बहुमत पुर्‍याउन विपक्षी दल कसरतमा, देउवाले बोलाए पदाधिकारी बैठक

दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि कसरत थालेका छन् । सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न आव्हान गरेपछि विपक्षी दलहरुले आफ्नो गठबन्धनमा बहुमत पुर्‍याउने कसरत थालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारका विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । दिउँसो ३ बजे बुढानिलकण्ठ स्थित देउवा निवासमा पार्टीका पदाधिकारी र पुर्वपदाधिकारीहरुको बैठक बोलाइएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिन अर्थात् बैशाख ३० गते बिहीबार राति ९ बजेसम्मको अवधि तोकेकी छिन् । देउवाले मंगलबार पार्टीका नेताहरुसँग औपचारिक छलफल गरेपछि बुधबार अन्य दलहरुसँग छलफल गर्ने भएका छन् ।

श्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनाल समूहसँग पनि बहुमतको सरकार गठनका लागि छलफल गरिरहेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष यादवले वैकल्पिक सरकार गठनका लागि आव्हान गरेका थिए । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो समूहले ओलीको विकल्पमा गठन हुने सरकारमा सहभागी नहुने भनेपछि विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन कठिन देखिएको छ ।

कांग्रेस सभापति देउवाले सिंगो जसपा सामेल भएमात्र बहुमतको सरकार गठन गर्न सकिने बताएका छन् । श्रोतका अनुसार देउवाले ठाकुरसँगको भेटका क्रममा पनि सिंगो जसपालाई लिएरमात्रै बहुमतको सरकार गठन गर्ने बताएका थिए । ठाकुरले पनि जसपालाई वैकल्पिक सरकार बनाउने नाममा विभाजित नगरी दिन आग्रह गरेका थिए । तर, जसपाभित्रको विभाद सोमबारै छताछुल्ल भइसकेको छ ।





error: Content is protected !!