जिल्ला अस्पतालमा कोभिड उपचारमात्रै

रुकुम पश्चिम ः जिल्ला अस्पतालमा अब कोरोना संक्रमितको मात्रै उपचार गरिने भएको छ । लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना संक्रमितको उपचार गरिन लागेको हो । यसअघि केही बेडमा मात्रै संक्रमितको उपचार भइरहेको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालय, स्टोर, आयुर्वेदिक शाखा, अस्पताल व्यवस्थापन समितिको कार्यालय, कार्यकक्ष सबैमा कोरोना संक्रमितको उपचारका लागि शय्या मिलाउन थालिएको हो ।

ती ठाउँमा सञ्चालित कार्यालयलाई केही समय बाहिरै राखेर सञ्चालन गरिने बताए । ‘फरकफरक ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्दा समस्या आउने देखियो,’ उनले भने, ‘अब संक्रमितलाई उपचार र हेरचाह गर्न पनि सजिलो हुनेछ ।’

अहिले झन्डै डेढ दुई किमिको दूरीका दुई ठाउँमा कोरोना संक्रमितलाई राखिएको छ । यसअघि जिल्ला अस्पताल र र मुसीकोट नगरपालिकाले भाडामा लिएको निजी अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिएको थियो । नियमित तथा अरू रोगका बिरामीको उपचार भने नगरपालिकाले भाडामा लिएको भवनमा गर्ने जिल्ला अस्पतालका डा राजकुमार भुजेलले बताए । उनका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले डाक्टर तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ । ‘अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो,’ उनले भने, ‘यसअघि दुई ठाउँमा कोरोना संक्रमित राखे पनि डाक्टर तथा स्वास्थ्यकर्मीको पनि अभाव देखिएको थियो ।’

अहिले जिल्ला अस्पतालमा आठ शय्याको आइसोलेसन सञ्चालनमा छ । अब कोरोना संक्रमितको उपचारका लागि मात्रै आइसोलेसनसहित जिल्ला अस्पतालभित्र ७२ शय्या हुनेछन् । अस्पतालले एम्बुलेन्स र शववाहन पनि खरिद गर्ने तयारी गरेको डा। भुजेलले बताए । अहिले जिल्ला अस्पतालको एम्बुलेन्स छैन । जिल्लाभरि नै शववाहन छैन । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अस्पतालमा पुगेर स्वास्थ्य सेवा कार्यालयको बैठकमा अपुग स्रोतसाधन पूर्ति गर्न र बिरामीको उपचारमा सजिलो बनाउन निर्देशन दिएका छन् । हालसम्म जिल्लामा पाँचजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । करिब ३ सय जनामा संक्रमण पुष्टि भएको छ ।





error: Content is protected !!