महामारीमा अस्पतालको क्यान्टिनमा कमाउ धन्दा ः पानी तताएको ५०, दालभातको तीन सय रुपैयाँ ?

राजु लामिछाने 
रुकुम पश्चिम – रुकुम पश्चिमको सल्लेमा रहेको जिल्ला अस्पतालभित्र सञ्चालित चमेना गृह (क्यान्टिन) मा कालोबजारी हुने गरेको बिरामीहरूले गुनासो गरेका छन् । कोरोना महामारीका बेला स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मौका छोपी क्यान्टिनमा गुणस्तरहीन र महँगो दरमा खाना र पानी दिने गरेको बिरामीहरूले बताएका छन् ।

कोरोना सङ्क्रमित एक बिरामीका आफन्तले बाहिरका होटेल, पसल बन्द भएको मौकामा अस्पतालभित्रको क्यान्टिनले कमाउ धन्दा चलाएको आरोप लगाउनुभयो । एक प्लेट चना र एउटा अण्डाको ९० रुपैयाँ तिर्नुपरेको बताउँदै उहाँले त्यही नास्ता बजारमा ३० रुपैयाँ बढी नपर्ने बताउनुभयो ।

‘अस्पतालभित्र सञ्चालित क्यान्टिनमा पोसिलो खाना तथा नास्ता, झोलिलो खानेकुरा, तातोपानीको व्यवस्था हुनुपर्ने हो’, उहाँले भन्नुभयो, ‘क्यान्टिन सञ्चालकले एक लिटर पानी तताएको समेत ५० रुपैयाँ लिँदा रहेछन् ।’ उहाँका अनुसार नाममात्रको दाल र भातको एक छाक तीन सय रुपैयाँ असुल्ने गरिएको छ । तर बजारमा एक सय २० रुपैयाँमा क्यान्टिनको भन्दा बढी स्वादिष्ट र गुणस्तरीय खाना पाइन्छ ।

युवा नेता नरेन्द्र विकले कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको यस अस्पताल परिसरको क्यान्टिनमा कुनै पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन हुने नगरेको बताउनुभयो । आइसोलेशनमा रहेका बिरामीलाई भेट्न गएर आउने आफन्त, कुरुवा निर्वाध रूपमा खाना तथा नास्ता खान आउने गरेको, सतर्कता नअपनाएको, क्यान्टिनको खानारनास्ता गुणस्तरहीन रहेको उहाँको गुनासो छ । क्यान्टिनसँगै जोडिएको प्रतिक्षालयसमेत सङ्क्रमणको अर्को डरलाग्दो ठाउँ भएको युवा नेता विकको भनाइ छ ।

यस विषयमा जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीले तत्कालै क्यान्टिनको अनुगमन गरेर व्यवस्थापन गरिने बताउनुभयो । गुनासो आउनेबित्तिकै अस्पताल प्रशासनले काम थालेको उहाँको भनाइ रहेको छ ।





error: Content is protected !!