अखाद्य वस्तु बिक्री गर्नेलाइ जरिबाना

जाजरकोट – जाजरकोटमा मुख्य व्यापारिक केन्द्रहरुमा निषेधाज्ञाको मौका छोपी म्याद नाघेको सामग्री बिक्री ,वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु भेटिएपछि यो खुलेको हो ।
म्याद नाघेका खाद्यवस्तु फेला परेपछि भेरी नगरपालिका–४ शान्तिचौतारास्थित मल्ल ब्रदर्स एन्ड सप्लायर्सको गोदाम सिल गरिएको छ । अन्य साना व्यापारीलाई चेतावनी दिइएको प्रशासनले जनाएको छ । उक्त सप्लायर्सलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताउनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार सप्लायर्सबाट चेवनप्रास, हजमोला, तेल, मन्जन, जुसलगायत सामग्री बरामद गरी नष्ट गरिएको हो । बजार अनुगमनको सूचना पाएर ब्रदर्सका प्रोपराइटर कृष्ण मल्लले केही अखाद्य सामग्री गाडीमा राखेर ४ किमि टाढा बोहरागाउँ पु¥याएको भेटिएको थियो । टोलीले बोहरागाउँ पुगेर चाउचाउ, बिस्कुटलगायत सामग्री पनि नष्ट गरेको प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । लकडाउनका कारण बिक्री गर्न नपाउँदा खाद्यवस्तुको म्याद नाघेको सञ्चालक मल्लले दाबी गनुभयो ।
भेरी नगरपालिका–४ का वडाध्यक्ष खम्बजंग शाहका अनुसार जुन पसलमा अनुगमन गरियो, त्यसैमा ठूलो परिणाममा अखाद्य वस्तु भेटिन्छ । व्यवसायीले म्याद नाघेका खाद्य वस्तु बिक्री गरी उपभोक्ताको स्वाथ्यमा खेलवाड गरिरहेका उहाँको भनाइ छ ।
अनुगमन टोलीले शान्तिचौतारास्थित गोरख रावतको खाद्य पसलबाट पनि ठूलो परिणाममा बिस्कुट, दाललगायत सामग्री बरामद गरी नष्ट गरेको छ । रावतको गोदाममा पनि सिल गरिएको टोलीले जनाएको छ ।
सदरमुकाम खलंगाबाट सुरु अनुगमनलाई जिल्लाभर पु¥याइने प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । भारी मात्रामा सामग्रीको मुल्य व्यापारीले बढाउदा समस्य समेत भएको छ ।










