अब बिपिको बाटो कसरी हिड्ने ?

-जनक केसी
आज अर्थात साउन ६ गते नेपाली राजनीतिका युगनायक बिपि कोइराला भौतिक रुपमा अवशान भएको दिन । अर्काे शव्दमा भन्नु पर्दा नेपालको जीवित लोकतान्त्रिक आन्दोलनबाट अमर सुर्य अस्ताएको दिन। पूर्ण लोकतन्त्र र शसक्त नेपाली कांग्रेस निर्माणका लागि जननायक बिपिले नयाँ पुस्तालाइ जिम्मेवारी सुम्पेर सधैंको लागि आफू अवसान भएको दिन । बिपि एउटा व्यक्ति र नेता मात्र होइनन् उनी एउटा आन्दोलन हुन् । एउटा युग हुन ।जनताका सुन्दर सपना र संकल्पहरु बोकेर उड्दा उड्दै बीचैमा सधैंका लागि रोकिएका जहाज हुन् । चीन र भारत चट्टानको बीचमा उम्रिएका नेपाली पिपल हुन् बिपि ।

नेपाली माटो सुहाउदो लोकतान्त्रिक समाजवादका मतिष्क हुन् बिपि । हाम्रो राष्ट्रियता र लोकतान्त्रिक क्रान्तिका कहिलै ननिभ्ने दियो हुन विपी। आज हामी माझ बिपि छैनन् । बिपिको नेतृत्व छैन । बिपिको त्यो अग्लो राजनीतिक कद छैन । बिपिको प्रभावशाली व्यक्तित्व छैन तर ३९ वर्ष देखि बिपिले सुम्पिएको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टी हामीसंग छ ।हामीसंग बिपि छैनन तर उनैले जन्माइदिएको पार्टीका साढे आठ लाख क्रियाशील कार्यकर्ता छन् । जनताले आन्दोलनहरुमा कांग्रेसलाइ गरेको अटुट भरोसा छ । बिपिले सुरु गरेको लोकतान्त्रिक आन्दोलन छ ।उनले जन्माइ दिएको लोकतान्त्रिक समाजवाद उन्मुख राजनीति छ । त्यति मात्र होइन हामीसंग बिपिको अवसान पछि उनले दिएर गएको गहन जिम्मेवारी र सुन्दर भविस्य छ ।
पूर्ण लोकतन्त्र र हाम्रो राजनीतिको स्थायी भविश्यका लागि बिपि लगाएतका हाम्रा अग्रजहरुसंगै संघर्षको बाटोमा कहिले दौड्दै कहिले हिड्दै हामीले आठ दशक भन्दा बढी समय बिताइ सकेका छौं । यत्रो समय पार गर्ने बेला समेत हामीले न राजनैतिक स्थायित्व निर्माण गर्न सक्यौं न ऐतिहासिक विरासत जोगाउने बलियो अस्त्र निर्माण गर्न सक्यौं ।

बिपिले भने जस्तै न प्रजातन्त्रका दुष्मन गरिबी र भ्रष्टाचारका विरुद्ध गतिलो प्रहार गर्न सक्यौं न विचारले तिखारिएको जुझारु काँग्रेस बनाउन सक्यौं ।काँग्रेसको नेतृत्वमा यत्रो अभुतपुर्व जन आन्दोलनले सफलता प्राप्त गर्यो तर त्यो संगै कांग्रेस ऐतिहासिक संकटका बेला जन विश्वासबाट पर धकेलिन पुग्यो ।विचार, संगठन, नीति, रणनीति भन्दा सत्ता र शक्तिको सकुनी चालमा गाउँ देखि केन्द्र सम्मको राजनीति बिटुल्याउने कार्यमा नेता कार्यकर्ताहरु अभ्यस्त हुन थाल्यौं । निष्ठा समर्पण लगानी र इमानदारीताको स्थान पार्टी भित्र सुरक्षित गर्ने काममा हामी चुक्न थाल्यौं ।

गणतन्त्र प्राप्तिपछि वामपन्थीहरुले झुट नै भएपनि दरिलो एजेन्डा तयार गरेर आफ्नो अभियान झकिझकाउ बनाए तर कांग्रेसले नयाँ विचार र नयाँ एजेन्डा अहिले पनि दिन सकेको छैन । प्रतिस्र्धात्मक विश्व समुदायका अघि आर्थिक समृद्धिको मोडेल के हो?समाज परिवर्तनको प्रगतिशील आधार के हो?कांग्रेस नेतृत्वको सत्ताबाट अहिलेको अवस्थामा जनताले गर्ने अपेक्षा र विश्वास के हो? संघीयताको पूर्ण कार्यान्वयनपछि कांग्रेसको कार्यभार के हो ? यो कार्यभार कुन साधन प्रयोग गरेर पुरा हुन्छ ? जनताले काँग्रेसको आर्थिक सामाजिक राजनैतिक परिकल्पनाबारे चुलोमा आगो बाल्दै गर्दा,ढोकामा उभिएर आँगनमा बसेर, टोल गाउँ बस्तीहरुमा घुमेर, सहर हुदै देशै भरि भौतारिएर सोध्ने प्रश्नहरु र सवालहरुको चित्त बुज्दो जवाफ के हो ? देशको माया मारेर विदेशी भुमि रोज्ने युवाहरुलाइ यहि देशमा रोक्ने कांग्रेसको उपाया के हो ? रुदै रुदै देश छोडेर खाडी मुलुकमा पसिनाले भिजिरहेका होनहार युवाहरुको वाध्यता र विदेशी भुमिवाट मूलुकमा सन्तान पाउँदा भक्कानिएका बाआमा लगाएतका आफन्तको असह्य पीडा सम्वोधनको उपाया के हो ?बाँझा खेतवारीहरु उर्वर अनि हरियालीयूक्त बनाउने कार्यक्रम के हो?कलिला बालबालिकाहरुको मस्तिष्कमा कांग्रेसले दिने देशको चित्र कस्तो हो? जेष्ठ नागरिकलाइ दिने भरोसा के हो ?

यूवाहरुलाइ दिने जिम्मेवारी के हो ? हामीले सुरु देखि नै घोक्दै घोकाउदै आएको सुखी र समृद्ध नेपालको नारा पुरा गराउने सक्षम र दुरदर्शी नेतृत्व चयन र निर्माणको आधार के हो ? लोकतन्त्र र जनअधिकारको लडाइ सकिएपछि जनताहरुले गर्दै आएका गुनासाहरु, पोख्दै आएका पीडा, छटपटी र क्रन्दनहरु नष्ट गर्न पार्टीको सौर्य निर्माणको आधार के हो ? यी माथि उठाइएका सवाल र प्रश्न अनि आलोचनाहरुको सही सम्वोधनका लागि अब कांग्रेसले वैचारिक, राजनैतिक र रणनैतिक रुपमा गर्नु पर्ने के हो भन्ने बारे केहि छलफल गर्न जरुरी छ ।

पार्टी सत्तामा जानु ठुलो कुरा होइन यो सत्तालाइ सदुपयोग गरेर पार्टीलाइ दीर्घकालीन हित गर्ने काम गर्नु ठुलो कुरा हो ।सधंै बिपिको नाम घोक्ने घोकाउने,योजना आयोगको कार्यालयमा बिपिले देखाएको हलो जोत्ने किशानको तस्वीरको बयान गरेर मात्रै कांग्रेस सवल बनाउन सकिदैन ।हिजो चारै तीर प्रतिबन्ध भएको बेलामा समेत कांग्रेसको झन्डा बोक्नेहरु लुकेरै भएपनि गाउँ बस्ती र टोलमा हुने तर अहिले यति सहज अवस्थामा पनि कांग्रेस कम्जोर हुदै गएको छ। पार्टीमा लोकतान्त्रिकरण प्रक्रिया कम्जोर हुदै गएको छ । विचार र सिद्धान्तको बहस स्खलित भएको छ । निष्ठा र समर्पणको राजनीति कम्जोर बन्दै गएको छ । कांग्रेस र यसका सवै भातृ तथा भगिनी र शुभेच्छुक संस्था आफनो अधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो हाम्रो गौरवपुर्ण इतिहासप्रतिको भद्दा मजाक हो ।आवधिक रुपमा नेतृत्व चयन गर्ने आधारभुत काम समेत गर्न नसक्ने हामीले राष्ट्रिय जिम्मेवारी र कार्यभार पुरा गर्न सक्ने ताकत कुन श्रोतबाट निर्माण सक्छौं ? आज वर्षाैं देखि कांग्रेस बनेर बसेकाहरु, काँग्रेसका लागि बा, आमा, भाइबहिनी दिदी दाइ गुमाएकाहरु, हरेक सजिला अप्ठेरा सबै परिस्थितिमा कांग्रसको साथ नछोडेकाहरु निरास भएका छन् ।

उनीहरुलाइ सन्तुष्ट पार्ने सुत्र के हो ? कांग्रेसकै कार्यकर्ता र समर्थक जनताहरु कांग्रेसको झन्डा किन समाउने भनेर प्रश्न गर्न थालेका छन् । पार्टीमा लागेका त्यागी समर्पित र सक्षम नेता कार्यकर्ताहरुको सहि मुल्यांकनको आधार खोज्न थालेका छन् ।बलियो र गतिशील कांग्रेस निर्माण संगै बिपिले अघि सारिदिएको लोकतान्त्रिक समाजवादको पुर्ण प्रयोग गर्ने ताकत निर्माणको आधार के हो भनेर प्रश्न गर्न थालेका छन् । एकतावद्ध पार्टी, शसक्त संगठन, गतिशील पार्टी अभियान र जोशिला नेता कार्यकर्ताहरु परिचालनको प्रभावकारी सुत्र के हो भनेर सोध्न थालेका छन् । पहुच र पैसाको भरमा पार्टीमा योगदान, भुमिका र लगानी नभएकाहरुको प्रवेश र उनीहरुको पार्टीमा हाली मुहाली रोक्ने उपाया के हो भनेर पनि नेतृत्वसंग सोध्न थालेका छन् । कांग्रेस चारैतिरबाट अस्तित्व, इतिहास संगठन र गतिशीलताका बारेमा प्रश्न, सवाल र आलोचनाहरुले घेरावन्दीमा परिरहेकै बेला १४ महाधिवेसन हुदैछ । महाधिवेसन नयाँ नेतृत्व चयन गर्ने साधन मात्र नभइ विचार, संगठन र सिद्धान्तको पुष्टि गर्ने, नयाँ अभियानको शंखघोष गर्ने, अनि पार्टीलाइ कहाँ लिएर जाने भनेर वाटो तय गर्ने महासंग्राम हो । त्यसैले अबको कांग्रेस यहि अवस्थामा रहन्छ कि नयाँ नेतृत्व चयनसंगै आफ्नो राजनैतिक अभियानमा तेजगति पकड्दै अघि बढ्छ?१४औं महाधिवेसनले तय गर्ने छ ।

यो कुरा महाधिवेनका प्रतिनिधिहरुको विवेक र भूमिकामा भर पर्ने छ । हामीले पार्टीलाइ अहिलेकै अवस्थामा घाइते अवस्थामा राख्ने या जीर्ण कांग्रेसको पुननिर्माण गरेर अघि बढ्ने यो सवै हाम्रो विवेकमा भर पर्छ ।
महाधिवेसन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा प्रवेश गर्दै गरेको अवस्थामा देशै भरिका नेता कार्यकर्ता र शुभचिन्तकहरुले अव कस्तो कांग्रेस बनाउने ? कसरी पार्टी र नेतृत्वलाइ बिपिको बाटोमा हिडाउने? गुम्दै गएको कांग्रेसको साखलाइ कसरी जोगाउने ? अप्ठेरो अवस्थामा पनि पार्टीप्रतिको घात प्रतिघातको प्रवृत्तिलाइ कसरी निश्तेज पार्ने?पार्टीका इमान्दार, सोझा, समर्पित कार्यकर्ताहरु र जनतामा नेताहरुले निर्माण गरेका गुट उपगुटहरुको छाया कसरी हटाउने ? भनेर विवेकपुर्ण बहस र मतदान गर्न जरुरी छ । महाधिवेसनकै संघारमा पार्टी अप्रत्यासित रुपले सत्ताको नेतृत्वमा पुगेको छ । सत्ता आरोहणलाइ पार्टीको गुमेको साख फर्काउने अवसरको रुपमा प्रयोग गराउने तर्फ नेतृत्वले काम गर्न नितान्त आवस्यक छ । यो बेला कांग्रेसले प्राप्त गरेको सत्ता गएको निर्वाचनमा बेहोरेको पराजयको पीडा भुल्ने मोह नबनोस आगामी दिनका लागि शसक्त योजना र एजेन्डा निर्माणको माध्यम बनाउन नेताहरुको चेत खुलोस् । देशमा वामपन्थी शक्तिमा आएको फुटले कांग्रेस बलियो हुने होइन यो बेलामा कांग्रेसले अघि सार्ने एजेन्डा र कार्यक्रमले पार्टीलाइ कुन स्थानमा पुरयाउने भन्ने कुराको निक्र्याैल गर्छ । कम्यूनिष्टहरु फुट्दा या उनीहरुले गलत काम गर्दा कांग्रेसप्रति जनताको विश्वास बढ्ने हो तर कांग्रेसलाइ अग्रगामी ढंगले चलायमान र मजवुत आफैँले बनाउने हो ।

बिपिको वाटो भुलेको आरोप कांग्रेस माथि जुन हिसावले लागेको छ त्यसलाइ झुट सावित गर्ने दुइवटा सुनौला अवसर अहिले पार्टी सामु आएका छन् । एउटा मुलुक संकटमा परेको वेला सत्ताको नेतृत्व प्राप्ति भएको छ र अर्काे पार्टीको १४औं महाधिवेसन पुरा गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । यी दुवै अवसरलाइ तार्किक रुपमा उपयोग गरेर पार्टीलाइ नर्या गति र उचाइ दिने तर्फ वडा देखि केन्द्र सम्मका सवै नेता कार्यकर्ताहरु गम्भीर हुन अति जरुरी छ ।बिपिले जुन शासन व्यवस्थाको कल्पना गरेका थिए । बिपिले जुन पार्टी संगठनको कल्पना गरेका थिए आज त्यो पुरा गर्ने जिम्मेवारी हाम्रो हो । बिपिले जुन कला प्रयोग गरेर नेपालको समृद्धि र विकासको चित्र कोरेका थिए । पार्टीको आन्तरिक जीवन र उर्जा निर्माणका जुन सुत्रहरु प्रतिपादन गरेका थिए ती सबैको प्रयोग गर्ने तर्फ नेतृत्व र कार्यकर्ताहरुले इमान्दारीता देखाउन सके मात्र पनि बिपि हिडेको बाटो भेटाउन सकिन्छ । गाउँमा सुतिरहेका पार्टीका कार्यकर्ता यूवा तरुण विद्यार्थीहरुलाइ बुझाएर पार्टीको साख फर्काउन दगुराउने गरि महाधिवेसन सम्पन्न हुनु पर्छ ।

प्रत्यक टोल वस्ती र गाउँ गाउँमा कांग्रेस समाल्ने यूवा शक्ति तयार पार्ने गरि महाधिवेसनमा छलफल हुनु पर्छ ।पार्टी भित्रका सवै गुटहरु,घातप्रतिघातहरु अनि व्यापार भत्काउने सोच र व्यवहार निर्माणका लागि महाधिवेसनले एउटा गति समात्नुपर्छ । सजिलो होस या अप्ठेरो सबै अवस्थामा पार्टीको संगठन खहरे होइन नदी जस्तै बनाउने गरि उर्जाशील नीति र एजेन्डाहरु तय गर्नु पर्छ । पार्टी प्रति नेता कार्यकर्ताहरुमा बढ्दै गएको अल्छीपना, वितृष्णा र निरासा हटाउनका लागि शसक्त कार्यक्रम निर्माण गर्नु पर्छ ।उद्योग र उत्पादनमा पार्टीका सम्पुर्ण सदस्यहरुलाइ सांगठनिक र व्यक्तिगत रुपमा प्रयोग गर्ने किसिमको कार्यक्रम गर्न सके हामीले कल्पना गरेको जस्तो गतिशील र चलायमान एवम बलियो पार्टी निर्माण हुन सक्छ । यसरी हिडे या चलेको अवस्थामा नेतृत्व, कार्यकर्ता र शुभचिन्तकहरुले बिपिको वाटो भेटाउन सक्छन अन्यथा अहिलेकै परिणामले निरन्तरता पाउन सक्छ ।

लेखक ः संयोजक सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोट 





error: Content is protected !!