प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्न– तपाईंले विश्वास नगरेको सदनले तपाईंलाई कसरी विश्वास गर्ने ? सम्झाए विगतको अभिव्यक्ति

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले सदनको विश्वासको मत मागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सोमबार प्रतिनिधिसभा बैठकमा भने, ‘प्रधानमन्त्रीले आज त्यो सदनसमक्ष विश्वासको मत माग्नुभएको छ, जुन सदनलाई असंवैधानिक तरिकाले विघटन गर्नुभएको थियो । जनता सडकमा आए, नागरिक सडकमा आए । राजनीतिक दलहरू सडकमा आए । सर्वोच्चले पुनस्र्थापना गरिदियो । एउटा बैठकमा यो सदनको कामै छैन, यो आवश्यकता नै छैन यसलाई जतिचाँडो हटाइदिउँ भन्नुभएकै संसदमा यहाँ आज विश्वासको मत माग्नुभएको छ । जुन संसदमाथि यहाँको खुद विश्वास छैन । त्यो संसदमा यहाँले विश्वासको अपेक्षा कसरी गर्नुहुन्छ ? कसरी मत लिने ?

यादवले मधेसमाथि प्रधानमन्त्री केपी ओलीले गरेको टिप्पणी संसदमा सम्झाएका छन् । उनले भने, ‘अहिले मधेसीहरूलाई फकाउन खोज्दै हुनुहुन्छ । समथर भूमि देख्नेबित्तिकै मधेस भन्नुहुन्छ, युपी–बिहारतिर मधेस छ भन्नुहुन्छ । युपी–बिहार नै फेरि देखाइरहनुभएको छ कि रु मधेस नेपालको अभिन्न अंग हो । युपी–बिहार मधेस होइन । मधेस आन्दोलन हुँदाखेर सबैभन्दा बढी तुलनात्मक रूपले मानिसहरू मारिएका छन् । गोली लागेका छन् । जुन वेला संविधान निर्माणका वेला यहाँ प्रधानमन्त्री भएका वेला हो । त्यतिवेलै सबैभन्दा धेरै मुद्दा लागेका छन् । त्यतिवेलै लागेको मुद्दामा जेलनेल भोगिरहेका छन् । त्यतिवेला यहाँको अभिव्यक्ति थियो– दुई–चारवटा आँप झरिरहेका छन् । त्यही आँप खुवाउनुहुन्छ अहिले मधेसीहरूलाई ?





error: Content is protected !!