ल्यापटप तात्तिने समस्या छ ः यसरी आफैंले गर्नुहोस् समाधान

काठमाडौं ः अहिलेको समयमा अध्ययनदेखि कार्यालयको कामका लागि ल्यापटपको निकै प्रयोग भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण थुप्रै मानिसहरुले घरबाटै अफिसको काम गरिरहेका छन् ।

यस्तोमा ल्यापटप धेरै जसो समय अन भएर बस्छ र तात्ने समस्या देखिन थाल्छ । लामो समय काम गर्दा त झन् अत्याउने गरेरै ल्यापटप गरम भइरहेको हुन्छ ।

त्यसो त कुनै पनि इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दा अलिकति त तात्नु स्वभाविक नै हो । तर निकै तात्ने अवस्थामा भने यो निकै खतरनाक सावित पनि हुनसक्छ ।

त्यसैले ल्यापटपमा काम गर्दाको समयमा ओभर हिट हुन नदिन आज हामी तपाईंलाई केही टिप्स दिँदै छौं । जसले तपाईंलाई ल्यापटप धेरै तात्ने समस्याबाट पक्कै पनि मुक्ति पाउन सघाउने छ ।

१- ल्यापटपलाई सफा राख्नुहोस्
लामो समय काम गर्दा ल्यापटप धेरै तात्न नपाओस् । यसका लागि हरेक दुई तीन दिनमा सफा र नरम कपडाले राम्रोसँग सफा गर्नुहोस् ।

यसको साटो ल्यापटप क्लिनर ब्रसबाट समेत ल्यापटपको फोहोर हटाउन सक्नुहुन्छ । यस बाहेक ल्यापटपको स्मुथ फंसनिङका लागि त्यसमा रहेका अनावश्यक तथा अतिरीक्त एप्लिकेसन अनइन्स्टल गरिदिनुहोस् ।

ल्यापटपको मेमोरी फुल हुँदा ल्यापटप तात्ने मात्र होइन प्रोसेसरमा भार पर्न गई स्लो हुने समस्या समेत पैदा हुने गर्दछ ।

२- ल्यापटपको ब्याट्री
कतिपय समय ल्यापटपको ब्याट्रीका कारणले पनि ल्यापटप तातिरहेको हुन्छ । यदि ल्यापटपको ब्याट्रीले राम्रोसँग काम गरिरहेको छैन भने चार्जमा लामो समयसम्म राख्ने गरिन्छ अथवा भनौं हरपल ल्यापटप चार्जमा लगाएरै चलाउनुपर्ने हुन्छ ।

लामो समय चार्ज गर्दा ब्याट्री तात्न पुग्छ र त्यसले ल्यापटपमा ओभर हिट उत्पन्न गराउँछ । यस्तोमा ल्यापटपको ब्याट्री खराब भएको छ भने त्यसलाई परिवर्तन गर्न कञ्जुस्याई नगर्नुहोस् ।

३- ल्यापटप सही स्थानमा राख्नुहोस्
अफिसमा हुनुहुन्छ भने त ल्यापटप सधैं डेक्स वा कम्प्युटर टेबलमै रहने गर्दछ । तर आजकल मानिसहरु घरबाट काम गरिरहेका छन् ।

यस्तोमा हामी कतिपय समय त्यसलाई काखमा राखेर चलाइरहेका हुन्छौं । तर यसरी ल्यापटप प्रयोग गर्नु गलत तरिका हो ।

प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टीबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप प्रयोग गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।

त्यसैले लामो समयसम्म काम गर्नुछ भने ल्यापटपलाई सही स्थानमा राख्नुहोस् ता कि त्यसको एयर भेन्टिलेसन सही रहन सकोस् र सीपीयूको फ्यानलाई आवश्यकमात्रामा हावा प्राप्त हुन सकोस् ।

४- कुलिङ फ्यानलाई सफा राख्नुहोस्
ल्यापटपमा कुलिङ फ्यान हुने गर्दछ । ल्यापटप प्रयोग गरिरहँदा यो फ्यान राम्रोसँग चल्न आवश्यक छ ।

तर कुलिङ फ्यान प्रयोग गर्दै जाँदा धूलो माटोबाट फोहोर हुन थाल्दछ र राम्रोसँग चल्न सकिरहेको हुँदैन । जसले गर्दा त्यसले ल्यापटपमा आवश्यक मात्रामा कुलिङको काम गर्न सकिरहेको हुँदैन ।

त्यसैले ल्यापटपमा ओभर हिट पैदा हुन नदिन कुलिङ फ्यानलाई समय समयमा सफा गर्नुहोस् । यदि कुलिङ फ्यानले राम्रोसँग काम गरिरहेको छैन भने त्यसलाई मर्मत सम्भार गर्नुहोस् ।

५- ल्यापटप शट डाउन गर्न नबिर्सिनुहोस्
यदि दिन रात ल्यापटपलाई अन राख्नुहुन्छ भने ल्यापटप धेरै नै तात्ने गर्दछ । दिउँसोको समयमा काम गरिसकेपछि ल्यापटपलाई आराम दिन नबिर्सिनुहोस् ।

यदि केही लामो ब्रेक लिइरहनु भएको छ भने त्यसलाई स्लिप मोडमा राखिदिनुहोस् । सुत्ने समयमा ल्यापटपलाई शट डाउन गर्ने बानी बसाल्नुहोस् ।





error: Content is protected !!