गुरुयोजना तयार हुन नसक्दा चन्दननाथ मन्दिरको शोभा छेक्दै

–विजय रावत

जुम्ला (रासस)ः कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ ।

मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले तीन तला बन्दा मन्दिर पूर्ण रुपमा छेकिएको छ । पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ । जसका कारण सदरमुकाम खलङ्गा नै अशोभनीय देखिन्छ ।

भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् । “एक्कासी पाँच तले भवन बनाउने भन्दै तीन तलाको काम शुरु भएपछि मात्र थाहा भयो”, गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भन्नुभयो, “कार्यालय भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । मन्दिरको सुन्दरता नै हराउने गरी निर्माण हुन लागेको भवनलाई राम्रो मान्न सकिन्न ।”

मन्दिर वरिपरिको घर एक तले मात्रै बनाउने परम्परागत चलन छ । पछि मन्दिर वरिपरि दुई तलासम्म भवन बनाउन पाउने व्यवस्था गरिएको थियो । पछिल्लोसमय व्यक्तिगत र सरकारी पक्षबाट मन्दिरको स्वरुपलाई नै ढाक्ने गरी भवन निर्माण हुन थालेको समितिका अध्यक्ष रोकायाले बताउनुभयो ।

मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् । अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको निर्माण कार्य भइरहेको छ । लागतअनुमान अनुसार भवन बहुउद्देश्यीय पाँच तलाको हुनेछ । पाँच तलाको भवन निर्माण भएपछि मन्दिरको सुन्दरता र शोभा हराएर मात्र जाने होइन, यसले मन्दिर ओझेलमा पर्न सक्ने उच्च सम्भावना रहेको स्थानीयवासी कविता शाहीले बताउनुभयो ।

अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्वबारे बोध गर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्र नगर्ने भनियो । तर, अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्र भइसकेको छ ।

चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भन्नुभयो, “अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।” यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासी तला बढेको मात्र थाहा हुने गरेको पूर्वअध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था र विश्वास धुमिल बनिरहेको छ । यो हाम्रो धार्मिक आस्था विपरीत कार्य हो ।” भवन निर्माण हुनुपूर्व गुठी समितिसँग कुनै छलफल र जानकारी नदिएको उहाँको भनाइ छ ।

चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासी बताउँछन् । भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने संस्कृतिका जानकार पूर्णसिंह कठायतको भनाइ छ । उहाँले भन्नुभयो, “मन्दिर सबैको आस्था र विश्वासको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन ।”

नेपाली भाषा–संस्कृतिको उद्गमस्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ । भूकम्प, दैवीप्रकोप भए भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति पुग्नसक्ने कठायतको भनाइ छ ।

चन्दननाथ गुठी समितिकका अनुसार यहाँ दैनिक करीब डेढसय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्न थालेको समितिले जनाएको छ । एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो ।

१९ करोड राजश्व सङ्कलन

जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा रु १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा रु ६ करोड आठ लाखले बढेर साढे १९ करोड सङ्कलन भएको छ ।

कर अधिकृत बस्नेतले भन्नुभयो, “चालू आवमा जुम्लामा रु २५ करोड ६० लाख १० हजार बराबर राजश्व सङ्कलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजश्व सङ्कलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”

जुम्लामा आन्तरिक राजश्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व सङ्कलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले बताउनुभयो । विगतका भन्दा व्यवसायी, उद्योगी करको दायरामा आउने क्रममा बढेको छ । प्यान नम्बर लिनेको सङ्ख्या पनि बढेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।





error: Content is protected !!