विपन्नलाई सुपथमा खाद्य -उपभोक्ता कार्डले सेवा सुुविधा वितरण न्यायोचित

रुकुम पश्चिम ः चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षदेखि थालिएको यो पसल यो वर्ष पनि सञ्चालनमा छ । कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्रीवितरण गरिरहेको हो । हेरक मगंलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण गरेका छन् ।

नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बेचिरहेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै त्यस्तै व्यवस्था गरेको हो । १ देखि ९ नम्बर वडा सम्मका लागि २ नम्बर वडाको सेवानजिकै खाद्य सामग्री बिक्रीवितरण केन्द्र तोकिएको छ । १० देखि १४ नम्बर वडाका सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ । यी पसलबाट दुई खाले मूल्य निर्धारण गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ ।

नगरपालिकाबाट उपभोक्ता लिएकाहरूले चामल प्रतिकिलो ५०, चिनी प्रतिकलो ७० र खाने तेल प्रतिलिटर २ सय २० रुपैयाँ किन्न पाइरहेका छन् । उपभोक्ता कार्ड नपाएकाहरूले भने चामल प्रतिकिलो ५५, चिनी ८० र तेल प्रतिलिटर २ सय ३० रुपैयाँमा किन्न पाइरहेका छन् । केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो । कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो । गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो । राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो । त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरूअरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक कामकाज, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ । ९ नम्बरका चित्रबहादुर बोहराले नगरपालिकाले उपभोक्ता कार्ड बनाएर सेवा सुुविधा वितरणमा न्यायोचित काम गरिरहेको बताए । कार्ड वितरणका लागि नगरपालिकाले हरेक वडाका सर्वसाधारणका बारेमा बुझेको थियो । सोही आधारमा आफूहरूले कार्ड पाएको र नगरपालिकाको सेवा सुविधा पाइरहेको बोहराले बताए । ‘यसले हामीलाई राहत भएको छ नै,’ उनले भने, ‘नगरलाई पनि सजिलो भइरहेको होला भन्ने हामीले बुझेका छौं ।’

चौरजहारीका नगरप्रमुख विशाल शर्माले विपन्न परिवारको सहजताका लागि सुपथ मूल्य पसल सञ्चालन गरिरहेको बताए । असजिलो र अप्ठ्यारो समयमा जनतासित सरकार हुनुपर्ने भएकाले नगरपालिकाले त्यो कोसिस गरिरहेको नगरप्रमुख शर्माको भनाइ छ । नगरवासीका निम्ति बनेको सरकारले नगरवासीलाई त्यसको प्रत्याभूति दिलाउनुपर्ने भन्दै चौरजहारी नगर सरकार त्यसका लागि निरन्तर लागिरहेको नगरप्रमुख शर्माले बताए ।





error: Content is protected !!