सुर्खेतमै अक्सिजन प्लान्टदेखि, बिरामीलाई हेलिकोप्टरबाट उद्वारसम्म

सुर्खेत ः कर्णाली प्रदेश सरकारले प्रदेशभर आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अस्क्सिजन प्लान्ट सुर्खेतमै स्थापना गर्ने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्टसहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्ने भएको हो।
त्यस्तै, कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गर्ने निर्णयसमेत गरेको छ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरु डोल्पा, मुगु र हुम्लामा संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको बताए। उनले भने, ‘यी जिल्लाहरुमा उपचार सम्भव नभएका संक्रमितलाई कोरोना विशेष अस्पतालमा लिएर उपचार गर्छौँ।’
उक्त संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण अस्पताल० जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्याइनेछ। सरकारले निजी सेवाप्रदायक कम्पनीका हेलिकोप्टर चार्टर गर्ने प्रदेश सरकारले जनाएको छ। त्यस्तै मन्त्रिपरिषद्को बैठकले संक्रमित बिरामीको उद्धारका लागि सरकारले एक करोड बजेट छुट्याएको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख र रेम्डिसिभिर लगायतका औषधि खरिदका लागि एक करोड बजेट छुट्याइएको छ।
उक्त सबै स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णयसमेत भएको प्रदेश सकारले बताएको छ।



