हिमाल हेर्दा जति सुन्दर छ डोल्पा, त्यति सुन्दर छैन डोल्पालीको दैनिकी (फोटो फिचर)

हेमन्त न्यौपाने
जाजरकोट ः चिसो मौसममा डोल्पामा प्रायः प्रकृतिले नै नाकाबन्दी गर्ने गर्दछ । यस मौसममा यहाँका नागरिकले सोचेको र आँटेको काम गर्नु त परै जाओस्, गाउँघरमै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि गाह्रो छ ।

उपल्लो डोल्पाका सर्वसाधारणलाई त झनै गाह्रो । आवश्यक खाद्यान्न, लत्ताकपडादेखि अधिकांश दैनिक अत्यावश्यकीय सामग्रीहरु पनि आयातीतमै भर पर्नुपर्ने विडम्बना डोल्पाको छ । यहाँका नागरिक यतिबेला घरभित्रै थुनिएर बस्नेबाहेकको अर्को विकल्प छैन । घरबाहिर हिउँ परेको छ, आगो र न्यानो कपडाको भरमा भरभित्रै बस्नुपर्दछ ।

गर्मी याममा समेत ज्यान तताउन मुस्किल पर्ने यहाँका बासिन्दालाई चिसो मौसममा कष्ट हुनु त सामान्य नै हो । यसैले यतिखेर उनीहरुलाई घरबाहिर निस्किनै मुस्किल पर्ने गर्दछ । हुनत डोल्पालीको यो दैनिकी अकस्मातको होइन, यो याममा वर्षेनी आउँछ । तर पनि उनीहरुको यो मौसम भने एक किसिमले भन्दा प्रकृतिले नै नाकाबन्दी लगाएजस्तो अवस्थाको हुन्छ । दैनिक बाक्लो कपडा लगाएर यो हिमपातको मौसमभरि नै घरभित्रै थन्किनुपर्ने अवस्थामा छन् डोल्पाली ।

बिरामी हुँदा गाउँमा स्वास्थ्य संस्था नहुँदा सदरमुकाम दुनै आउने बाटो नै अवरुद्ध हुने गर्दछ । यसरी बिरामी हुँदा नै बाटो नपाएपछि यहाँका नागरिक यो याममा हरेक वर्ष प्रकृतिको नाकाबन्दीमै रहने गर्दछन् । उपल्लो डोल्पाका सर्वसाधारणहरु कति मर्कामा परेका होलान् भन्ने कुराको कुनै लेखाजोखा पनि छैन ।

स्थानीय सरकारका प्रमुखहरु विकास गर्न समेत प्रकृतिले नदिएको भन्दै पीडा पोख्छन् । तिब्बतसँग सिमाना जोडिएको उपल्लो डोल्पा कठिन भू–बनोट भएको क्षेत्र पर्दछ । अग्ला हिमाल, त्यसमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि दिनभर हिँड्नुपर्ने बाध्यता यहाँका नागरिकको दैनिकीजस्तै हो । गाउँमा बिरामी हुँदा आम्ची बोलाएर उपचार गर्नुपर्ने भगवानको भरोसामा यहाँका मानिसहरु जीवनयापन गरिरहेका छन् ।

सदरमुकाम दुनै पुग्नका लागि तीन दिनदेखि सात दिनसम्म नै हिँड्नुपर्ने बाध्याले पाँच महिनासम्म यहाँका बालबालिकाले सबै खालका खोपहरुसमेत नपाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

फापर, उवालगायतका बालीहरु यहाँ उत्पादन हुने गर्दछ । घरमा पालिएका पशु चौपायबाट उपल्लो डोल्पामा खाद्यान्नलगायत वस्तुहरु ढुवानी हुने गर्दछ । आफैँले उत्पादन गरेको अन्नले १२ महिना नपुग्ने हुँदा यहाँ आयातीत अन्नबाट उपल्लो डोल्पावासीको पेट भरिने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

हिमालहरु हेर्दा उपल्लो डोल्पा जति सुन्दर छ त्यति सुन्दर दैनिकी छैन । हिमालजस्तो हाँसिरहेको जीवन डोल्पामा पाउन मुस्किल छ । यहाँका नागरिक भने सधैँ जीविकोपार्जनकै दुःखमा छन् । विकासका नाममा डोल्पाको सदरमुकामबाट केही घण्टा हिँडेपछि भेटिने जुफाल विमानस्थल र पटकपटक समस्या आइरहने जैरीगाड जलविद्युत् आयोजना हुन् ।

अर्को डोल्पाको मुख्य पहिचान भनेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र शे–फोक्सुण्डो ताल हो । तिब्बतबाट अहिले उपल्लो डोल्पामा सडक खन्ने काम शुरु गरी केही भागमा पुर्याएको छ । खुल्ला सिमाना नभएका कारण सडक पुगे पनि तिब्बतबाट पाउने सेवासुविधा उपल्लो डोल्पावासीको सहजै पहुँच पुग्ने देखिँदैन । भदौ महिनामा १५ दिनसम्म मात्र हाटबजारका लागि भनेर चीन र नेपालको दुवै सिमाना खुल्ला गरिन्छ । त्यो पनि वर्षमा एकपटक मात्र खुल्ला हुने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएका ऐतिहासिक गुम्बाहरु उपल्लो डोल्पामा छन् । यहाँ भएका वस्तुहरु संरक्षण गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी हुनुपर्ने सर्वसाधारणहरुको माग छ ।





error: Content is protected !!