ओम्‍नीसँगै मुछिएको म्याक्सलाई सेक्यूरिटी प्रेसको ठेक्का – आईटी ल्याबमा जस्तै ठेक्का हाल्ने मिति सकिनु एक साताअघि ठेक्का संशोधन

काठमाडौं ः सरकारले ओम्नी समूहसँग मिलेमतोमा सूचनाप्रविधिको ठेक्‍का हात पार्ने आरोप लागेको म्याक्स इन्टरनेशनलले सेक्यूरिटी प्रेसको ठेक्का पाएको छ । सुरक्षण मुद्रण केन्द्रले म्याक्सलाई सेक्यूरिटी प्रेस आपूर्तिका लागि ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँको ठेक्‍का दिएको हो ।

ओम्‍नी समूह कोभिड परिक्षणका लागि आवश्‍यक स्वास्थ्य सामग्री घोटला प्रकरणमा मुछिएको कम्‍पनी पनि हो । पछिल्लो समय ओम्‍नीसँग म्याक्स इन्टरनेशनलसमेत आइटील्याब सम्बन्धि विवादित ठेक्‍कामा मुछिएको थियो । साहिना हुसेन म्याक्सका सञ्‍चालक हुन् ।

दुई वर्षअघि दूरसञ्‍चार प्राधिकरणले एक हजार सामुदायिक विद्यालयमा कम्प्युटर र इन्टरेनेटसहितको आईटील्याब स्थापना गर्न बोलपत्र आह्वान गरेको थियो । तत्कालीन सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाकै निर्देशनमा यो कार्यक्रम थपिएको थियो । ओम्नी समूह र म्याक्स इन्टरनेशनल दुवै कम्पनीको जेभीले ठेक्का पायो । दुवै कम्पनीले आपूर्ति गर्न मिल्ने गरी स्पेशिकेसन तयार पारेको आरोप लागेको थियो । त्यति मात्रै होइन, साढे तीन अर्बमा गरिएको ठेक्का सम्झौता लागतभन्दा दोब्बर बढी भएको उल्लेख छ ।

टेन्डरमा यी दुई कम्पनीले मात्र भाग लिन सकून् भनेर सुरुमा सरकारी निकायलाई पछिल्लो ५ वर्षमा करिब २ अर्ब रुपैयाँको सूचना प्रविधि समान सप्लाई गरेको कम्पनी हुनुपर्ने सर्त टेन्डर सूचनामा राखिएको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्र र निर्वाचन आयोगलाई सामान सप्लाई गरेका आधारमा यी दुई कम्पनी मात्रै टेन्डर प्रक्रियामा भाग लिन योग्य थिए । अन्य कम्पनीले यो सर्तप्रति आपत्ति जनाएपछि प्राधिकरणले ठेक्का हाल्ने मिति सकिनु एक साताअघि सर्त फुकुवा गरेको सूचना निकालेको थियो । त्यस्तै सेक्यूरिटी प्रेससम्बन्धी ठेक्कामा आवेदन दिने एक साताअघि मात्रै ठेक्का संशोधन गरेको थियो ।

ठूला परियोजनामा एक साताभित्रै संशोधित बोलपत्रअनुसार कागजपत्र जुटाउन सम्भव नहुने जानकारहरू बताउँछन् । केन्द्रमा प्रमुख कार्यकारी अधिकृत विकल पौडेल आएसँगै ओम्नी र म्याक्सले सूचनाप्रविधिसम्बन्धी ठेक्का एकलौटीरुपमा हात पार्दै आएका छन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै पौडेल चर्चामा आएका थिए । सेक्यूरिटी प्रेस खरिद घोटाला प्रकरण सतहमा आएपछि उनी अमेरिका उडेका थिए ।

म्याक्सलाई भित्र्याउन ठेक्का संशोधन गरेर

दुई साता अघि केन्द्रले ठेक्‍का संशोधन गर्दै कम्पनीको योग्यतासम्बन्धी व्यवस्थासमेत संशोधन गरेको थियो । सेक्यूरिटी प्रेस खरिदका लागि भाग लिन पाउने कम्पनीको योग्यतामा फेरबदल भएको थियो । यसका लागि निर्धारण गरिएको प्रमुख योग्यता थियो ( पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने । तर यो व्यवस्थालाई संशोधन गरेर ु३८ करोड रुपैयाँु कायम गरिएको थियो ।

त्यस्तै कम्पनीको वार्षिक कारोबारको सीमासमेत घटाइएको थियो । अब वार्षिक ५५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले समेत ठेक्‍कामा भाग लिन पाउने व्यवस्था थियो । यसअघि पछिल्ला तीन वर्षमा वार्षिक कारोबार औषत ६० करोड रुपैयाँ हाराहारी हुनुपर्ने उल्लेख थियो ।

सेक्यूरिटी प्रेसका लागि आवश्यक प्राविधिक व्यहोरासम्बन्धी मापदण्डसमेत हेरफेर भएको थियो । प्रेसले छापिएर आउने सामग्रीको आउटपुट रिसोलुसनु सम्बन्धी मापदण्ड संशोधन गरेको थयो । यसअघि ८१२ डिपिआइ एट बीट रहेकोमा ६०० डिपिआइ ( एट बीट) राखिएको थियो ।

मेसिनमा प्रयोग हुने पेपर रोलको न्यूनतम आकार बढाएर १०।५ इन्च निर्धारण गरिएको थियो । यसअघि यसको आकार १० इन्च मात्रै थियो । यसको अधिकतम आकार ४० इन्‍च थियो । तर, अब १३।५ इन्च भए पुग्‍ने भएको छ । यो मेसिनलाई नियन्त्रण गर्न उपयोग हुने कुनै पनि सर्भर राख्‍न पाउने उल्लेख थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!