समाचारबाट हुने आम्दानीको ८५ प्रतिशत मिडिया हाउसलाई दिन गुगललाई पत्र

इन्डियन न्युज पेपर सोसाइटी (आईएनएस) ले गुगललाई स्थानीय पत्रिकाहरूलाई बढी पैसा दिन आह्वान गरेको छ । समाचार प्रकाशनका लागि पत्रकार र मिडिया हाउसले ठुलो लगानी एवं मेहनत गर्ने भएको हुँदा गुगलले विज्ञापनबाट कमाएको बढी पैसा मिडियालाई दिनुपर्ने माग गरिएको हो ।

कुनै पनि समाचारमा देखाएको विज्ञापनबाट कमाउने पैसाको ८५ प्रतिशत पैसा सञ्चार गृहलाई दिन आईएनएसले गुगललाई पत्रमार्फत पनि आह्वान गरेको हो । आईएनएस भारतको सबैभन्दा ठुलो मिडिया सङ्गठन हो ।

हजारौं पत्रकारहरू महँगो बसाइमा सञ्चार गृहमा काम गर्छन्, त्यसै कारण गुगलले समाचार बापत बढी पैसा दिनुपर्छ, आईएनएसले गुगललाई पठाएको पत्रमा उल्लेख गरेको छ ।

यसबाहेक सङ्गठनले विज्ञापनबाट हुने आम्दानीको रिपोर्टहरू पनि पारदर्शी बनाउन गुगललाई आग्रह गरेको छ । भारतमा करिब १ लाख मिडियाहरू दर्ता छन् भने, ७० करोड भन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेका छन् ।

गुगलले विभिन्न समाचार वेबसाइटहरूमा विज्ञापन देखाउँछ । सो बापतको पैसा प्रत्येक महिनाको अन्तमा ती वेबसाइटलाई दिन्छ । विज्ञापनबाट यसरी कमाउने पैसाको ८५ प्रतिशत सञ्चार गृहलाई दिन र आम्दानी रिपोर्ट पारदर्शी बनाउन गुगललाई आह्वान गरिएको हो ।

यसअघि अस्ट्रेलियाले फेसबुक र गुगलले समाचार राखे बापत सञ्चार गृहलाई पैसा दिनुपर्ने कानुन अघि सारेको थियो । सो अनुसार गुगल र फेसबुकले विभिन्न अस्ट्रेलियाली मिडिया हाउसहरूसँग सम्झौता गरिसकेका छन् । अस्ट्रेलियाकै बाटोमा भारत पनि जाने सङ्केत देखिन्छ ।





error: Content is protected !!