रामभरोसा – कोरोना महामारी भयावह बन्दै

नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ । यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नु/गराउनुपर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ ।’

शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए । शुक्रबार (१७ वैशाख) दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् । सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् ।

‘सबै अस्पतालले अब कस्ता अवस्थाका बिरामी मात्रै भर्ना गर्ने भन्ने योजना बनाउनुपर्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा. अनुप बास्तोलाले भने, ‘स्वास्थ्यमा सुधार देखिएको छ भने त्यस्ता बिरामी रिपोर्ट नेगेटिभ नआउँदासम्म बेडमा राखिरहनुपर्दैन । औषधि र काउन्सिलिङ गरेर घर पठाई अर्को गम्भीर बिरामीलाई भर्ना गर्नुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना लिन थालेका छौँ ।’

सरकारले उपलब्ध सबै स्रोत–साधन महामारी नियन्त्रणमा लगाउनुपर्ने डा. बास्तोलाले बताए । ‘राजधानीमा मात्रै निजी–सरकारी गरेर हजारौँ बेड छन् । कोभिड अस्पतालबाहेक सबै अस्पताल अहिले खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने ।

यसपटक सरकारी अस्पताललाई मात्रै कोरोना संक्रमितको उपचार गर्न बाध्यकारी व्यवस्था गरिएको छ । ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । जब कि गत वर्ष निजी अस्पताललाई समेत कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन थियो । देशभरका सरकारी अस्पतालमा करिब सात हजारको संख्यामा मात्रै बेड छन् ।

उपत्यकाका सरकारी अस्पतालमा कोरोनाका लागिसम्म एक हजार एक सय ३२ शड्ढया तयार छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार साँझसम्म सात सय ६९ शय्या भरिएका छन् ।

उपत्यकाका तीन निजी अस्पताल ग्रान्डी, ह्याम्स र नेपाल मेडिसिटीले पनि संक्रमितको उपचार गरेको तथ्यांक मन्त्रालयमा पठाएका छन् । यी अस्पतालमा कोरोनाका लागि छुट्याएका बेडभन्दा एक सय एक बढी बिरामी भर्ना छन् । तीनवटै अस्पतालमा गरेर ६४ आइसोलेसन बेड छन् भने शुक्रबारसम्म एक सय ६५ बिरामी भर्ना गरिएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार सरकारी अस्पतालमा एक सय ३८ र निजी अस्पतालमा ७५ आइसियू बेड छन् । शुक्रबार ८० जना सरकारी र ४५ जना निजी अस्पतालका आइसियूमा उपचाररत छन् । त्यस्तै, सरकारी अस्पतालमा ८५ र निजीमा ४१ भेन्टिलेटर कोरोनाका लागि छुट्याइएका छन् । शुक्रबार सरकारीमा ४८ र निजी अस्पतालमा १९ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमण नियन्त्रणका लागि सरकारले आवश्यकताअनुसार निजी अस्पतालको जनशक्तिदेखि उपकरणसम्म प्रयोग गर्न सकिने बताए । ‘आवश्यकताअनुसार आइसियू, भेन्टिलेटर, बेडलगायत उपकरणदेखि जनशक्तिसम्म सरकारले उपयोग गर्छ,’ उनले भने । त्यस्तै, विगतमा आइसोलेसन, क्वारेन्टिन बनाइएका खरिपाटी, आयुर्वेद रिसर्च सेन्टर कीर्तिपुर, वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई पनि तत्काल उपयोगमा ल्याउने सचिव अर्यालको भनाइ छ ।

देशभर रहेका ६ सय ४९ आधारभूत अस्पतालमा पाँच बेडका दरले तीन हजार दुई सय ४५ बेड थप गरिने पनि सचिव अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले देशभरका निजी मेडिकल कलेजसँग कोरोनाका लागि पनि बेड छुट्याउन सम्झौता गर्न थालेको छ ।

२४ घण्टामा ३३ को मृत्यु, ५७७ जना संक्रमित

पछिल्लो २४ घन्टा देशभर कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । बिहीबार मात्रै ३५ संक्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर पाँच हजार सात सय २७ नयाँ संक्रमित देखिएका छन् । १५ हजार तीन सय ९१ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन् ।

संक्रमितको पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार एक सय ८७ पुगेको छ । शुक्रबार नौ सय २८ निको भएसँगै निको हुनेको संख्या दुई लाख ८१ हजार ९५ पुगेको छ । हालसम्म पिसिआर परीक्षण २४ लाख ७३ हजार नौ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार आठ सय १३ र क्वारेन्टिनमा ५५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढिरहेको छ ।
त्यसैबीच खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड– १९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणका क्रममा शुक्रबार बिहान संक्रमण

पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले बताए । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनको बिहीबार स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोभिड– १९ को संक्रमण भएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत छन् ।

दुई महिना सबै जुटेर लडौँ : डा. अनुप बास्तोला

हामी अत्यन्तै गम्भीर मोडमा उभिएका छौँ । अघिल्लो वर्षको तुलनामा यसपटक तीव्र गतिमा संक्रमण फैलिएकाले तत्काल रोक्न सक्ने सम्भावना देखिँदैन । तर, सरकारले लकडाउन सुरु गरेको छ । यहीबीचमा आमनागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा अबको दुई महिनामा केही केस घटाउन सकिन्छ कि भन्ने आशा जागेको छ । अबका दुई महिना सबै जुटेर लडौँ । यो हाम्रो लागि मात्रै होइन, हाम्रो पुस्ताकै लागि खराब समय हो ।

अहिले निजी होस् कि सरकारी, कुनै अस्पतालले पनि नाफा नहेरौँ । भएका स्रोत–साधनको समुचित प्रयोग गरौँ । जनशक्ति व्यवस्थापनमा लागौँ । बेडहरू सधैँ प्याक हुँदैनन् । बेड भरिने, खाली हुने क्रम भइरहन्छ । व्यवस्थापन बेडको होइन भिडको गर्नुपर्ने छ ।

कस्ता बिरामी भर्ना गर्ने भन्ने योजना अब सबै अस्पतालले बनाउनुपर्छ । अक्सिजन दिएर राखेका बिरामीको स्वास्थ्यमा सुधार छ भने बेडमा राखिरहनुपर्दैन । अर्को गम्भीर बिरामीलाई भर्ना गर्ने र सुधार भएकालाई काउन्सिलिङ गरेर घर पठाउनुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना गरिरहेका छौँ ।

निजी–सरकारी गरेर हजारौँ बेड राजधानीमा मात्रै छ । कोभिड अस्पतालबाहेक सबै अस्पताल खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ । सबै जुटेको खण्डमा क्षति हँुदैन, जुट्न सकेनौँ भने ठूलो क्षति व्यहोर्नुपर्छ ।

सरकारले जनताको जीवनलाई होइन, मूर्तिलाई महत्व दियो : डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्

काेरोना महामारी अहिलेको अवस्थामा पुग्छ भनेर उहिलेदेखि जनस्वास्थ्यविज्ञहरूले सजग गराउँदै आएका थिए । तर, सरकारले वास्ता गरेन । बरु, विभिन्न जात्रा प्रदर्शन गर्‍यो । सरकार र दलहरूले सभा–सम्मेलन गरेर असंवेदनशीलताको पराकाष्ठा देखाए । जनस्वास्थ्यविज्ञहरूले भएभरका जात्रा र सार्वजनिक कार्यक्रमलाई नगर्न/कम गर्न सुझाब दिँदा पनि सरकार र दलहरूले टेरेनन् । नेपालमा मात्रै होइन, भारतमा पनि त्यहाँका दलहरूले यस्तै असंवेदनशीलता देखाए ।

अहिले अस्पतालको मात्रै समस्या होइन, जनस्वास्थ्यको चासोको विषय पनि हो । यो अवस्था आउनुमा सरकार सबैभन्दा बढी जिम्मेवार छ । यसअघिका विभिन्न सरकारको पनि दोष छ । यस्ता विपत् आउँदा मन्त्री वा नेतालाई होइन, आमनागरिकलाई बढी क्षति हुन्छ, दुख्छ । नेता वा मन्त्रीले त समस्या प¥यो भने विभिन्न उपाय अपनाइहाल्छन् नि ! गरिब, मजदुर र मध्यम वर्गीय नागरिक पो मारमा पर्छन् ।

देश महामारीको चपेटामा छ, तर सरकार करोडौँ रुपैयाँ मठ–मन्दिरमा चढाइरहेको छ । अर्बौँ रकम धरहरामा खर्च गरेको छ । यस्तो सरकारको नेतृत्व गरिरहेका नेताहरू पछि जनतासँग के भनेर भोट माग्न आउँछन् होला ? तत्कालको आवश्यकतालाई नजरअन्दाज गरेर यसरी खर्च गर्नु भनेको सरकारको मूर्खता र राजनीतिक स्वार्थीपना हो ।

जनस्वास्थ्यविज्ञहरूले पटकपटक सचेत गराउँदा पनि प्रधानमन्त्रीजस्तो व्यक्ति आफैँ अफवाह फैलाउँदै हिँड्नुभयो । ‘नेपालमा अन्तको जस्तो कोरोना महामारी हुँदैन, केही हुँदैन भनेर प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले मूर्खताको पराकाष्ठा प्रदर्शन गरे । अहिले अवस्था जटिल बनेपछि अस्पतालमा बेडको व्यवस्था गर्न सक्दैन भनेर सरकारले निकम्मापन देखाएको छ । सरकारको विज्ञप्ति देखेर निःशब्द हुने अवस्था आएको छ । जन्मिएको दश दिनपछि आमाले बच्चालाई ‘बाँच्न मन लाग्छ भने बाँच, मर्न मन लाग्छ भने मर’ भनेर बाटोमा छाडिदिएकोजस्तै अवस्थामा सरकारले नागरिकलाई पुर्‍याएको छ ।

नेपालमा कोरोना महामारीको पहिलो चरण सुरु भएको करिब एक वर्षभन्दा बढी समय भयो । यसबीचमा सरकारले पर्याप्त अक्सिजनको व्यवस्था गर्न सक्थ्यो । अस्पतालमा बेडको उचित प्रबन्ध मिलाउन सक्थ्यो । खुला सिमाना भएको छिमेकी भारतबाट फर्किएका आफ्ना नागरिकलाई कसरी, कहाँ व्यवस्था गर्ने भनेर क्वारेन्टिन वा आइसोलेसनको व्यवस्था गर्न सक्थ्यो । विभिन्न सञ्चारमाध्यमको प्रयोग गरेर सर्वसाधारणमा सचेतना फैलाउन सक्थ्यो । अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको तयारी गर्न सक्थ्यो । तर, काम केही नगरेर सयौँ अस्पताल उद्घाटन गरेको भनेर हल्ला मात्रै फिँजायो ।

सरकारले पैसा वा स्रोत नभएर अहिलेको अवस्था आएको होइन । नेतृत्वकर्ताको मूर्खताका कारण यति गम्भीर विषयलाई बेवास्ता गरिएको हो । आमनागरिकको स्वास्थ्यलाई प्राथमिकतामै राखिएन । महामारीमा स्वास्थ्य पूर्वाधार निर्माणभन्दा पशुपतिमा करोडौँको सुनको गजुर राख्न महत्वपूर्ण ठान्यो । नागरिकको जीवनभन्दा राम–सीताको मूर्तिलाई प्राथमिकतामा राख्यो । यसको मारमा हामी आमनागरिक परेका छौँ ।

यस्तो गैरजिम्मेवार सरकार सायद पञ्चायती व्यवस्थामा पनि थिएन होला । महामारीको समयमा जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको गैरजिम्मेवारपनको इतिहासमा लिखत रहनेछ । भावी पुस्तालाई यस्तो निकम्मा सरकार पनि थियो भनेर एउटा महत्वपूर्ण उदाहरण हुनेछ । कोरोना त सधैँभरि रहनेछैन । केही समयपछि वा केही वर्षपछि यो कम हुँदै जानेछ । तर, सरकारले नागरिकमाथि गर्न सक्ने यो हदको हेलचेक्र्याइँ भने फेरि पनि दोहोरिन सक्छ । भावी पुस्तालाई यसबारे जानकारी दिइरहनुपर्छ ।

आज सरकारले निकालेको विज्ञप्तिले संविधानमा प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारको उल्लंघन गरेको छ, धज्जी उडाएको छ । दास प्रथाका शासकहरूको कथा सुन्दा आज जस्तो महसुस हुन्छ, केही वर्षपछि सायद अहिलेका शासकहरूको कथा त्योभन्दा पनि कारुणिक सुनिनेछ ।

प्रदेश सरकारहरूको कमजोरीसमेत छताछुल्ल भएको छ । मैले पछिल्लो एक वर्षमा देशका धेरै ठाउँमा पुगेर त्यहाँका स्वास्थ्य संस्थाबारे बुझ्ने अवसर पाएँ । नेपालगन्ज, धनगढीलगायत सहरको अवस्था हेर्दा धान्दैन भन्ने लागेको थियो । त्यस विषयमा हामीले राज्यलाई भन्यौँ पनि । नभन्दै अहिले त्यस्तै अवस्था आएको छ । यद्यपि, भारतको जस्तो अवस्थामा हामी अझै पुगिसकेका छैनौँ । त्यहाँको सरकारले मृतक र संक्रमितको आँकडा लुकाएको भन्ने खबर आइरहेका छन् । यहाँ पनि त्यो अवस्था आयो भने के होला भनेर कल्पना गर्नसमेत डर लाग्छ ।

हाम्रोजस्तै आर्थिक अवस्था भएका कतिपय मुलुकले समयमै जनस्वास्थ्यका मापदण्डप्रति ध्यान दिएकै कारण कोरोना महामारीबाट त्यति ठूलो क्षति व्यहोर्नुपरेको छैन । जस्तो कि श्रीलंका । त्यहाँको अवस्था हाम्रोजस्तो छैन । मानिसको मृत्यु नहुने भन्ने होइन, तर अस्पताल नपाएरै ज्यान गुमाउनु भनेको दुःखद अवस्था हो ।





error: Content is protected !!