अक्सिजन प्लान्ट जडान हुँदै

रुकुम पश्चिम ः जिल्ला अस्पताल सल्लेमा अक्सिजन प्लान्ट जडान गर्न अक्सिजन उत्पादन गर्ने मुख्य मेसिन शनिबार ल्याइएको छ । ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने)  क्षमताको मेसिन अस्पताल आइपुगेको हो ।

कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँमा मेसिन ल्याइएको र जडानको काम भइरहेको बायोमेडिकल इन्जिनियर सौभर सिजापतीले बताए । उनका अनुसार अब पाइप लाइनको काम बाँकी छ । ‘अक्सिजन प्लान्ट जडानको आधा काम सकिएको छ, अब केही दिनमै अक्सिजन उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम मात्र बाँकी छ ।’

लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग पनि चर्कोसँग उठेको थियो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडान गर्न पहल थालेको छ । जिल्ला समन्वय समिति प्रमुख प्रमुख राजकुमार शर्माका अनुसार सबै स्थानीय तहमा कम्तीमा २० वटा आइसोलेसन बेड तयार गर्ने योजना छ । चौरजहारी अस्पतालमा १ सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय भएको छ ।

हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको काम भएको उनले बताए । प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, र जिल्ला अस्पताल प्रमुखको उपस्थितिमा यस्तो निर्णय भएको हो । ‘तत्कालका लागि स्थानीय तह, प्रदेश र संघबाट बजेट जुटाएर काम गर्नेछौं,’ प्रतिनिधि सभा सदस्य शर्माले भने, ‘कोरोना महामारी नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट समन्वय गर्नु अहिलेको आवश्यकता पनि हो ।’




सम्बन्धित समाचार


error: Content is protected !!