उपभोक्ताको लगानीमा ९ सय घरमा बिजुली

रुकुम पश्चिम ः त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका उपभोक्ताको लगानीमा सिम्रुतुखोला जलविद्युत् आयोजना निर्माण भएपछि ९ सय घरमा बिजुली बलेको छ । साविक रुँघा, खारा, मुरु, पेउघा र भलाक्चा गाविसका उपभोक्ताले विद्युत् उत्पादनका लागि प्रतिघर १५ देखि ३० हजार संकलन गरेका थिए ।

विद्युत् उत्पादनका लागि नगद संकलन गरी काम थालेका उपभोक्तासँग पछि सरकारले पनि हातेमालो गरेको थियो । उपभोक्ता र सरकारको हातेमालोपछि २ सय २६ किलोवाट विद्युत् उत्पादन भएको छ । अधिकांशको घरमा बिजुली बलेको छ । साविकका रुँघा, खारा, पेउघा तथा मुरु गाविस अहिले त्रिवेणी गाउँपालिकामा परेका छन् भने भलाक्चा मुसीकोट नगरपालिकामा पर्छ । यी गाउँका स्थानीय मिलेर सिम्रुतुखोलामा विद्युत् बालेका हुन् ।

यसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, प्रदेश तथा स्थानीय सरकारसमेत मिलेपछि विद्युत् उत्पादनले पूर्णता पाएको हो । झन्डै ९ सय घरमा बिजुली बल्न थालेको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण ओलीले बताए । उनका अनुसार अरू घरमा विद्युत् विस्तारको काम भइरहेको छ । त्रिवेणी गाउँपालिकाको १, २, ४, ५, ६ र ७ तथा मुसीकोट नगरपालिकाका ११ र १२ नम्बर वडामा बिजुली बलेको उनले जानकारी दिए । २ नम्बर वडाको बेदखोलामा बिजुली बाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजनामा प्रतिघरबाट १५ देखि ३० हजार रुपैयाँ संकलन गरिएको छ । करिब २ करोड रुपैयाँको श्रमदान उपभोक्ताले गरेको अध्यक्ष ओलीले बताए । उनका अनुसार आयोजनामा अहिलेसम्म १० करोड रुपैयाँ खर्च भएको अनुमान छ । पोल गाड्ने र तार टांग्ने केही काम बाँकी रहेकाले पूरा खर्च विवरण सार्वजनिक नगरिएको उनले बताए ।

ढिलै भए पनि बिजुली बाल्न पाएकोमा खुसी लागेको त्रिवेणी गाउँपालिका–१ की मनसरा ओलीले बताइन् । ‘पैसा लगानी गरेर पनि बत्ती बाल्न पाइन्न कि भन्ने लागेको थियो,’ उनले भनिन्, ‘ढिलै भए पनि बत्ती बल्यो खुसी छौं ।’





error: Content is protected !!