टावर बन्यो, नेटवर्क आएन

जाजरकोट ः नेपाल टेलिकमले शिवालय, जुनीचाँदे र बारेकोट गाउँपालिकामा चैतमा जडान गरेका टेलिफोन टावरले काम नगर्दा स्थानीय बासिन्दा टेलिफोन सेवाबाट वञ्चित छन् । टेलिकमले तीनवटै गाउँपालिकामा टुजी र फोरजी मोबाइल सेवा सञ्चालन गर्ने गरी टावर निर्माण गरे पनि नेटवर्क छोडेको छैन ।

चैतमा नयाँ टावर निर्माण भएसँगै तीनवटै गाउँपालिकामा मोवाइल टेलिफोन सेवा विस्तार भएको प्रचार भयो । तर नेटवर्कले काम नगरेको स्थानीयको गुनासो छ । ‘फोन नियमित भएन, कहिलेकसो टावर देखाउँछ,’ बारेकोट–८ का लोकराज विकले भने, ‘तर फोनै लाग्दैन ।’ उनका अनुसार नयाँ टावर बनेको एक साता मात्र मोबाइल नेटवर्कले नियमित काम गर्‍यो । रिपिटर टावरको व्यवस्थापन नहुँदा बारेकोटमा बनेको टावरले काम नगरेको उनको भनाइ छ ।

रुकुमको घेत्मा टावरले बारेकोट–५ रतनकोटको टावरलाई नेटवर्क रिले नगर्दा टेलिफोन नियमित नभएको नेपाल टेलिकमले जनाएको छ । घाम नलाग्दा ब्याट्रीको पावर सकिएर मोबाइल सेवा अनियमित भएको टेलिकम जाजरकोटका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताए । ‘सोलार साइडको टावरमा कहिलेकाहीं ब्याट्री डाउनको समस्या हुन्छ,’ उनले भने, ‘केही दिनयता घेत्माको मुख्य टावरमा समस्या आउँदा पनि मोबाइल सेवा अवरुद्ध भएको हो ।’

एक महिनादेखि सञ्चारविहीन

कुशे गाउँपालिकामा पनि झन्डै एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कुशे–८ लाँताचुलीमा स्काई मोबाइल टावर मर्मत नहुँदा र नयाँ टावर निर्माणमा ढिलाइ हुँदा स्थानीयबासी टेलिफोन सेवाबाट वञ्चित भएका हुन् ।

लाँताचुली टावरमा पावरको समस्या हुँदा उक्त मोबाइल सेवा अवरुद्ध भएको हो । मोबाइल नेटवर्क नहुँदा कुशेका बासिन्दा सञ्चार सुविधाविहीन भएको कुशे–७ नारेका चित्रबहादुर शाहीले बताए । उनका अनुसार टेलिफोन सेवा नहुँदा विभिन्न सरकारी सेवा प्रवाहसमेत अवरुद्ध भएका छन् । ‘फोन सम्पर्क गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीलाई त फोन गर्नकै लागि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ ।’

कुशे–८ थलीमा निर्माणाधीन टावर ५ वर्षदेखि अलपत्र हुँदा स्थानीयले फोनकै लागि सास्ती भोगिरहेका हुन् । लाँताचुली टावरमा सोलार ब्याट्रीले काम नगर्दा मोबाइल सेवा सुचारु गर्न समस्या भएको टेलिकमका निमित्त प्रमुख भण्डारीले बताए । उनका अनुसार पुरानो ब्याट्रीमा पावर सञ्चय नहुँदा मोबाइल सेवा नचलेको हो । ‘लाँताचुलीको स्काई मोबाइल टावर मर्मत नभएसम्म कुशेमा फोन सेवा सुचारु हुन समस्या छ,’ उनले भने, ‘थलीमा टावर निर्माणका लागि पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारलाई जिम्मा दिइएको छ, ६ महिनाभित्र टावर निर्माण गर्ने गरी ठेकेदारले सम्झौता गरेका छन् ।’

सदरमुकाममा उस्तै सास्ती

सदरमुकाम खलंगाका सेवाग्राही पनि मोबाइल नेटवर्क गइरहने समस्याले आजित बनेका छन् । इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या छ ।

टेलिकमको टावरबाट एकरडेढ किलोमिटर दूरीमा पनि नेटवर्क नहुने समस्या रहेको स्थानीय प्रकाश शाहीले बताए । ‘मोबाइलमा फोन गर्दा सम्पर्क हुन सकेन भन्ने मात्र सुनिन्छ,’ उनले भने, ‘सदरमुकाममै मोबाइल नेटवर्कको हालत यस्तो छ, गाउँमा झन् कस्तो होला रु’ उनले इन्टरनेट सेवा कमजोर हुँदा पनि सास्ती भोग्नु परेको बताए । खलंगास्थित थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्यानपुरलगायत टोलमा नेपाल टेलिकम मोबाइल सेवाको गतिलो पहुँच छैन । टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत नगर्दा स्थानीयले सास्ती भोगिरहेका हुन् । टेलिकमको सेवा प्रभावकारी नहुँदा महंगो शुल्क तिरेर एनसेल मोवाइल प्रयोग गर्नुपरेको शाहीले बताए ।

टावर क्षमताभन्दा मोबाइलकर्ताको संख्या बढी हुँदा नेटवर्कको समस्या हुने गरेको टेलिकमका निमित्त प्रमुख भण्डारीले बताए । उनका अनुसार जाजरकोटमा मोबाइल प्रयोगकर्ताको संख्या झन्डै ४५ हजार छ । ‘केही ठाउँमा बढी प्रयोगकर्ता हुँदा र केही टावरमा नियमित विद्य्त् ुसञ्चालन नहुँदा समस्या भएको हो,’ उनले भने, ‘रानागाउँ र काजीबाडा टावर क्षेत्रमा सोलार राख्ने ठाउँ नहुँदा नियमित पावरको व्यवस्था हुन सकेको छैन ।’ उनले दुईवटा टावरबाट बिजुली आए मात्र नेटवर्क छोड्ने गरिएको बताए ।

समुद्र सतहदेखि ३५ सय मिटर उचाइका अग्ला लेकमा टावर निर्माण गर्न सके खलंगा आसपासका सबै स्थानमा नेटवर्कको पहुँच पुग्ने भण्डारीले जनाए । उनका अनुसार कार्यालयमा इन्जिनियर र अन्य प्राविधिकको पदपूर्ति नहुँदा पनि फोन र इन्टरनेट अनियमित बनेको छ ।





error: Content is protected !!