एकाएक स्वाब परीक्षणको बिल आएपछि स्थानीय तह चकित

हेमन्त केसी
जाजरकोट –  चौरजहारी नगरपालिका रुकुम पश्चिमले आरटी÷पीसीआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएको बिल एकाएक पालिकामा पुगेपछि स्थानीय तह चकित परेका छन् ।

सुरुमा परीक्षण गर्दा कुनै खालको सम्झौता नगरेको चौरजहारी नगरपालिकाले स्वाब परीक्षण गरेवाफत एकाएक लाखौको विल पठाएपछि आफूहरु चकित परेको भेरी नगरपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । कार्यपालिकाको वैठकमा सो रकम कसरी तिर्ने भन्ने विषयमा छलफल भएपनि अस्वीकृत भएको उहाँले बताउनुभयो ।
यो प्रयोगशालामा परीक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम ,सल्यान, जाजरकोट र रुकुम पूर्वका पालिकालाइ एक करोड ६१ लाख ७२ हजार रुपैयाँको बिल चौरजहारी नगरपालिकाले पठाएको छ ।

चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सरकारले तोकेको मापदण्ड अनुसार रकम दिनुपर्ने बताए । सरकारले नै तोकेको पैसा मागेको हो अरु होइन , अव नयाँ स्वाबको प्रतिव्यक्ति रु १ हजार वुझाएपछि मात्र परीक्षण हुँने बताउनुभयो । कर्णाली प्रदेश सरकारले मेसिन खरिदका लागि मात्र पैसाँ पठाएको तर स्वाब परीक्षणका लागि भएको खर्च नपठाएको उहाँले बताउनुभयो ।

तत्कालिन अवस्थामा सरकारले पीसीआर परीक्षणको लागि प्रति व्यक्ति दुई हजार रुपैयाँ तोकेको र चौरजहारी नगरपालिकाबाहेकका अन्य १४ पालिकाबाट त्यही दरमा रकम माग गरिएको अधिकृत केसीले बताउनुभयो ।
आरटी÷पीसीआर परीक्षण प्रयोगशाला चौरजहारीमा गएको वर्षको असार अन्तिम हप्तादेखि पुस मसान्तसम्म प्रयोशालामा १० हजार पाँच सय ९४ जनाको स्वाब परीक्षण गरेको थियो । जसमध्ये चौरजहारी नगरपालिकाका मात्र दुई हजार पाँच सय आठ वटा थियो भने अन्य पालिकाका आठ हजार ८६ स्वाब परीक्षण भएको थियो ।

चौरजहारी नगरपालिकाबाहेकका अन्य पालिकाको स्वाब परीक्षण शुल्क प्रति स्वाब दुई हजारका दरले एक करोड ६१ लाख ७२ हजार रुपैयाँ हुन आउँछ । चौरजहारी नगरपालिकाबाहेक रुकुम पश्चिमका पाँच, जाजरकोटका पाँच, सल्यानका तीन र रुकुम पूर्वका एक पालिकाबाट पीसीआर परीक्षणको शुल्क उठाउन बाँकी रहेको अधिकृत केसीले बताउनुभयो । चौरजहारी नगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार पीसीआर परीक्षण गराएकाहरूमा जाजरकोटको भेरी नगरपालिकाका एक हजार दुई सय २२, शिवालय गाउँपालिकाका सात, छेडागाड नगरपालिकाका तीन सय ६२, जुँनिचाँदे गाउँपालिकाका सात सय ६ र नलगाड नगरपालिकाका सात जनाको पीसीआर परीक्षण गरिएको थियो ।

रुकुम पश्चिमकै मुसिकोट नगरपालिकाका एक हजार एक सय ५४, आठबीसकोट नगरपालिकाका एक हजार चार सय २०, सानीभेरी गाउँपालिकाका एक हजार १७, त्रिवेणी गाउँपालिकाका आठ सय चार, बाँफिकोट गाउँपालिकाका पाँच सय ३८ जना रहेका छन् ।

त्यसैगरी सल्यानको कुमाख गाउँपालिकाका तीन सय दुई, सिद्धकुमाख गाउँपालिकाका २३ र दार्मा गाउँपालिकाका पाँच सय २३ जनाको पीसीआर परीक्षण गरिएको थियो भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनाको पीसीआर परीक्षण चौरजहारी प्रयोगशालामा गरिएको थियो ।

सुर्खेतमा परीक्षण गरेको शुल्क लाग्दैन

जाजरकोटबाट सुर्खेत परीक्षणका लागि पठाएको स्वाबको जाँच गरे वाफत कुनै रकम नलाग्ने गरेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो । पूर्व सम्झौता ,सहमती केही नभएर एक्कासी बिल पठाउदा आफू चकित गरेको उहाँको भनाइ छ । अहिले पछिल्लो समय चौरजहारीको प्रयोगाशालामा स्वाब संकलन गरेर नपठाउन बन्द गरिएको उहाँले बताउनुभयो ।





error: Content is protected !!