हेलिकोप्टरबाट औषधि उपल्लो डोल्पामा

उपल्लो डोल्पा- उपल्लो डोल्पाका विभिन्न गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेको झन्डै तीन साता बित्यो । औषधि माग गरेको १० दिनपछि मात्र त्यहाँ औषधि पुगेको छ ।

नोम्यडस क्लिनिकले हेलिकप्टर चार्टरको भाडा व्यहोरेपछि काठमाडौंमा थन्किएको औषधि र अन्य स्वास्थ्य सामग्री डोल्पा पुर्‍याइएको हो । अल्टिच्युड प्रोजेक्टको आर्थिक सहयोगमा किनिएका २ सय ३० किलो औषधि, २ वटा अक्सिजन कन्सन्ट्रेटर २ सय थान कोरोना परीक्षणको एन्टिजेट किट माथिल्लो डोल्पामा पुगेको छ । त्यस्तै, हिक्यापबाट प्राप्त स्वास्थ्य उपकरण पनि हेलिकप्टरमार्फत शे–फोक्सुन्डो र डोल्पोबुद्ध गाउँपालिका पुर्‍याइएको डोल्पा जनजाति केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेले बताए । उनका अनुसार ढुवानीमा समस्या भएपछि एक सातादेखि विभिन्न औषधि र उपकरण काठमाडौंमा थन्किएको थियो ।

शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पुर्‍याइएको स्वास्थ्य सामग्री विभिन्न गाउँमा पठाइने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार टुल्कु च्यारीरेबल फाउन्डेसनबाट प्राप्त ८ सय थान हेपाटाइटिस बीको औषधि पनि दुई गाउँपालिकामा पुगेको हो । ५ लाख ५० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर चार्टर गरिएको भोटेले बताए ।

कर्णाली प्रदेश सरकारलाई आवश्यक सामग्री ढुवानी र औषधि व्यवस्थापनका लागि सहयोग गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले बताए । ‘सामग्री जुटाइसक्दा पनि उपल्लो डोल्पा पुर्‍याउन ठूलै सकस पर्‍यो,’ उनले भने, ‘जसोतसो औषधि आएको छ, अब केही होला भन्ने आशामा छौं ।’

उपल्लो डोल्पाका शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा एउटै लक्षणका बिरामी छन् । ती बिरामीलाई स्थानीय स्वास्थ्य संस्थामा भएको औषधि प्रयोग गर्दा सुधार नभएपछि थप औषधिको माग गरिएको थियो । तर प्रदेश र संघीय सरकारले बेवास्ता गरेपछि विभिन्न संघसंस्थाले उपल्लो डोल्पाका लागि औषधि र उपकरण जुटाएका हुन् । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार बिरामीहरू घरघरै थलिएका छन् ।

उनीहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको उनले बताए । उनले पहिलो पटक उपल्लो डोल्पामा एन्टिजेज किट पुगेको जानकारी दिए । ‘यसअघि यहाँ कसैको पनि कोरोना परीक्षण भएको छैन,’ उनले भने, ‘किट आयो, अब परीक्षणलाई तीव्रता दिन्छौं ।’ दुई साताअघि डोल्पोबुद्ध गाउँपालिकाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।





error: Content is protected !!