अघि बढेन नयाँ सहर निर्माण आयोजना

रुकुम पश्चिम ः नयाँ सहर निर्माण आयोजना थालिएको ९ वर्ष भइसक्दा पनि अझै अधिकांश काम अलपत्र छन् । आयोजनाअन्तर्गत जिल्लामा पहिलो नयाँ सहर चौरजहारीको घारीगाउँमा बसाल्ने भनिए पनि जग्गा विकासलगायत काम समयमै नहुँदा आयोजनाले गति लिन सकेको छैन ।

जग्गा विकासका लागि आवश्यक प्रक्रिया पूरा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइए पनि ढिलो गरी स्विकृत हुँदा आयोजनाका अधिकांश काम अलपत्र छन् । आयोजना प्रमुख धीर फडेराका अनुसार पहिलो चरणमा घारीगाउँको ६ सय रोपनी जग्गामा नयाँ सहर बनाइनेछ । ‘त्यसका लागि स्थानीयवासीसमेत सहमत भइसकेका छन्,’ उनले भने, ‘परामर्शदाताले बनाएको ब्लक प्लान भर्खरै स्विकृत भएको छ, अब कामले गति लिन्छ ।’ मन्त्रिपरिषद्ले स्वीकृतिमा ढिलाइ गर्दा र पर्याप्त बजेट नआउँदा काममा समस्या भएको उनको भनाइ छ ।

जग्गा विकासका लागि स्थानीयले यसअघि नै आयोजनाका नाममा मञ्जुरीनामा दिइसकेका छन् । ब्लक स्वीकृत भएपछि जग्गा विकासका काम गर्न आवश्यक प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ । नयाँ सहरका लागि सडक, बत्ती, सौर्य ऊर्जा, नाला, खेल मैदानलगायत निर्माणको काम यसै वर्ष सुरु गरिने फडेराले बताए । ‘जग्गा टुक्र्याउने तथा अरू व्यवस्थापनको काम गर्न धेरै बजेटको आवश्यकता छ,’ उनले भने, ‘तर थोरै बजेट विनियोजन हुँदा काममा समस्या भयो ।’

चौरजहारीमा आयोजनाले थालेका धेरै काम अधुरा भएपछि स्थानीय भने रुष्ट छन् । केही निर्माण कम्पनीले गरेको कामको भुक्तानी नपाएको फडेराले सुनाए । यो वर्ष नयाँ सहर आयोजना कार्यालयका लागि ११ करोड मात्र बजेट आएको छ । तर निर्माणाधीन सडक कालोपत्रको योजना सक्न १९ करोड बजेट आवश्यक पर्ने इस्टिमेट छ ।





error: Content is protected !!