सल्यानको इतिहास पर्यटन सस्कृति र सम्पदा

–के.वि. मसाल
नेपालको इतिहासमा कर्णाली प्रदेश सल्यान जिल्लाको इतिहास लामो छ । कुनैबेला सल्यान वाइसे राज्यभित्र पर्ने सैन्य परिवारले राज्य गरेको सोशान्त राज्य रहेको थियो । सल्यान राज्य नेपाल एकिकरण गर्नेक्रममा वि.स. १८६९ भाद्र ३ गते नेपाल राज्यमा विलय भएको हो । राणाकालमा हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकांश भू–भाग सल्यानमा थियो । राणा शासकहरुले सल्यानलाई ठूलो गौडाको रुपमा प्रशासनिक केन्द्र बनाएका थिए । चौथो दर्जाको बडाहाकिमले सल्यानको प्रशासन चलाउने गर्दथिए । सल्यानको विच भागबाट वग्ने शारदा र जिल्लाको सिमाना वनाएर पश्चिम भागबाट बग्ने भेरी नदीको किनार बाहेक सल्यान जिलाका गाउँ र बस्तिहरु अधिकाशं पहाडी रमणिय डाडाकाडामा रहेको छ ।

सल्यान प्राचिन संस्कृति, धार्मिक सभ्यता, भौगोलिक विविधता, प्राकृतिक स्रोत र सुन्दरताले छुट्टै इतिहास छ । सल्यान कुनै काल खण्डमा भारतको लुधियानाबाट आई राज्य सञ्चालन गरेका शशिधर जाटका पाँचौ पुस्ताका हर्बेली जाटको राज्यकालमा सल्यान खलंगामा बस्ती सुरु भएको हो । अहिले शारदा नगरपालिका सेजवाल टाकुराको ढारबाट जाटका पछिल्ला खस राजाहरुको खलंगामा राजदरवार सारेका थिए । सेन वंशको राज्यकालमा जाटहरुले राजधानी केही समय कालागाउँमा पनि सारेका थिए । तर पछि शाह वंशको आगमनसँगै राजधानी पुन खलंगामै ल्याएका हुन । जिल्लाको नाम कसरी सल्यान रह्यो भन्ने ठोस प्रमाण नभए पनि केही किम्वदन्ती जोडिएका छन् । तात्कालीन राजाले राज्य गर्दा सल्ले भन्ने ठाउको मानिसलाई आफ्नो सहयोगीका रुपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै सल्यान रहन गएको पनि भनाइ छ । अर्को सल्लै सल्लाका सुन्दर पहाडले डाडाकाडा ढाकिएकाले सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि छ ।

सल्यानको फालावाङ ऐतिहासिक स्थल हो । पछिल्लो समयमा सल्यानी राजाहरुले फालावाङबाटनै शासन चलाएका थिए । महाभारत पर्वतको काखमा रहेको फलावाङ सल्यानको दक्षिण दाङको सिमावर्ती भूगोल मा पर्दछ । थर्कोट पहाडको विच भागमा पर्ने फलावाङ मोटरमार्ग नभएको वेला दाङ तर्फ जादा जाजरकोट, डोल्पा, सल्यान र रुकुम मानिसहरु पैदल यात्रा गर्दा बाटोमा पर्ने थियो । ऐतिहासिक फालावाङ दरवार अहिले संरक्षण हुन नसक्दा भत्किएको छ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएका कोट, दरवार, किल्लाहरु अहिले राज्यबाट संरक्षण पाउन नसक्दा अस्थित्वनै मेटिन लागेको छ । भुरे टाकुरे राजाहरुको पालामा पनि सल्यान राज्य शक्तिशाली राज्य मानिने थियो । नेपाल एकिकरण को अभियानमा पृथ्र्वी नारायण शाहले पनि सल्यानलाई कव्जा गर्न नसकेका थिएनन् । पछि पृथ्वी नारायण शाहले राजा कृष्ण शाहको छोरा युवराज रणभिम शाहलाई आफ्नो छोरी विलास कुमारीसंग वैवाहिक संम्वन्ध कायम गरी छिल्लीकोट देखि दाङ तिरको केहि मौजा छोरीलाई कुशविर्ता दान गरेर सल्यानलाई नेपालमा मिलाउने कुटिल रणनिति वनाएका थिए ।

अहिले दाङ र सल्यान जिल्लाको सिमा स्तम्भको रुपमा रहेको थर्कोटडाडा ऐतिहासिक कोट हो । थर्कोटको ऐतिहासिकगढी सामुन्द्रिक सतह देखि १ हजार ४५० मिटरको उचाईमा रहेको छ । फालावाङे राजाहरुको पालामा थर्कोटगढीमा अग्रेजहरुको आक्रमणबाट बच्न गढीमा गोलघर निर्माण गरी तोप, ढाल, तरवार र लडाइमा प्रयोग गर्ने वाजाका सामाग्रीहरु राखिएको थियो । कोत भएको स्थानमा शिद्ध रतननाथको समेत पुजा गर्ने परम्परा थियो । थर्कोटगढीमा पुरानो दरवार छेउमा प्रत्येक वर्ष वैशाख महिनामा पन्चवली दिने फालावाङका राजाहरुको प्रचलन थियो । थर्कोटगढीबाट दाङ उपत्यका मात्र नभएर वार्के जिल्लाको सिमाना क्षेत्रको चुरे पहाड तिलकनालेख र फिरिङखोला सम्मको भाग देखिने हुदा शत्रुहरुसंग वच्नको लागि हतियार कोटमा राखिएको हुन्थो ।

बाइसे राज्यमा पर्ने सल्यानको इतिहासमा नेपाल एकिकरणको वेला वि.स. १८४३ मा दाङका राजा नवल सिंह तापाको लडाइमा मारिए । उनको मृत्युपछि राजकुमार दिलेर सिंहले पुरा दाङको राज्य संन्चालन गर्न सकेनन् । वि.सं.१८६५ मा सल्यान राज्य नेपालमा एकिकरण हुदा दाङ पनि नेपालमा नै मिल्न गयो । नेपाल एकिकरण पछि दाङ सल्यान गौडाको मातहतमा रहन गयो । वि.सं. १८९४ मा सल्यानी राजाको वंशज तेज वहादुर शाहलाई राजाको पद र पश्चिम दाङ फालावाङको राज्य प्रदान गरियो । त्यस पछि पश्चिम दाङ र फालावाङ क्षेत्रको शासन फालावाङबाट सुरुहुन थाल्यो । नेपाल भारत असमान सुगौली सन्धि हुनुपूर्व फलावाङगी राजाको प्रशासनिक क्षेत्र विसाल थियो । फलावाङका राजाहरु रत्ननाथका भक्त थिए । सिद्ध रत्ननाथलाई उनिहरुले कुल देवताको रुपमा पुजा गर्दथिए । त्यसैले फालावाङ दरवारमा पनि रत्ननाथको मन्दिर वनाएका थिए । त्यतिवेला फालावाङका राजाहरु भारतको वलरामपुर स्थित पाटनदेवी मन्दिरको पनि दर्शन गर्न जाने गर्दथिए । दाङ घोराही स्थित चौघेरा रत्ननाथ र पाटनदेवी दाज्यु वहिनीको सम्वन्ध रहेको छ भन्ने विस्वास गरिन्छ । त्यसैले गर्दा फालावाङे राजाहरुले आफ्नो प्रशासन चलाउन सजिलो होस भन्नाको लागि फालावाङमा पुरानो दरवार, माझ दरवार र नया दरवार समेतगरी पाचबटा दरवार निर्माण गरेका थिए ।

ऐतिहासिक फालावाङको पुरानो दरवार वि.सं.१९७६/ ७७ मा निर्माण गरिएका हुन । कलात्मक स्वरुप निर्माण गरिएको फालावाङ दरवारको छाना छाउनको लागि जस्तापाता वेलायतबाट ल्याइएको थियो । सल्यान जिल्लाको फलावाङ चैतेडाडामा रहेको फलावाङे राजाको दरवार संरक्षण हुन नसक्दा भत्किसकेको छ । फालावाङ राजाहरु दाङबाट हात्तिमा यात्रा गर्ने तुलसिपुर पातुखोला, सिरकुला हुदै ल्वामखोलाको रिगाटेको पुरानो हात्ति र घोडा हिडने सडक मर्मत संभार नहुदा अहिलेको पुस्तालाई इतिहास बनेको छ । पुरातात्वीक हिसावले पनि फालावाङ र थर्कोटको पहाड महत्वपूर्ण मानिन्छ । एशिया कै ठूलो उपत्यका दाङको गहनाको स्वरुप देखिने थर्कोट आसपासका ऐतिहासिक सम्पदाको वारेमा अध्यन अनुसंन्धान हुन सकेको छैन ।

सल्यानी राजाको अन्तिम अवशेष फलाबाङ दरबारको ऐतिहासिक महत्व रहेको छ । नेपाल एकिकरण पछि तेज बहादुर शाहलाई वि.स. १८८४ मा फलाबाङ थुम र पश्चिम दाङको भूमिसहित राजा पदवी दिइयो । सल्यानी राजपरिवार फलाबाङको थानागाउँमा वि.स १८८५ मा राजदरबारमा आई बस्न थालेका थिए । नेपालको एकीकरण पछि दाङ सल्यानको गौडाको मातहतमा रहन गयो । शमशेरबहादुर शाह द्धित्तीयले विस १९५७ नयाँ दरबारको निमार्ण सुरु गरी १९६९ सालमा पुरा गरेका हुन । फालावाङ दरवार १ सय ५५ झ्याल र ५५ कोठाको बेलायती शैलीको दरबारमा गद्दि बैठक, कचहरी बैठक, पुजा कोठा, मोठ कोठा आदि थिए । कलात्मक शैलीमा बनेको दरबार हाल आएर अवशेष समेत रहेको छैन ।

फालावाङका राजाहरु राज्य संन्चालनको क्रममा ६/६ महिना दाङ र फालावाङ गर्नुपर्ने हुदा वि.सं.१९८८–९१ को विचमा हाल प्रदेश अस्पताल रहेको स्थान तुलसिपुरमा ३५ कोठाको दुईतले पक्की दरवार पनि वनाएका थिए । पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा ५ विघा ६ कट्ठा १२ धुर जमिन भित्रको तुलसिपुरको दरवार १ लाख ६५ हजार मा फालावाङे राजा गेहेन्द्र वहादुर शाहले सरकारलाई विक्री गरेका हुन । बाइसे चौविसे राज्य सन्चालनको समयमा सल्यान राज्य शक्तिशाली राज्य मानिन्थो । सल्यान जिल्लामा रहेको शक्तिपिठ खैरावाङ भगवतीलाई छिमेकि राज्य जाजरकोट, रुकुम र रोल्पाका गजुलका राजाहरुले पनि आफ्नो कुलदेवताको रुपमा मान्ने गर्दथिए । थर्कोटगढीका पुराना हातहतियार कोतघरमा केहि छैनन । ऐतिहासिक कोट,मौला र मठ मन्दिर राज्यवाट संरक्षण हुन छाडेपछि कतिपय वहुमुल्य बस्तुहरु चोरी भएका छन । कुनै वेला थर्कोट फालावाङ क्षेत्र वसोबासको लागि उपयुक्त स्थल मानीने थियो । गर्मीको समयका दाङ देखि कोटलाग्ने ठाउको रुपमा पनि फलावाङ मानिने थियो । फालावाङ राजाको नयाँ दरवार भएको स्थान चैतेडाडा वरपर मानीसहरुको वस्तीले भरिएको हुन्थो । दाङ देखि सल्यान, रुकुम, जाजरकोटका भूगोलमा जाने मानीसहरु थर्कोट कै बाटो यात्रा गर्दथिए । तुलसिपुरबाट हिडेपछि डाडापातु हुदै उकालो लागेपछि दाङ उपत्यकाको दृष्यावलोकन गर्दे वल्ले भन्ने ठाउमा पुगेको धेरै मानीसहरुलाई थाहै हुदैनथियो । थर्कोटको गढी काटेपछि फालावाङको रमणिय दृष्य चैतेडाडाको आमा होटलको खानाको स्मरण त्यो बाटो हिडेका मानिसहरु संग छ ।

हामी पर्यटनको विकास गर्ने भन्दछौ । तर पर्यटन विकास गर्न के–कस्ता पुर्वाधारको पहिला विकास हुनु पर्दछ भन्ने कुरामा भने चिन्ता गर्दैनौ । ऐतिहासिक सम्पदा, धार्मीक सम्पदा र ऐतिहासिक स्थल हेर्नको लागि आन्तरिक एवं वैदेशिक पर्यटक भित्राउन सडक, होटल मात्र होइन पर्यटकहरुलाई सुरक्षाको अनुभुत हुनु पर्दछ । पर्यटक जोसुकै किन नहोस उसलाई सुरक्षाको अनुभुत भएन भने पर्यटकहरु गाउँमा जादैनन् । दाङ र सल्यान जिल्लाको साझा सम्पतीको रुपमा रहेको थर्कोट र फालावाङलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न जरुरी छ । सल्यान जिल्लाको दक्षिण दाङको सिमानामा रहेको फालावाङ र ऐतिहासिक थर्कोटगढीलाई प्रचार प्रशारको खाचो छ । अहिले दाङ जिल्लाको तुलसिपुर देखि थर्कोटगढी हुदै फालावाङ चैतेडाडा भएर ल्वाम मोटर मार्ग बनेको छ ।

पर्यटकिय दृष्टिकोणले ऐतिहसिक कोट र सम्पदा सल्यानमा धेरै छन । सल्यानको ऐतिहासिक सम्पदालाई दिगो रुपले संरक्षण गर्ने निती राज्य संग हुनु पर्दछ । सल्यानमा हरियाली पहाडको श्रृखला विच–विचमा खोला किनारमा खेतवारी होचा भिरालो पहाडमा घना वस्ती रहेको छ । पछिल्लो समय मोटर मार्गको निर्माण सगै सडक किनारमा व्यापारी केन्द्रको रुपमा वजार विस्तार हुन थालेको छ । कपुरकोट, ल्वाहम, श्रीनगर, थारमारे, वाग्गेलाकुरी बनगार यसको उधारण हुन । ग्रामीण वजार विस्तार सगै कृषकहरु नगदेवालीको रुपमा उत्पादन हुने खेतीपातीमा लाग्न थालेका छन । अदुवा, सुन्तला, कागती सल्यानमा राभ्रो उत्पादन हुन्छ । अदुवा खेतीको लागि प्रख्यात मानीने सल्यानबाट वर्षेनी कराडौ मुल्यको अदुवा अन्य जिल्लामा समेत निकासी हुदै आएको छ । सल्यान जिल्लाको वरदान मानीने शारदा नदीको मुहान बागचौर नगपालिका वडा न ६ शिवरथको लौरावाङबाट सुरु भएर७६ किलोमिटर पार गरेपछि दाङको बबई नदिमा मिसिएको छ । शारदा नदी किनारमा रहेको काल्चे कालीमाटी, काभ्रा, ल्वाहम, शंखमुल, झिम्पे कोरवाङ, छायाक्षेत्र, श्रीनगर, चाक्लीघाट, मुखला जस्ता ठाउमा खेतियोग्य जमिन रहेका छन । भेरि नदीको किनारमा पर्ने वनगार, कालागाउ लगायतका गाउहरु पनि खेतिको लागि उत्तम मानीन्छ ।

अहिले सल्यान ३ नगरपालिका र ६ गाउँपालकिा समेत ९ पालिकामा बिभाजन भएको छ । जसमा शारदा, बागचौर र बनगाढ कुपिण्डे नगरपालिका र कालिमाटी, त्रिवेणी, कपुरकोट, सिद्धकुमाख, कुमाख र दार्मा गाउपालिका छन् । रुकुम, जाजरकोट, सुर्खेत, वाके, दाङ र रोल्पा जिल्लाको विचमा रहेको सल्यान जिल्ला कुल १४६२ वर्ग कि.मि मा क्षेत्रफलमा फैलिएको छ । सबै भन्दा अग्लो पहाड सल्यानको कुमाख लेक हो । जसको उचाई सामुद्रिक सतह देखि २ हजार ५ सय २७ मिटर रहेको छ । यो लेकबाट रुकुम ,जाजरकोट र सल्यान जिल्लाका दर्जनौ गाउँघर डाडाकाडा एवं प्राकृतीक सम्पदाको दृष्यावलोकन गर्न सकिन्छ । कुमाखबाट रुकुमको प्रख्यात मानीने डिग्रे भगवतीको मन्दिर, जन्तीवस्ने ढुङगाको पहाड र अधिकांश गाउहरु देख्न सकिन्छ । सल्यान प्राकृतिक एवं धार्मीक पर्यटकहरुको लागि अध्यन, अनुसन्धान, दृष्यावलोकन गर्नको लागि उपयोगि जिल्ला मानीन्छ ।

कर्णाली प्रदेशकै आकर्षक मानीने कुपिण्डे दहले पनि सल्यान जिल्लाको महन्व बढाएको छ । सल्यान सदरमुकाम खलंगाबाट २२ कि.मि.को दुरीमा रहेको कुपिण्डेमा आजभोली पर्यटकहरुको भिड हुने गर्दछ । कुपिण्डे दह मात्र होइन सल्यान जिल्लालाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ऐतिहासिक धार्मीक स्थल, मठ मन्दिर, कोट र लेकका प्राकृती रमणिय मनमोहक स्थलहरु छन । ऐतिहासिक र धार्मीक महत्वले पहिचान बोकेका सल्यानमा खैरावाङ भगवती, छत्रेश्वरी भगवती, कोटमौलाको कालीका, मोखला पिपलनेटामा रहेको शिव गुफा, र लक्ष्मीपुरमा रहेको कमलाक्षि मन्दिर सल्यानका तीर्थाटन पर्यटटकिय स्थल हुन । खैरावाङ भगवतीको मन्दिर धार्मीक, सास्कृतिक, एव ंपर्यटकिय दृष्टिकोणले अतिनै महत्वपूर्ण मानिन्छ । श्री स्वस्थानी कथामा आधारित सतिदेवीको अंगं पतन भै रुखको फेदमा उत्पन्न भएको खैरावाङ देवी सल्यानका राजा रजौटाका पाला देखि शक्तिपिठको रुपमा पुजा–आजा गरिदै आएको हो । सल्यान जिल्लाको सदरमुकाम खंलगा देखि २० कि.मि.र श्रीनगर बजारबाट करिव ८ कि.मी.को दूरीमा रहेको खैरावाङ शारदा नदी किनारमा रहेको हाउखोलाबाट २ घण्टाको पैदल उकालो बाटो हिडेर पनि पुग्न सकिन्छ ।

त्यसै गरी अर्को शक्ति पिठ हो छत्रेश्वरी । शारदा नदी किनारमा रहेको छायाक्षेत्र फाटको नजिक रहेको छत्रेश्वरी मन्दिरमा सतीदेवीको शेष अंग पतन भएको विस्वास गरिन्छ । छत्रेश्वरी मन्दिरमा अन्य शक्तिपिठमा झै पशु, पंछीको वली चढाउने गरिन्न । छत्रेश्वरी मन्दिरमा सल्यान, रुकुम र दाङबाट समेत तीर्थाटनका पर्यटकहरु जाने गर्दछन । सल्यान जिल्लाको अर्को शक्तिपिठ मानीने कमलाक्षि मन्दिर पनि हो । कमलाक्षि मन्दिर सतिदेवीको करङ पतन भएको स्थानको रुपमा धार्मीक मान्यता रहेको छ । पहाडको स्वरुपमा देखिने कमलाक्षि हेर्दा पनि करङकै आकृतीमा देख्न सकिन्छ । धार्मीक किंवदन्ती अनुसार सतीदेवीको सल्यानमा तिन ठाउमा अंग पतन भएको र ति सवै ठाउ शक्तिपिठको रुपमा पुजा गर्ने गरिन्छ ।
अहिले मुलुक भित्रका प्राकृतिक ऐतिहासिक मठ मन्दिर, कोट र नेपाली को संस्कृती वचाउन जरुरी छ । प्राकृतिक सम्पदा विनास भयो भने राष्ट्रको उन्नती हुन सक्दैन । राष्ट्रको उन्नती र प्रगतीले नै हामी नेपालीहरुको जीवन स्तरको उन्नती हुने हो । यो कुरा सवैले वुझन जरुरी छ ।
मितिः– २०७७ माघ २३ गते दाङ




सम्बन्धित समाचार


error: Content is protected !!