ऐतिहासिक झोलुङ्गे पुल जीर्ण, पुल तर्दा भेरीमा खसिन्छ कि भन्ने पिर ?

राजु लामिछाने
रुकुम पश्चिम – रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारण प्रभावित बनेका छन् ।
झोलुङ्गे पुलमा रहेका फ्ल्याकहरू ठाउँ(ठाउँमा उक्किएका छन् भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन् । पुलका विभिन्न भागमा रहेका नट बोल्टहरू समेत झरेका छन् ।
यो पुल रुकुम पश्चिमको चौरजहारी नगरपालिका(३ र जाजरकोटको भेरी नगरपालिका(११ मटेलाबीचको भेरी नदीमा रहेको छ । अहिले झोलुङ्गे पुलमा यात्रा गर्न जोखिम रहेको चौरजहारी नगरपालिका(३ का तेजबहादुर बटालाले बताउनुभयो । ‘पुलबाट आउजाउ गर्न नै त्रास छ’, बटालाले भन्नुभयो, ‘तत्काल यसको मर्मत जरुरी छ ।’
भेरी नगरपालिका ११ कि विष्णु गिरी पढ्न भनेर विद्यालय जाने विद्यार्थीहरू डराइ(डराइ पुल तर्ने गरेको जनाउनुहुन्छ । उहाँले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पिर लाग्ने गरेको बताउनुभयो ।
वर्षौँसम्म मर्मत नभएको र कसैले पनि संरक्षणतर्फ ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको चौरजहारी नगरपालिका(३ का प्रवेश क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार त्यही पुलबाट मोटरसाइकलहरू समेत वारपार गराउँदा पुलका फ्ल्याकहरू उम्कँदै गएका हुन् ।
पुलको इतिहास
९० मिटर लम्बाइ रहेको त्यस पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका(११ का तेज शर्माले बताउनुभयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ सालमा निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीहरूलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।
जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्जतिर आवागमन गर्न निकै कष्ट ब्यहोर्नु परेको र भेरीमा पुल जरुरी रहेको भनेर राणा दरबारमा आग्रह गरेपछि पुल निर्माण भएको बताइन्छ ।
यो पुल निर्माणका लागि स्कटल्याण्डको एवरडीनमा रहेको जोन एम हेन्डरसन एण्ड कोअपरेशन लिमिटेड नामक कम्पनीले पुलका सम्पूर्ण सामग्रीहरू उत्पादन तथा जडानको जिम्मा लिएको थियो । यस पुलको डिजाइन नेपालका प्रथम इञ्जिनियर कुमार नरसिंह राणाले गरेको इञ्जिनियर निरज शाहले बताउनुभएको छ ।
यो पुलका सामग्रीहरू २० वटा हात्ती र स्थानीय नागरिकले भेरीको किनार हुँदै ल्याएको बताइन्छ । पुलका सामग्री बोकेबापत स्थानीयले खाना खर्चमात्र पाएको र अन्यले श्रमदान गरेका थिए ।










