हेमन्त केसी
डोल्पामा , यार्सागुम्वा लगाएतका जडीवुटी संकलनमा रोक लगाएसँगै डोल्पामा भारी मात्रामा राजश्व गुमेको छ । सर्बसाधारणहरु लुकीछिमी यार्सागुम्वा लगाएतका अन्य जडीवटी संकलन गर्न पाटनमा गएपनि निकुन्ज र सामुदायिक वन समुहले राजश्व उठाउन पाएनन् ।
यार्सागुम्वा संकलन गर्न सर्बसाधारणहरु पाटनमा गएपछि उपल्लो डोल्पामा विकास निर्माणको बजेट समेत फिर्ता भएको पाइएको छ । कर्मचारीहरु कार्यालयमा गएर कुर्ने तर सर्बसाधारणहरु पाटनबाट नआएका कारण रकम भुक्तानीमा ढिलाइ हुँदा रकम फिर्ता भएको जानकारी एक कर्मचारीले बताएका छन् । छार्का ताङसोङ गाउँपालिकामा सबै भन्दा बढी बजेट फिर्ता भएको छ । दुइ ठाउँमा कार्यालय राखेर काम हुँदै आएको उपल्लो डोल्पाका तीन वटा पालिकामा विकास बजेट फिर्ता भएको हो । बर्षेनी यार्सागुम्वा संकलनकत्र्ताबाट करोडौँ रकम संकलन गर्दै आएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले पो पटक एक पैसा उठाउन पाएन ।
निकुन्जको कोर क्षेत्र भित्र यार्सागुम्वा संकलन गरेवाफत राजश्व उठाउदै आएको भएपनि यो वर्ष प्रशासनले रोक लगाएसँगै सर्बसाधारणहरु लुकीछिमी सबै पाटन गएर यार्सागुम्वा संकलन गरेपनि राजश्व उठाउन निकुन्जले नसकेको हो । हामी खुल्याम यार्सागुम्वा संकलन गएपनि कसैले केही भनेनन् , हामी त बाँच्नु पर्र्यो नि हैन र ? मुड्केचुला गाउँपालिका – ६ का रामबहादुर सिंहले भन्नुभयो । उहाँले थप्ुनुभयो , “ अघिल्लो वर्ष जतिकै यार्सागुम्वा यो वर्ष त पाइएन तर पनि घर खर्च टार्नको लागि भने सहयोग मिलेको छ । ”
यार्सागुम्वा संकलन गर्न गएका तीन जनाको लेक लागेर ज्यान गएको थियो । मृत्यु हुनेमा सबै जुम्लाकै रहेको डोल्पा प्रहरीले जानकारी दिएको छ । राजश्व धेरै गुम्यो त भन्ने जिज्ञासामा निकुन्जका प्रमुख गोपाल खनाल भन्नुहुन्छ , “ यो विषयमा केही नबोल्यौँ सर , तपाइलाइ थाहा छदैँ छ त ? मैले मात्र चाहेर केही हुँदैन यहाँ । ” दुइ वर्ष सम्मा डोल्पामा कोभिडका कारण देखाउदै प्रशासनले यार्सागुम्वा संकलन रोक कागजमा लगायो तर सर्बसाधारणले यार्सागुम्वा संकलन कार्य रोकिएको थिएन मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले भन्नुभयो । हाम्रो विकास निर्माण काम समेत यार्साले रोकेको उहाँले बताउनुभयो ।
निकुञ्ज क्षेत्रभित्र भित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्साको संकलन पुर्जी काटिदै आइएको थियो । २०७५/ ७६ मा साढे २० हजारको हाराहारीमा मान्छेहरु प्रवेश गरेका थिए । निकुञ्ज क्षेत्रभित्रमात्रै यार्सा पाइने ठूला र साना यार्सागुम्बा पाटन गरेर एकसयको हाराहारीमा रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज बाहेक अन्य सामुदायिक वनभित्र रुपपानी, पोखेपानी, साइक्वारीलगायतका यार्सागुम्बा पाटनमा प्रवेशगर्नेहरुको तथ्यांक निकुञ्जले नराख्ने जनाएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यार्सागुम्बा र सेतक चिनीलगायतका जडीबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तर्गत उक्त राजस्व संकलन भएको निकुञ्ज कार्यालय सुलिगाडले बताएको छ । निकुञ्जले यार्सागुम्बाको प्रवेश शुल्कबापत २ करोड ९२ लाख, संकलन अनुमतिपत्र बापत १ करोड ८३ लाख, सेतकचिनीको छोडपुर्जी वापत २ करोड १४ लाख रुपैयाँ संकलन गरेको हो । फोक्सुण्डो ताल हेर्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत १८ लाख ७९ हजार रुपैयाँ उठाएको कार्यालयले जनाएको छ ।
प्रत्येक बर्ष निकुञ्ज र सामुदायिक बनका यार्सागुम्बा पाटनहरु गरेर बीस हजारको हाराहारीमा सर्बसाधारणहरुले यार्सागुम्बा संकलनगर्ने बताइएको छ । त्यस्तै आव २०७४/७५ मा यार्सागुम्बा संकलन पुर्जी बितरणबाटमात्रै १ करोड ४१ लाख राजश्व उठेको थियो । आव २०७४३/ ७४ भन्दा आव २०७४/७५ को राजश्व २६ प्रतिशतले बृद्धि भएको निकुञ्जले जनाएको थियो ।










