बिहान उठ्नेबित्तिकै यस्ता काम नगरौँ

बिहान उठ्नेबित्तिकै के गर्नुहुन्छ । एकैछिन विचार गर्नुस् त । धेरैजसो व्यक्ति आफ्नो नियमित चार्टअनुसार नै ‘बिहान वर्कआउट’ गर्छन् । तर, कतिपय अवस्थामा थाहा नै नहुने गरी स्वास्थ्यमा हानि हुने काम पनि गरिरहेको हुन सक्छ । बिहान उठ्नेबित्तिकै गर्नै नहुने केही कामबारे यहाँ चिकित्सकहरूले सुझाब दिएका छन् । जानौँ स्–

थप सुत्ने प्रयास
बिहान आँखा खोल्नेबित्तिकै उठ्ने बानी राम्रो मानिन्छ । तर, कतिपय अवस्थामा भने एकछिन, १०–२० मिनेट सुत्नुपर्ला भनी फेरि निदाउने बानी हुन्छ । यस्तो गर्ने बानी भएका व्यक्ति एक मिनेट सुत्न पाए पनि शरीरमा इनर्जी आउने ठान्छन् । यो सोचाइ बिलकुल गलत हो । विशेषज्ञहरू भन्छन्, ‘सही समयमा उठ्ने व्यक्ति बढी एक्टिभ हुन्छन् । नियमित समयभन्दा अतिरिक्त समय सुत्दा थप थकित भइन्छ ।’

कोठालाई अँध्यारो नपार्ने
निद्राबाट ब्युँझिएपछि कालो रङ वा डार्करुम मन पराउनुहुन्छ भने त्यो बानी हटाउनुहोस् । जीवनमा यस्तो कहिले पनि नगर्न विज्ञहरूको सुझाब छ । बिहानको घाम वा कोठाभित्र उज्यालो हुँदा शरीरमा एक किसिमको चमक दिलाउँछ । उज्यालो कोठा र बिहानै सूर्यको किरण कोठाभित्र प्रवेश गर्दा शरीरमा इन्फेक्सन हुन पाउँदैन । सूर्यको किरणले इन्फेक्सनविरुद्ध लड्ने क्षमता दिन्छ । साथै, शरीरमा भिटाभिन डी प्राप्त हुन्छ ।

नियमित सुत्ने र उठ्ने समय
अक्सर धेरै मानिस यो मान्छन् कि बेलुका ढिलो सुत्दा बिहान निद्रा नै नपुगेको महसुस हुन्छ । वास्तवमा बेलुका ढिला र बिहान अबेरसम्म सुत्ने बानी नराम्रो हो । यसले शरीरमा एक किसिमको थकान ल्याउँछ । सधैँ फिट र स्वस्थ रहनका लागि सधैँ एउटै टाइमिङमा सुत्ने र उठ्ने गर्नुपर्छ ।

जुरुक्क नउठ्नुस्
बिहान निद्रा पुगेपछि जुरुक्क उठ्ने बानी पनि राम्रो होइन । ओछ्यानमा हुँदा शरीरभित्रको ब्लडप्रेसर लो भइरहेको हुन्छ । सुतेको वेलामा रक्त–सञ्चारको भार खुट्टामा हुन्छ । यस्तो अवस्थामा एकैपटक उठ्दा ब्लडप्रेसर लो हुन जान्छ । जसका कारण कमजोर महसुस हुन्छ । बिहान शरीरभित्रका विभिन्न अंग सक्रिय हुन समय लाग्छ । यसैकारण, बिहान बेडबाट ओर्लनुअघि केही बेर ओछ्यानमै बस्न विज्ञहरूको सल्लाह छ ।

कफी नखाने
बिहानै कफी खाने बानी छ भने यसलाई हटाउन विज्ञहरूको सुझाब छ । बिहानैको कफीले एकाग्रह भंग हुने सम्भावना हुन्छ । लामो समयसम्म यस्तै बानी गरिरहे भविष्यमा यसले दीर्घरोग निम्त्याउन सक्छ ।

चिया वा कफीपछि ब्रस नगर्ने
धेरैजसोको यस्तो पनि बानी हुन्छ कि चिया वा कफी लिएपछि ब्रस गर्ने । वास्तवमा चिया र कफीमा हल्का एसिड हुन्छ । एसिड लामो समयसम्म तपाईंको दाँतमै रहन्छ । चिया लिएको केही मिनेटमै ब्रस गर्दा समस्या आउन सक्छ । यदि ब्रस नै गर्नु छ भने कम्तीमा पनि ३० देखि ६० मिनेटपछि मात्र गर्नुपर्छ ।

स्मार्ट डिभाइस नचलाउने
बिहान उठ्नेबित्तिकै विभिन्न ग्याजेट वा स्मार्ट डिभाइस चलाउने बानी छ भने त्यसलाई सुधार गर्नु विज्ञहरूको सुझाब छ । लगातार इमेल वा सोसियल मिडियामा अपडेट भइरहँदा शरीरमा एक किसिमको स्ट्रेस एन्जाइटी बढ्न सक्छ । उदाहरणका लागि बिहान–बिहानै इमेल चेक गर्नुहुन्छ भने यसले काममा बोझ ल्याउँछ ।

आँटाबाट बनेको खाद्य पदार्थ नखाने
बिहानको ब्रेकफास्टमा सुगर पेस्ट्री वा आँटाबाट बनेको मिठाई खान मन पराउने धेरै छन् । पोषणविद्हरूले यस्तो किसिमको डाइटमा प्रोटिनको मात्रा कम हुने बताएका छन् । बिहान प्रोटिनको मात्रा कम भएको ब्रेकफास्ट लिँदा दिनभर थकान महसुस भइरहने उनीहरूको भनाइ छ ।
–एजेन्सीहरूको सहयोगमा





error: Content is protected !!