गोतामकोट पर्यटन र चित्रीपाटन

–के.बि.मसाल

नेपाल मात्रै होइन सन्सारभर फैलिएर रहेका गौतम अर्थात गोतामे र गौतम आजभोली आन्तरिक पर्यटक बन्दै पश्चिम रुकुमको गोतामकोट पुग्ने गरेका छन् । गौतम अर्थात गोतामे थर सबैको मुलथलो रुकुमको गोतामकोट हो । अहिले गोतामकोट कर्णाली प्रदेशको रुकुम जिल्लाको आठबीसकोट नगरपालिकामा पर्दछ । दुर्गम र विकट भए पनि गोतामकोट प्राकृतिक हिसाबले सुन्दर र रमणिय छ ।

पछिल्ला समय पर्यटनको बिट फराकिलो हुदै गएको छ । हिमाल पहाड र प्रकृतिसंग रमाउने पर्यटकहरु अहिले आफ्नो पुर्खाको थलोमा पुग्न थालेका छन् । गोतामकोट गौतमहरुको उदगम थलो हो । गोतामकोटमा गौतमहरुको उदगम थलो, अत्रि ऋषिको आश्रम, मालिका मन्दिर,चित्रीपाटन लगायत पर्यटकहरुका लागि घुमफिरका स्थलहरु छन् । गोतामकोटमा ७ सय वर्षदेखि गौतमहरु रहेको इतिहास छ  । पहाडी भेगमा पर्ने गोतामकोट गाउँमा सबै जातजातीका मानिसको बसोबास गर्दछन । जातीय विविधताका कारण गोतामकोटमा छुवाछुत प्रथा अन्त्य भइसकेको छ । कला सँस्कृतिकका दृष्टिले गोतामकोट संस्कृतिको धरोहर मानिन्छ । फरक–फरक जातिका फरक–फरक गाउँ भएकाले गोतामकोट पुग्ने पर्यटकहरु दंग पर्दछन् । अर्को तर्फ चित्रीपाटनबाट झर्ने छहराले पनि पर्यटकलाई आकर्षित गर्दछ ।

आठबीसकोट नगरपालिका–४ र ५ मा पर्ने गोतामकोट र सम्पेचौर पछिल्लो समय पर्यटनको लागि चर्चामा आएको छ । प्राकृतिक सुन्दरता, शान्त र स्वच्छ वातावरणका कारण गोतामकोटको जनजीवन हेर्न धेरै पर्यटक जान थालेका छन् । गौतमहरुको उदगम थलो र सम्पेचौर अत्रि ऋषिको आश्रयस्थल गोतामकोट पुगेपछि विशेष गरी गौतम थरका पर्यटकहरु पुग्ने गर्दछन् । आजभोली पर्यटनको बिकासको लागि दुवै ठाउँमा पूर्वाधारको विकास भएको छ । गोतामकोट गाउँ माथी माथिरीकोट, सुपाकोट, रिकोट, पानीकोट र मानाकोट नामका पहाड पर्दछ । गोतामकोट पुगेपछि पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउछत ।

भौगोलिकरुपमा डोल्पासँग जोडिएको गोतामकोट मनोरम र सुन्दर समथर उपत्यका छ । मिलेको गाउँ घर, अधिकांश मौलिक घर, खेतीयोग्य उर्वर भूमी गोतामकोटमा लोभ लाग्दा सम्पदा छन् । गाउँकै वरपर सुन्दर फाँट र मिलेका बस्ती, धार्मिक तथा प्राकृतिक सम्पदाले पनि गोतामकोट पर्यटकको लागि महत्वपूर्ण गन्तब्य मानिन्छ । गोतामकोटमा विभिन्न जातजातिका बेग्लाबेग्लै गाउँहरु छन् । गौतम गाउँ, कोटतिरुवा गाउँ, ठकुरी गाउँ, बिष्ट गाउँ, आरुखोला गाउँ, बाहुनगाउँ, टाँगे गाउँ, दमैबारा गाउँ, पानीकोट गाउँ, मानचौर गाउँ गोतामकोटका मुख्य गाउँहरु हुन् । अर्को तर्फ गोतामकोटमा छहरेखोला गाउँ, काथिना सार्कीबारा गाउँ, मिग्री गाउँ, रिम्का गाउँ, भण्डारी गाउँ लगायतका गाउँ रहेका छन् । त्यस्तै मुरीगाउँ, थापागाउँ, मगागाउँ आदिको पनि आफ्नै बिशेषता छ ।

गोतामकोटको पानीकोटमा २६ घरधुरी गौतम थरको मात्रै बसोबास छ । बाहिरबाट जाने गौतम र गोतामे थरका पर्यटकहरु गोतामकोट पुग्ना साथ गौतमहरुको बसोबास भएको गाउँको खोजीमा हुन्छन् । गौतमहरुको गाउँ पानीकोटमा पुगेपछि सबैको ध्यान फोटो खिच्ने र गाउँलेहरुसंग सोधखोज गर्ने काममा ब्यस्त हुन्छन् । पानीकोटका गौतमहरु आजभोली आफ्नो पूर्वजको थलो खोज्दै जाने पर्यटकहरुलाई गोतामकोटको बारेमा जानकारी दिन भ्याई नभ्याई छ । गाउँमा पुग्ने गौतम थरका पर्यटकहरुले पानीकोटका गौतमहरुलाई आमा, बुबा, भाई बहिनी, काका जस्ता शब्दले बोलाउदा र कुराकानी गर्दा पानीकोटका गौतमहरु रमाउछन् ।

पूर्वजको थलो हेर्न पुगेका गौतमहरु पानीकोटका गौतमका मौलिक घर, बस्तुभाउ बाधने गोठ, ढिकि जातो र कृषिमा प्रयोग हुने हलो जुवा र कोदालो पूर्वजको थलोमा देख्न पाउदा रमाउछन् । पर्यटक भएर बाहिरी जिल्लाबाट गोतामकोट पुग्ने गौतमहरुलाई पानीकोटका गौतमहरुले आफ्नो घरमा पाहुनाको स्वरुप बस्न आग्रह गर्दछन् ।

पर्यटकहरुलाई गोतामकोटमा मानचौर भन्ने गाउँमा तीर्थाटनका लागि धार्मिकस्थलहरु छन् भने टिमुर गाउँमा तत्कालीन समयमा राजाहरु बस्ने गरेको ऐतिहासिक गाउँ पनि रहेको छ । भूरे टाकुरे राजा रहेको बेला भण्डारी गाउँमा राजाको भण्डारा लगाउने गाउले पनि पर्यटकहरुलाई थप आकर्षण गराउछ । पर्यटनको बिकासको लागि गोतामकोटमा कृषि गाँउ बन्न लागेको छ । गोतामकोटको भू–भागलाई पहिले एकीकृत गर्ने र त्यसलाई विभिन्न क्लष्टरमा विभाजन गरी नमूनाको रुपमा विकास गरी गाउँमा पुग्ने पर्यटकहरुलाई आकर्षित गर्ने योजना नगरपालिकाको छ । कृषि गाँउमा फलफूलको हाईटेक नर्सरी, बाख्रा र भैंसीका लागि आधुनिक गोठ लगायतका संरचनाहरु बनाईदैछ । गोतामकोट गाउँको माथिल्लो छेउमा रहेको गैरापातलमा स्याउ र किबीको बगैँचाहरुले पर्यटकहरुलाई थप घुमफिरको स्थल बनेको छ ।

प्राकृतिक मनोरम खेतबारीमा आर्गानिक खेती, वरिपरि अग्ला पहाड देख्दा पर्यटकहरु रमाउछन् । पर्यटकहरले गोतामकोटको एकै ठाउँबाट धेरै गाउँको अवलोकन गर्न सक्दछन् । सुन्दा जति दुर्गम छ गोतामकोट पुग्दा त्यति नै मनोरम र सुन्दर पनि छ । गोतामकोटबाट ठूलो भेरी नदी बगेको दृश्य हेर्नुको मज्जानै छुट्टै छ । त्यहाँबाट भेरी नदी नागबेली आकारमा बगेको त देखिन्छ नै, सँगसँगै नदी तिरमा रहेको छोटे बगरको सुन्दर दृश्यले पर्यटकहरुका क्यामेरा क्लिक…क्लिक..हुन थाल्दछन् । गाउँको मौलिकता हेर्न चाहने पर्यटकका लागि गोतामकोट गाउँ पुग्नै हुन्छ । गोतामकोटमा ढुंगाले छाएका परम्परागत शैलीका घर निकै सुन्दर देखिन्छन् । घरमा लगाइएको रातो माटो र कमेराले घरहरुको सौन्दर्य शहर बजारमा जन्मे हुर्केको लागि अनौठो मानिन्छ । गोतामकोट र डोल्पासँग सिमाना जोडिएको अनाह ज्यूला फाँटमा अत्यन्तै धेरै उब्जनी हुन्छ । गोतामकोटको अनाह ज्यूला अन्नभण्डार मानिन्छ ।

आठविसकोट नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । ठूलोभेरी नदीको किनार राडीज्यूलामा नगरपालिकाको केन्द्र रहेको छ । राडीज्यूला आठविसकोट नगरपालिका र डोल्पा जिल्लाको लागि समेत व्यापारिक केन्द्र पनि हो । गोतनमकोटको बीचबाट घट्टेखोला बगेको छ । घट्टेखोला खोलामा सामूहिक घट्ट सन्चालनमा छन् । गोतामकोटका बासिन्दाले पालैपालो घट्टमा पिसानी गरेको देख्दा पर्यटकहरु आश्चर्य मान्दछन् । गाउँमा सामुदायिक तवरले घट्ट निर्माण भएको हुनाले पिसानी गर्दा कुनै शुल्क तिर्नुपर्दैन ।
गोतामकोटमा गौतमहरुको उद्गम थलो, अत्रि ऋषिको आश्रम, मालिका मन्दिर, चित्रीपाटनलगायतलाई जोडेर बृहत् पर्यटकीय क्षेत्र बनाउन पुर्वाधारको संरचना निर्माण भएको छ । पर्यटन लागि आत्रेऋषी आश्रम, मालिका मन्दिर चित्रेपाटन र गोतामकोटका नौ झरणा रमणिय ठाउँहरु पर्दछन । पदमार्गमा रेलिङ सहितको मार्गले पर्यटकहरुलाई यात्रामा सजिलो भएको छ । गोतामकोट गाउँदेखि मालिका मन्दिरसम्म ६ सय १३ वटा सिँढी सहितको पदमार्ग बनाइएको छ । ऐतिहाँसिक, साँस्कृतिक धार्मिक दृष्टीकोणले महत्वपूर्ण मानिएको गोतामकोटलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न मालिका मन्दिर निर्माण भएको छ । गोतामकोट देखी चित्रीपाटन सम्म पैदमार्ग निर्माण भएको छ ।

गोतामकोटमा अत्रि ऋषिको आश्रममा प्रत्येक वर्ष विशेष पूजामा हुने गर्दछ । बैशाख, साउन, कार्तिक र माघे पूर्णिमामा सम्पचौरको मन्दिरमा पुजाआजा हुने गर्दछ । अत्रि पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । मन्दिरमा गाईको दूध, चामल, फूलपाती मात्रै चढाउने गरिन्छ । पूजामा कालो वा रातो गाईको दूध मात्रै चढाउने गरिन्छ । अत्रि ऋषिको मन्दिरमा दूध चढाएको गाईका बहरले जोत्न मिल्दैन । मन्दिर आसपासको जंगलमा हसिया र बन्चरोले केहि काटन हुदैन । अहिलेसम्म कसैले पनि मन्दिर वरपरको जंगलका घाँस काटेका छैनन् । खडेरी पर्दा अत्रि ऋषिको मन्दिरमा पुजा गर्दा पानी पर्ने विश्वास छ ।

गौतमहरुको उदगमस्थल गोतामकोट पुग्न राडीज्युला, स्यालाखदी हुदै जानु पर्दछ । प्राकृतिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक, सामाजिक, भौगोलिक र ऐतिहासिक महत्व भएको गोतामकोट साँस्कृतिक हिसावले पनि महत्वपूर्ण रहेको छ । पश्चिम रुकुमको विविध संस्कृतिहरुले गोतामकोट पुग्ने पर्यटकहरुलाई थप अध्यन र मनोरञ्जन दिलाउछ । पश्चिम रुकुमको संस्कृति अन्य जिल्लाको भन्दा फरक छ । गोतामकोटको विभिन्न गाउँ र वस्तीहरुमा सोरठी, पैंसेरी, मयुर, सिंगारु, टप्पा, फाँक जस्ता नाचगान हुने गर्दछन् । वुढापाकाहरुले परम्परादेखि प्रचलनमा ल्याएका यी नाचगानका संस्कृतिहरु पछिल्लो पुस्ताले संरक्षण गर्दै आएका छन् । अहिले पनि गोतामकोटमा मेला पात, जात्रा, महोत्सव, चाडवाड लगायतका अवसरहरुमा स्थानीय संस्कृतिको नाचहरु नाच्ने गरिन्छ । गोतामकोटको स्थानीय संस्कृति एवम् मनोरञ्जनमा आनन्द लिन चाहने पर्यटकहरु चाडपर्वको समयमा जान सके राम्रो हुन्छ ।

पृथ्वीमा कसरी मानवको उत्पत्ति भयो भन्ने बारे विभिन्न सिद्धान्त छन् । चार्ल्स डार्विनको ओरिजिन अफ स्पिसेस देखि आजसम्म विभिन्न अध्ययन–अनुसन्धान भएका छन् । हरेक धर्म संस्कृती र वैज्ञानिक दृष्टिकोण अनुसार मानव उत्पति सम्बन्धि आ–आफ्नो विचार प्रचलित छन । तर मानवको विकाससम्बन्धी एउटा सर्वव्यापी मान्यता अफ्रिकाबाट भएको मानिन्छ । झन्डै ६० हजारदेखि ८० हजार वर्षअघि मानव विकसित हुदै विभिन्न महादेशमा बसाइँ सर्दै गएको भन्ने मान्यता छ । वेदमा उल्लेख भए अनुसार संसारको सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने भनेर क्रमशः ब्रह्मा, बिष्णु र महेश्वर मानिएको छ । सर्वप्रथम पृथ्वी, अग्नि, वायु जल र प्रकाश तथा ग्रह, नक्षत्र, अन्तरीक्ष र भुमण्डलको सृष्टि गरे । त्यसपछि मानसिक कल्पना द्वारा मानस पुत्रको रुपमा सप्तर्षि ऋषिको सृष्टि गरे । जसमा गौतम, भरद्राज, विश्वासमित्र, जमदग्नी, वशिष्ट, कश्यप र अग्निलाई मानिएको छ ।
मानव समाजको इतिहासमा लगभग २६ लाख वर्षपहिले मानव पुर्खाले सिकार खेल्नका लागि ढुङगाको हतियार बनाएका थिए । त्यसपछिको आविष्कार आगोको भएको हो । १४ लाख २० हजार वर्षपहिले अफ्रिकामा रहने मानवपुर्खाले ओत लाग्ने छाप्रो र जिउ ढाक्नका लागि छाला अथवा रुखका बोक्रा कपडाका रुपमा प्रयोग गर्न सुरु गरेका थिए । ती मानव पुर्खा हाम्रा लागि महान वैज्ञानिक नै हुन । गौतम थर नेपालीको क्षेत्री तथा बाहुन परिवारमा पाइन्छ । यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ । गौतमहरुको गोत्र अत्री भएको हुंदा उनीहरु अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन् । बोलचालमा गौतमलाई गोतामे पनि भनिन्छ ।

नेपालमा मानव सभ्यताको उदगम थलो कर्णाली प्रदेशको सिँजा उपत्यका मानिएको छ । सिँजा उपत्यकामा केही आर्यहरु हजारौं वर्षपहिले आएर बसेका थिए । हालको नेपाली भाषाको विकास पनि जुम्लाको सिँजा उपत्यकाबाट भएको हो । जुनकारणले कर्णाली प्रदेश भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय मानिन्छ । आर्यहरुको उदगम क्षेत्र जुम्लाको सिजा भएपनि आर्यहरुको थरगोत्रलाई हेर्दा अधिकाशं थर भएका आर्यजातीहरुको उदगम क्षेत्र दैलेख भएको पाइन्छ । जस अनुसार दैलेखको दुल्लूबाट दुलाल, बासीबाट बस्याल, बडबाट बराल (बडाल), लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, लामीछानीबाट, लामिछाने लयाटीबाट लुईटेल, भुर्तीबाट भुर्तेल, दवडाबाट दवाडी, पराजुलबाट पराजुली, दहबाट दाहाल, कटटीबाट कटटेल, रिजुबाट रिजाल, हुमेगाउबाट हुमागाई, लम्सुबाट लम्साल थरको उदगम भएको मानिन्छ । आफ्नो पुर्खाको उदगमस्थलको भ्रमणको लागि आजभोली धेरै पर्यटकहरु दैलेख पनि पुग्ने गरेका छन ।

घुमफिरको समय लम्वाउन सके गोतामकोट जादा चित्रीपाटन पुग्न सके राम्रो हुन्छ । चित्रीपाटन पर्या–पर्यटनको लागि रमणिय स्थल हो । चित्रीपाटनमा मानव वस्ती छैन । जाडो मौसममा हिउँ पर्दछ । यस क्षेत्रमा रमणीय सुन्दर फाँटहरु छन् । जसलाई वुकी लेक भनिन्छ । चित्रीपाटनमा जीवन वुटी अर्थात यार्चागुम्बा पनि पाइन्छ । चित्रीपाटनमा गोतामकोटका मानिसहरुले बर्षाको समयमा गाई भैसी र भेडाबाख्रा लैजाने खर्क पनि हो । चित्रीपाटन क्षेत्रमा कस्तुरी व्वाँसो जङ्गली कुकुर हरिण थार जस्ता वन्यजन्तुहरु पाइन्छन् भने डाँफे मुनाल जस्ता पंक्षीहरु को बासस्थान पनि हो ।

गोतामकोटमा ठूला होटल र जल छैनन् । गाउँमा होमस्टे सन्चालनको तयारीमा छ । आजभोली गोतामकोटमापुग्ने पर्यटकहरुलाई स्थानिय होटल तथा गाउँघरमा पेइङ गेष्टको रुपमा रातो मार्सीको भात, गहुँ, मकै, कोदो, फापरको ढिँडो तथा रोटी, सिमी, मुसुरो, मासको दाल, रायो, हरियो साग, सिमी, काउली, बन्दाकोभी, निगालोको टुसा, निउरो, च्याउ, गावा र गुन्दु्रकको तरकारी, लोकल कुखुरा र खसीको मासु, भाँगो, टिमुर,अमला, गोलभेँडाको अचार र घिउका परिकार खुवाउने गरिन्छ । गाउँमानै उत्पादन भएको आर्गानिक खानाको स्वाद लिन पाउदा पर्यटकहरु खुशि हुन्छन् ।
गोतामकोट कसरी पुग्ने ?

आठबीसकोट नगरपालिकाको केन्द्र राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका हुँदै गाडी र पैदल यात्रामार्फत गोतामकोट पुग्न सकिन्छ । गोतामकोट पुग्न रुकुम र जाजरकोटको २० किलोमिटर रुकुम डोल्पा सडक खण्ड प्रयोग गरेर जानु पर्दछ । राडीबजार देखि तल्लु बगर १९ किलो मिटर र तल्लु बजारबाट गोतामकोट चौतारासम्म ५.५ किलो मिटर यात्रा गरेपछि कोटामकोट पुगिन्छ ।
मिती ः– १९ चैत्र २०७७ दाङ




सम्बन्धित समाचार


error: Content is protected !!