जुम्लाको ढिपु गाउँमा आगलागी, ३५ घर जले

जुम्ला – जुम्लाको तिला गाउँपालिका – ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।

वडा अध्यक्ष शेरबहादुर बोहोराका अनुसार मुल्ली गाउँका ७५ घर मध्ये ३५ घर जलेर नष्ट भइसकेका छन् । आगो नियन्त्रण बाहिर छ । गाउँमाा प्रयाप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले जनाए ।

आगलागी भएको ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन् । मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको छ ।

स्याउला संकलनका लागि एक दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने योजना बनाएका थिए । आगोले बस्ती खरानी बनाइसकेको वडाअध्यक्ष बोहोराले वताए । उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई उनले आग्रह गरे ।

आगलागी भएको खबर पाउने बित्तिकै तत्काल उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थलतिर पठाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिबार राति नै सदरमुकाम खलंगादेखि गएको प्रहरीको टोली आगलागी स्थलमा पुगेको छ । घटनास्थलमा पुग्न खलंगाबाट पाँच घण्टा लाग्छ । क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो ।





error: Content is protected !!