मासिँदै सल्लेरी वन

जाजरकोट ः सामुदायिक वन उपभोक्ता समितिले मनपरी रूपमा सल्लाका रूख काट्दा र जथाभावी खोटो संकलनको अनुमति दिँदा जिल्लाको वन क्षेत्र मासिँदै गएको छ । अवैध खोटो संकलन र मनोमानी ढंगले सल्लाका काठ बिक्री गर्दा वन विनाश बढेको हो ।

करिब ५ वर्षयता वन उपभोक्ता समिति र व्यापारीको मिलेमतोमा सल्लाघारीको विनाश बढिरहेको स्थानीय बासिन्दाको आरोप छ । करोडौं मूल्यका सल्लाका रूख धमाधम फडानी भई ओसारपसार भए पनि सम्बन्धित निकाय बेखबर बनेको स्थानीय युवा राजेश केसीले बताए । उनका अनुसार शिवालय गाउँपालिका, छेडागाड र भेरी नगरपालिकामा वैज्ञानिक वन व्यवस्थापनका नाममा सल्लाघारी मास्ने क्रम बढेको छ । ‘कारबाही गर्ने निकाय मौन हुँदा दिन प्रतिदिन सल्लाको दोहन बढिरहेको छ,’ उनले भने, ‘सल्लाको खोटो जथाभावी निकाल्दा पनि वन क्षेत्र मासिएको हो ।’

स्थानीयका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनबिना नै सामुदायिक वनमा फडानी भएको छ । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका वनले झन मनोमानी गरिरहेका छन्,’ उनले भने, ‘संरक्षणको सट्टा जथाभावी रूखहरू कटानी हुँदा प्राकृतिक प्रकोपको जोखिम बढेको छ ।’

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई उपभोक्ता समितिले कमाइ खाने भाँडो बनाएको भेरी नगरपालिका–३ का कमानबहादुर खड्काले बताए । उनका अनुसार कार्यक्रम लागू भएका वनहरूले सडेको र सुकेको रूख कटान गर्ने निहुँमा जथाभावी वन विनाश गरिरहेका छन् । ‘अन्दाधुन्द खोटो निकाल्दा र काठ निकासी गर्दा वन मासियो,’ उनले भने, ‘सदरमुकाम र व्यापारिक केन्द्र आसपासका एउटै वनमा २/३ सय सल्लाका गिन्टा भेटिन्छन् ।’ जंगल फाँडेर ल्याइएका सल्लाका हजारौं ‘गिन्टा’ छेडागाडको मनघाटलगायत ठाउँमा थुपारिएको उनले बताए । सामुदायिक वनको कार्ययोजनमा ढलेका रूखको व्यवस्थापन गर्ने भनिए पनि उपभोक्ता समितिका पदाधिकारीले आर्थिक प्रलोभनमा परी जथाभावी रूख काट्न लगाउने गरेको उनको आरोप छ ।

सामुदायिक वन उपभोक्ता समितिले भने नियमअनुसार नै कटानी अनुमति दिइएको दाबी गर्दै आएका छन् । ‘कार्ययोजनामा जति रूख काट्ने अनुमति छ, त्यहीअनुसार वन व्यवस्थापन हुन्छ,’ बारेकोट गाउँपालिका–४ स्थित ढोटाचौर सामुदायिक वन समूहका अध्यक्ष वीरबहादुर शाहीले भने, ‘कार्ययोजनाबिना हामीले जभाभावी गर्न मिल्दैन ।’





error: Content is protected !!