हेपाटाइटिस बी’ले विकराल रुप लिदै ः व्यक्तिगत खर्चमा विरामीको उद्धार कहिले सम्मा ?

हेमन्त न्यौपाने
जाजरकोट –  नेपालकै ठुलो जिल्ला डोल्पा ! अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्र भित्र पर्दछ । टेलिफोन सेवा देखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिले सम्म पुग्न पुगेको छैन । खास गरि तीन वटा स्थानीय तहमा स्वास्थ्य सेवा , टेलिफोन सेवा देखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् ।


उपल्लो डोल्पाले सवै परिवर्तनहरु टुलुटुलु हेदै बसेको छ तर आफ्नो ठाउँको प्रगती र विकासका विषयमा भने मौन भएर मनमनै आन्दोलनको ज्वारभाटा चलाइरहेको छ । यहाँका बहुमुल्य जडीवुटी देखि प्राचिन कालमा निर्मित गुम्वामा रहेका मुर्तीहरु चोरको निसानामा पर्दै आएका छन् । उपल्लो डोल्पामा पाइने जडीवुटीहरुले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाइ भने सो औषधि आफ्नै गाउँ ,ठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।

गर्भवती जाँच देखि सुत्केरी हुँदा सम्म समस्य पर्न वितिकै लाखौ रकम खर्च गरेर हेलिकोप्टर मार्फत चार्टर गरेर देशका ठुला सहरमा गइ धौ ,धौका ज्यान बचाउनु पर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्न्नु पीडा छ । एक गाउँबाट अर्को गाउँमा जानका लागि दुइ दिन पैदल हिड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् ।

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो  । यस्तै, एकजनामा एचआइभी र तीनजनामा हेपाटाइटिस सी भेटिएको डा. मेलिना हमाले बताउनुभयो ।


वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उती वेला नै दिनुभएको थियो  । तिब्बतियन सँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘ हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उहाँको भनाइ थियो  ।

‘हेपाटाइटिस बी’ संक्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँले जानकारी दिनुभएको थियो  । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायतका गाउँमा यो रोगका मानिसहरु रहेको उपचारमा संलग्न डाक्टरले बताएका थिए । सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका –१ का ४५ वर्षिय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी २ जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

हेलिकोप्टरबाट विरामी लिदा स्थानीय व्यक्तिको रु ५ लाख भन्दा बढी खर्च भएको छ । चिकित्सकहरुले उपल्लो डोल्पामा हेपाटाइटिस बीको बारेमा जानकारी दिदा , दिदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिकहरु थप समस्या पर्ने निश्चित भएको डाक्टर मेलिना हमालले जानकारी दिनुभयो । अघिल्लो वर्ष वृृहत स्वास्थ्य शिविरका लागि शे फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरेपनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ शिविरका लागि छुट्याएको छ । अहिले हिमपात भएका कारण रोकिएको छ बताउदै न्यौपानेले भन्नुभयो ,“ चैत महिना सम्मा वृहत शिविर राखेर उपचारका लागि काम थालिने छ , हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ ।”

त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोवुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुई पटक खोप लगाउने काम भएको र अव तेस्रो पटक लगाउदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिनुभयो । गाउँपालिकाले वैशाखमा वृहत स्वास्थ्य शिविर राख्नका लागि पहल सुरु गरेको अधिकृत पंगेनीे बताउनुभयो ।

स्थानीय तहले हेपाटाइटिस बी का विरुद्धमा केही पहल गरेपनि प्रदेश र संघीय सरकारको तर्फबाट कसै केही पनि नभएको उहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । पाँच महिना भन्दा लामो समय सम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोप समेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् । उपचारको नाममा स्थानीय आम्चीहरुले गर्ने उपचार नै सवैभन्दा ठुलो पाउने सेवा रहेको छ ।

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकास गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भएपनि खास रोकथामका लागि पहल केही नभएको अवस्था रहेको छ ।

‘हेपाटाइटिस बी’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन । यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङको भनाइ छ । गाउँमा ‘हेपाटाइटिस बी’को अवस्था विकराल भएको जानकारी पाउँदा–पाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को संक्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ । प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीय बताउँछन् । विरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पताल सम्मा पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ ।

पर्यटक त्रसित
दिनप्रतिदिन ‘हेपाटाइटिस बी’को संक्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।





error: Content is protected !!