चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु

रुकुम पश्चिम – चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–६, गवारीका अन्दाजी ४२/ ४३ वर्षीय भीमबहादुर बोहराको मृत्यु भएको हो ।
शुक्रबार बेलुकी ८ बजेतिर परेको चट्याङ लागेर बोहराको मृत्यु भएको हो । चट्याङ लागेका बोहराको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । बोहराको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायातँर्फको भागमा चोट लागेको छ । खाना खाएर अगेनाको आगो तापेर बसिरहेका बेला चट्याङ परेको थियो । हल्का हर्काइएको ढोकाबाट भित्र पसेको चट्याङले बोहरालाई लागेको बताइएको छ ।










