कर्णालीबासी भन्छन् – ‘यार्चामा बन्देज लाग्दा हाम्रो पेट खोसियो’

जाजरकोट ः बारेकोट गाउँपालिका–५, नायकबाडाका रामबहादुर सिंह कोरोना महामारी हुन्थेन भने यतिबेला डोल्पाका पाटनमा यार्चा टिपिरहेका हुन्थे । वैशाख र जेठ महिनामा टिप्ने यार्चाबाटै उनी वर्षभरिको लागि रोजिरोटीको जोहो गर्थे ।

तर गत वर्ष र यस वर्ष कोरोना महामामारीको कारण उनी पाटन जान पाएनन् । उनलाई परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।
यार्चाबाट परिवारको आर्थिक गुजारा चलाउने सिंहजस्तै कर्णालीबासी अहिले ठूलो चिन्तामा छन् । डोल्पाका पाटनमा मात्र विगत वर्षमा करिब २० हजारदेखि ३० हजारसम्म व्यक्ति यार्चा टिप्न जाने गर्दथे । गत वर्ष यार्चा टिप्न नपाएका उनीहरु यस वर्ष कोरोना कम भएकोले पाटन खुल्नेमा ढुक्क थिए ।

वैशाख १० गतेदेखि डोल्पाका पाटनमा यार्चा संकलन खुलासमेत गरिसकिएको थियो । तर, कोरोनाको दोस्रो लहर बढेसँगै यार्चा संकलनमा प्रतिबन्ध लगाइयो । ‘लेकमा ज्यानको बाजी लगाएर टिपेको यार्चा बेचेर घर–व्यवहार चलाइन्थ्यो, कोरोनाले लेक जान दिएन,’ उनले भने, ‘कमाइको अरु स्रोत छैन, कसरी गुजारा गर्ने हो चिन्तामात्र लाग्छ ।’

पछिल्लो समय यार्चाबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयबासीले मजदुरीको लागि भारत जानसमेत छोडेका थिए । अहिले यार्चाको लागि पाटन र मजदुरीको लागि भारत जाने बाटो बन्द भएपछि रोजिरोटीको चिन्ताले सताउन थालेको नलगाड नगरपालिका–३, कट्केका प्रताप चुनाराले बताए । आकाशेपानीको भरमा खेती हुने उनको जग्गामा उब्जेको अनाले मुस्किलले ३ महिनालाई खान पुग्छ । परिवारका कसैको पनि रोजगारी छैन । ‘यार्चा टिप्न पाटन जाउँ भने सरकारले रोकिदिन्छ, भारत जाउँ भने कोरोनाले काम पाइँदैन,’ उनले भने, ‘हामीजस्ता गरिबलाई कोरोनाले दिनुसम्म दुस्ख दिएको छ ।’

विशेषगरी उपल्लो डोल्पाका मुकोट, धो, फोक्सुन्डो, तिन्जे, खर्क, सालटाङ र मिजेर गाउँका बासिन्दाको आम्दानीको मुख्य स्रोत यार्चा हो । शिक्षक र विद्यार्थीसमेत पाटन जाने हुँदा यार्चा टिप्ने सिजनमा डोल्पा, जाजरकोट, जुम्ला, मुगुका कतिपय विद्यालय बन्द हुने गर्दथे । यार्चा बेचेरै एउटा परिवारले ६० हजारदेखि ६ लाख रुपैयाँसम्म कमाउँथे । डोल्पोबुद्ध गाउँपालिकाका पेमा गुरुङ पछिल्लो समय कृषि–व्यवसाय छोडेर यार्चामा बढी निर्भर हुन थालेका सो क्षेत्रका स्थानीयलाई गुजारा गर्नै मुश्किल हुने बताउँछन् । ‘यार्चा बेचेर अनाज किन्ने हामीहरुलाई अब के गरेर पेट पाल्ने भइसक्यो,’ उनले भने, ‘कोरोनाले त हाम्रो पेट खोसेको छ ।’

डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा लामाका अनुसार यहाँका मान्छेलाई घरको आम्दानीले ६ महिनालाई पनि खान पुग्दैन । यार्चा नबेचे गुजारा चल्दैन । ‘अन्यत्रका मान्छेले जस्तो भारत गएर काम गर्ने गरेका छैनन्,’ उनले भने, ‘जनतामाथिको यो संकट कसरी टार्ने भन्ने चिन्ताले हामीलाई पनि सताएको छ ।’

डोल्पाको स्थानीयबासीले यस वर्ष पाटन खुला गर्नको लागि सम्बन्धित सरकारी निकायसँग आग्रह गरेका थिए । त्यही भएर वैशाख १७ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १० गतेदेखि यार्चा संकलन खुला गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमण बढेको भन्दै उक्त निर्णय बदर गरियो ।

यसबाट डोल्पाका पाटनमा बर्सेनि यार्चा टिप्न जाने व्यक्ति प्रभावित भएका ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले बताए । जनताको मागअनुसार यार्चा संकलन खुला गर्ने निर्णय भए पनि कोरोना महामारीले पुनस् बन्देज लगाइएको उनको भनाइ छ । ‘जिल्लामा कोरोना संक्रमण बढेर आयो, लेकमा गएका एक जनालाई मात्र कोरोना भयो भने अवस्था भयावह हुने देखियो,’ उनले भने, ‘त्यसैले पाटन खुला गर्ने निर्णय कार्यान्वयन गर्न सकिएन ।’

जाजरकोटका कतिपय व्यक्तिहरु यार्चा टिप्न नपाएपछि मजदुरीको लागि भारत जाने पर्खाइमा छन् । तर कोरोनाको लहर कम नहुँदा कहिले जाने भन्ने अन्योल उत्तिकै देखिन्छ । ‘गाउँघरमा काम पाइँदैन, यार्चा टिप्न पनि पाइएन,’ चुनाराले भने, ‘अब कोरोना घटेपछि भारत जाने हो, त्यो पनि कहिले भन्ने ठेगान भएन ।’

यार्चामा संकलनमा प्रतिबन्ध लगाए पनि कतिपय स्थानीयबासी लुकिछिपी पाटनमा पुगिसकेका छन् । गाउँपालिका र प्रशासनले कडाइ गरेपछि मुगुका पाटनबाट केही मान्छे फर्किनसमेत थालेका छन् ।

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले पाटन खुला गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले प्रतिवन्ध लगाए पनि अवैध रुपमा मान्छेहरु गइरहेका बताए । ‘यार्चा जनताको आम्दानीको प्रमुख स्रोत भए पनि कोरोनाको डरले प्रतिवन्ध लगाउन बाध्य छौं,’ उनले भने, ‘तैपनि पाटनमा लुकिछिपि गइरहेका खबर आएको छ ।’





error: Content is protected !!