सचिव सरुवामा मनोमानी

काठमाडौं – सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
– १६ जनाको सरुवा
– मैनालीद्वारा राजीनामा दिने चेतावनी
मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीबार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको छ । केहिले भने पत्र बुझ्न मानेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कसको सरुवा कहाँ ?
१ तोयम राय ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२ सुरेश अधिकारी ः निर्वाचन आयोग
३ वेगेन्द्रराज शर्मा पौड्याल ः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४ सूर्य गौतम ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५ देवेन्द्र कार्की ः राष्ट्रिय सतर्कता केन्द्र
६ अर्जुन पोखरेल ः उद्योग
७ दिनेश भट्टराई ः वाणिज्य
८ महेन्द्र गुरागाई ः लोकसेवा आयोग
९ वैकुण्ठ अर्याल ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१० देवकुमारी गुरागाई ः उपराष्ट्रपति कार्यालय
११ केदार न्यौपाने ः युवा तथा खेलकुद मन्त्रालय
१२ टेक नारायण पाण्डे ः सार्वजनिक खरिद अनुगमन कार्यालय
१३ मणिराम गेलाल ः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१४ सुरेश आचार्य ः नेपाल ट्रस्ट
१५ रामप्रसाद थपलिया ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१६ सुमन अर्याल ः प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन
१७। गोपीनाथ मैनाली ः होल्ड










