चीनले भारतसँग जलयुद्ध गर्न लागेको भारतीय विश्लेषकको दाबी

काठमाडौं ः भारत र चीनबीच सीमाविवाद चलिरहेको बेलामा चीनले भारतमाथि गैरपारम्परिक तरिकाका युद्धहरूको तयारी गरेको भारतीय विश्लेषक ब्रह्मा चेलानीले द टाइम्स अफ इन्डियामा लेखेका छन् ।

भारतीय संरचनामा साइबर आक्रमण गर्ने तथा सीमावर्ती विवादित क्षेत्रमा गाउँ बसाउने कामदेखि लिएर अब जलयुद्धमा चीन लागिपरेको उनको दाबी छ ।

तिब्बत अग्लो स्थानमा भएकाले जलयुद्धमा चीन राम्रो पोजिसनमा रहन्छ ।

चीनले यार्लुङ जाङ्बो ब्रह्मपुत्र जलविद्युत् परियोजनालाई नयाँ पञ्चवर्षीय योजनामा स्वीकृति दिएको छ । यसले चीनको थ्री गर्जेज बाँधभन्दा बढी बिजुली उत्पादन गर्नेछ ।

यस विशाल परियोजनामा पानी तीन हजार मिटरको उचाइबाट ब्रह्मपुत्र नदीमा खस्नेछ । उक्त नदी भारतमा प्रवेश गर्नुभन्दा ठीक अघि हिमालयतर्फ युटर्न लिँदै संसारको सबभन्दा लामो र गहिरो क्यान्योन बनाउनेछ ।

यसरी ब्रह्मपुत्रमा बाँध बनाएर चीनले भारतविरुद्ध पानीलाई हतियारका रूपमा उपयोग गर्न खोजेको छ ।

सन् २००० मा पनि ब्रह्मपुत्र नदीमा चीनले पूर्वसूचना नदिइकनै पानी छोड्दा अरुणाचल र पूर्वोत्तर राज्यमा विनाश भएको थियो । सन् २०१६ मा चीनले आफ्ना बाँध परियोजनालाई पूरा गर्नका लागि ब्रह्मपुत्रको सहायक नदीको प्रवाह रोकेको थियो । त्यसपछि कृत्रिम ताल बनेको जानकारी दिएको थियो । त्यही कृत्रिम ताल ओभरफ्लो भएर अरुणाचलमा बाढी आउने गरेको छ ।





error: Content is protected !!