लोभ्याउछ राराले सबै पर्यटकको मन

–के.वी.मसाल
कच्ची भएपनि सडकको विकास र प्रचारप्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ । जसका कारण अहिले हिमाली क्षेत्रमा रहेका ताल तलैया र प्राकृतिक सम्पदामा पनि आन्तरिक पर्यटकको चहपहल बढेको छ । यसरी पछिल्लो समय उदाएको गन्तव्य हो रारा ताल । यो भन्दा पहिले प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने रारा विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको थिएन । तर पछिल्लो समय बाटोको विकासले गर्दा यो तालमा पुग्ने आन्तरिक पर्यटकहरु बढन थालेका छन् । विदेशी पर्यटक कमै पुग्ने रारामा प्राय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । धेरै जना नपुगेको नयाँ गन्तव्य भएकोले एकपटक सबैलाई पुगौं भन्ने भावना सृजना हुन्छ ।

रारा ताल मुगु जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो । यो प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर रहेको छ भने राराको गहिराई १६७ मिटर रहेको छ । रारा राष्ट्रिय निकुञ्जले मुगु जिल्लामा रारा ताल र वरिपरिको क्षेत्र ओगटेको छ । यो निकुञ्ज बि.स.२०३३ सालमा स्थापपना गरिएको हो । रारा समुन्द्र सतहबाट १० हजार फिटको उचाईमा रहेको छ । रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरु डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ ।


दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरुले सजिएर मानौ स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ । रारा तालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न समेत सकिन्छ । रारा तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । नजीबाट हेर्दा पोखरी, अलि परबाट हेर्दा ताल र अलि माथि डाँडाबाट हेर्दा रारा कुण्ड अर्थात कचौराको आकारमा देखिन्छ । रारा नजिकै मचानमा बसेर राराको पानीलाई एकनासले नियाल्ने हो भने मचान आफैं चलामान भएको जस्तो अनुभूति दिलाउँछ । रारामा नै एकोहोरो हेरिरहने हो भने पानीको बहावका कारण आफैं डुङ्गामा बसेर यात्रा गरेको जस्तै अनुभूति हुन्छ ।

राराले बेला बेलामा फेरिहनले सूर्यको प्रकाश अनुसारको फरक रुप, हावाको बहाव, कन्चन पानी, आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । रारा पुगेपछि सुरुमा पर्यटकहरुका मोवाइल तथा क्यामेरा बन्द नै हुदैनन् । जति फोटो लिएपनि पर्यटकहरु थाक्दैनन् । यात्राको थकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग मानिन्छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । रारामा विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्यानमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, साँझपख उत्ताउलिनु, आकाशमा बादल लाग्दा बादल पौडिएर रुप परिवर्तन हुनु राराको विशेषता हो ।


अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने स्वदेशी तथा विदेशी पर्यटक सायद कोहि हुदैनन् । हिमालय क्षेत्रमा रहेका ताल मध्य सबैभन्दा सुन्दर रारा ताल मानिन्छ । यतिबेला रारा ताल अवलोकन गर्नजाने पर्यटकहरुको भिडनै हुने गरेको छ । यो ताल बाहिरबाट हेर्दा जत्रो देखिन्छ त्योभन्दा धेरै ठूलो आकारमा जमिनमुनि फैलिएको अनुमान छ । रारालाई प्रायः सबै पर्यटकले स्वीजरल्याण्डको सुन्दरतासग दाज्ने प्रचलन रहेछ । कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्लासम्म २३२ किलोमिटर सडक पर्दछ । कर्णाली नदीको किनारै किनार भएर बनेको सडक साँघुरो छ । रारा पुग्नको लागि कर्णाली राजमार्गको कालीकोट जिल्लाको नाग्मा बजारबाट मुगु जिल्लाको गमगढी सम्म ९३ किलो मिटरको दुरी यात्रा गर्नु पर्दछ । यो सडकमा यात्रा गर्दा स्कारपियो, बोलेरो, टाटा सुमो जस्ता साना सवारी साधन र मोटरसाईकल प्रयोग गर्दा सजिलो हुन्छ ।


आज भन्दा ५५ बर्ष अगाडि सम्म रारा तालमा पर्यटकहरु अहिलेको जसरी पुग्ने थिएनन् । त्यसबेला रारा ताल वरपर रारा थाप्रु गाउँ थियो । २०२० साल चैत २० गते तत्कालिन राजा महेन्द्र रारा पुगेका थिए । काठमाडौँबाट घोडा चढेर विकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा वरपरको जंगलमा बँदेलको सिकार गर्नु । तर, जब रारा तालको किनारमा महेन्द्रले घोडा रोके, घोडाबाट झरेर धुपिको रुखमुनि सुस्ताए र राराको निलो पानीमा एकटक हेरिरहे, तब उल्टै राराले सिकार खेल्यो महेन्द्रको मनमा । महेन्द्रले राराको नाममा कविता कोरे, आँफ्नै नामलाई पनि घोलिदिए राराको कन्चन जलमा । संयोग नै भनौँ, असिना पानीका कारण पनि महेन्द्रको बदेल सिकार गर्ने योजना पूर्ण रुपमा असफल भयो । राराबाट धेरै कुरा लिएर फर्किए, राजा महेन्द्र । त्यस पछि रारालाई पर्यटककिय स्थलको रुपमा बिकास गर्न थाप्रु गाउँका बासिन्दाहरुलाई बाके जिल्लाको चिसापानीमा बसाई सराई गराई सुन्दर रारा ताल पर्यटन क्षेत्रको बिकास गर्न रारा राष्ट्रिय निकुञ्जल घोषणा भयो ।

राराको सुन्दरताले नलोभ्याउने कोही छैन । रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि मुगुको चंखेली हिमालको टुप्पो महत्वपूर्ण छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमाल देख्न सकिन्छ । मुगुको चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र हैन नेपालकै दुईवटा ठूला धार्मिक धाममा पर्ने मुगुको छायाँनाथ धामसहित सैपाल हिमाल र काञ्जिरोवा हिमालको अवलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्ति कत्ति । सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिडिँयो भने चंखेली हिमालको फेदमा पुगिन्छ, फेदबाट हुम्ला र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । त्यहाँ लेकाली शैलीमा बनेका दुईवटा होटल छन, एक रात त्यो फेदमा बास बसेपछि बिहान चंखेली हिमालको यात्रा सुरु हुन्छ । चंखेली हिमाल समुन्द्री सतहबाट झण्डैै ४ हजार २ सय मिटरको उचाईमा छ । चंखेली हिमालको झण्डै आधा भाग हिँडुञ्जेल धेरै फाँटको माथि पुगेको अनुभव हुन्छ । मनोरम दृश्य अवलोकन गर्न पाइने यो हिमालको सबैभन्दा माथी पुगेपछि रारा ताल, पवित्र धार्मिक स्थल छायाँनाथ, सैपाल हिमाल, काञ्जिरोवा हिमाल आखाँकै अगाडि देख्न पाइन्छ । यस्तै मुगु सदरमुकाम गमगढी, मुगुको ताल्चा विमानस्थल, मुगुको सोरु भेगका झण्डै १० वटा बस्ती तथा खत्याड भेग माथिका लेकसहित हिमाली टाकुरासँगै करान र गम भेगमा पर्ने विभिन्न लेकहरुसहित रोवाको माथिका विभिन्न हिमाली चुचुराहरु पनि अवलोकन गर्न सकिन्छ । चंखेली हिमाल चढ्न धेरै हिँउ परेको बाहेक अन्य समयमा खासै समस्या हुँदैन् ।


राराको यात्रामा पर्यटकहरुले नेपाली भाषाको उदगमस्थल जुम्लाको ऐतिहासिक सिंजा उपत्यकाको समेत अवलोकन गर्न सक्दछन । यो बाहेक मुगु जिल्लाको भौगोलिक विविधतासगै धार्मिक सांस्कृतिक तथा भेष भूषाको समेत अध्ययन गर्न सक्दछन । सास्कृतिक तवरले हेर्ने हो भने मुगु जिल्लाकै कुनै ठाउमा भोटेसेलो छ भने, अर्को ठाउमा देउडा गीत । त्यसैगरी मुगु जिल्लामा असुरो देखि यार्चागुम्बा र सिसौ देखि देवदार जस्ता काठहरु पनि पाइन्छ । जुन कारणले मुगुमा प्राकृतिक सम्पदामा पनि निकै विविधता रहेको छ । मुगुमा २५० भन्दा बढी जातका जडिबुटी पाइन्छ । यार्सागुम्बा, गुच्चीच्याउ, चिराइतो, जटामसी, सुतक, कट्की, सिलाजित, पाचऔले, डालेचुक, घुच्चीच्याउ, सुगन्धवाल, अतीस, विशजरा, भुल्ते, मुतकश, अमलवेद, पदमचाल, बोझो, लौठसल्ला, नीरमसी जस्ता जडिबुटी मुगुमा पाइन्छ । मुगुमा तराईको गर्मी हावापानीमा फल्ने आप, केरा, उखु, पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पाती जस्ता फलहरु फल्ने गर्दछ ।

रारा बाहेक मुगुमा पर्यटकहरुका लागि घुमफिर गर्ने ठाउ धेरै छन । गमगढीदेखि करिवन ९० कि.मि.दुरीमा रहेको दोल्फुमा छायानाथको मन्दिर रहेको छ । यो मन्दिर मुगु जिल्लाको धार्मीक पर्यटकिय स्थल पनि हो । छायानाथ चीनको तिब्बतसग सिमाना जोडिएको छ । छायानाथ रहेको दोल्फु समुन्द्री सतहदेखिी ६ हजार मिटरको उचाईमा छ । ऐतिहासिक र पर्यटकीय मनोरम दृश्यमात्र नभई छायानाथ क्षेत्र हिमशृंखला, जडीबुटी, यार्चागुम्बु, जैविक खानी र रेडपाण्डा लगायतका दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो । स्वस्थानी ब्रत कथाका अनुसार सतीदेवीको सबै अंग पतन भइसकेपछि बाकी रहेका अंगहरुको पतन छायानाथमा भएको धार्मीक विस्वास गरिएको छ । छायानाथमा बर्षको एक पटक जनैपूणिमा बौद्ध धर्मावलम्बी र हिन्दूहरुले संयुक्तरुपमा पूजाआजा र मेला भर्ने गर्छन् । यो अवसरमा कर्णाली लगायत सुदूपश्चिम र भारतबाट समेत तिर्थाटन पर्यटकहरु पुग्ने गर्दछन । यो क्षेत्र डोल्पाको से–फोक्सुन्डो ताल जाने पदमार्गमा पर्दछ ।


मुगु जिल्लाको नाम विभिन्न भनाई रहेतापनि यस जिल्लाको उत्तरी भेगको पर्ने मुगु गाउँको नामबाट यस जिल्लाको नाम मुगु रहन गएको हो । मुगु जिल्लालाई खत्याड भेग, शोरु भेग, गम भेग र करान भेग गरी चार भेगमा प्राकुतिक रुपले विभाजन भएको छ । मुगुको तिब्बतसँगको नाकाको नाम नाक्चेलाग्ना हो । यस नाकाबाट नून, ऊन र अन्य अत्यावश्यक वस्तुहरु पैठारी हुन्छ भन्ने मुगुको स्थानीय उत्पादन निकासी समेत हुने गरेको छ । सदरमुकाम गमगढीबाट पैदल लगभग तीन दिनमा पुगिने तिब्बतको व्यापारिक नाकामा प्रत्येक बर्ष श्रावर्ण १५ गते देखि २० दिन सम्मका लागि व्यापारी नाका खुल्ने गर्दछ । कर्णाली प्रदेशका गाउँघरमा पर्याप्त मात्रामा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन हुन सकेको छैन । धेरै गाउँघरका पर्यटकीयस्थलहरु ओझेलमा परेका छन् । पर्यटक पुग्ने सडक पर्यटन मैत्री छैनन् । अधिकाशं पर्यटकीय सम्पदाको पर्याप्त प्रचार प्रसार हुन नसक्दा पर्यटक पुग्न सकेका छैनन् । तर पनि प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा साहासिक पर्यटन सम्पदा कर्णाली प्रदेशमानै धेरै छन । कर्णाली प्रदेशमा पर्यटनको बिकास गर्न पर्यटकहरुलाई देखाउन खोजेको स्थलको संरक्षण र गाउँघरको सरसफाई गर्न जरुरी छ ।


पर्यटन विकासको कुरा गर्दा पर्यटन पूर्वाधारलाई विचार गर्नुपर्दछ । अहिले सम्म पर्यटनको क्षेत्रमा गाउँघरमा जे जति पूर्वाधार बनेका छन, ती सबै ब्यवस्थित हुन सकेका छैनन् । गाउँमा पर्यटकहरुलाई भित्राउन धेरै किसिमका पूर्वाधार हुनु पर्दछ । गाउँमा पुग्न भरपर्दा यातायातका साधन, बस्नको लागि होटल, लजको सुबिधा, गाउँघरको सरसफाइ स्वच्छ वातावरण र पर्यटकहरुलाई सुरक्षित छौ भन्ने महसुस दिलाउन सक्नु पर्दछ । त्यसैगरी गाउँमा पुग्ने पर्यटकहरुका लागि सूचना केन्द्र, मनोरञ्जनस्थल, बैंक, स्वास्थ्य चौकी समेत हुनु पर्दछ । गाउँमा पुग्दा पर्यटकहरुलाई बस्ने वास र खाने कुराको अभाव हुने गरेको छ । पर्यटकहरुले आवस्यक खानाहरु शहर बजारवाट नै क्याटरिङ्ग गरेर पनि यात्रामा जाने पर्यटकहरु भेटिन्छन । यस्तो अवस्थामा स्थानीयहरुले पर्यटनको लाभ प्राप्त गर्न सक्दैनन् । जबसम्म स्थानीयहरुले पर्यटनको लाभ प्राप्त गर्न सक्दैनन ती क्षेत्रहरुमा पर्यटकहरु गएको वा पर्यटनको विकास भएको कुनै अर्थ हुदैन ।


सडक यातायात बाहेक रारा ताल पुग्न नेपालगञ्ज तथा सुर्खेतबाट मुगुको ताल्चा विमानस्थल सम्म हवाई सेवा पनि छ । ताल्चाबाट करीब १ घण्टाको पैदल यात्रापछि रारा पुगिन्छ । रारा पुग्ने पर्यटकहरुलाई खान बस्न अहिले सम्म सल्लेरी, ताल्चा, माजघट्ट, लामाचौर भन्ने स्थानमा केहि होटलहरु छन । तर पर्यटकहरुको भिडभाड भएको बेला ती होटलहरुले सबै पर्यटकहरुलाई सेवा दिन नसकेको अवस्था छ । रारामा पर्यटनको बिकास गर्न होटलको सख्या बढाउदै जानु पर्दछ ।
रारामा जाने पर्यटकहरुले होटलमा रोटी, लोकल कोदोको परिकार, फापर, काउनोको परिकार, चिनोको खिर, रातो चामलको भात, लोकल खशिको मासु जस्ता परिकारहरुको स्वाद लिन पाउछन । यातायात खर्च बाहेक रारा अर्थात मुगुको अन्य स्थानमा घुमघाम गर्दा दैनिक कम्तीमा एक हजार रुपयाँ खाना बस्नको लागि बजेट बनाउदा राम्रो हुन्छ । राराबाट फर्किदा पर्यटकहरुले लालिगुरासको जुस, डालेचुकको जुस, स्याउको चाना, दाल झान्न प्रयोग गरिने जिम्वु, राडीपाखी समेत खरिद गर्न पाउछन ।





error: Content is protected !!