कर्णाली प्रदेश अस्पतालमा निशुल्क डायलसिस सेवा

ज्योति कटुवाल

सुर्खेत ः सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मिर्गौलारोगीका लागि निस्शुल्क डायलसिस सेवा सुरु गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले बुधबार उक्त सेवाको शुभारम्भ गर्दै डायलसिसका लागि विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए ।

प्रदेश अस्पतालमा अहिले २७ जना बिरामीको निस्शुल्क डायलसिस भइरहेको अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए । ‘अस्पतालमा अहिले आठवटा मेसिनले काम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश अस्पतालले सुरु गरेको निस्शुल्क डायलसिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका मिर्गौलापीडिलाई राहत हुनेछ ।’

आन्तरिक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि इमर्जेन्सी सेवा पनि निस्शुल्क गर्ने योजना अस्पतालले बनाइरहेको डा केएन पौडेलले बताए ।

प्रदेश अस्पतालमा उपकरण र जनशक्तिको अभाव भने उस्तै छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य उपकरण नरहेको खड्काले बताए ।

विशेषज्ञ सेवा र सामुदायिक नर्सिङमा राखिएका जनशक्तिको समस्या बजेट संशोधन गरेरै भए पनि सम्बोधन गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए ।





error: Content is protected !!